सन् २०२१ को फेब्रुअरीमा दोहाको कतार एडूकेशन सिटी रङ्गशालामा भएको फिफा क्लब विश्वकपको सेमिफाइनल खेलमा शरीरमा पानी खन्याउँदै टिग्रेस यूएएनएलका लुइस किन्योनेस

फुटबल विश्वकप २०२२: मरुभूमिस्थित रङ्गशाला शीतल राख्ने उपाय

जब सन् २०२२ को विश्वकप आयोजना गर्नका लागि कतार छनोट भयो त्यतिबेला धेरैले सो देशको मानव अधिकारको अवस्थादेखि पूर्वाधार चुनौतीका विषयमा विभिन्न प्रश्न उठाए। एउटा प्रश्न ४० डिग्री सेल्सीअसभन्दा माथिको तापक्रममा खेलाडी र दर्शकहरूको कस्तो अवस्था हुन्छ भन्ने थियो।

प्रतियोगिता हिउँदमा सार्नु समाधानको एउटा उपाय हुन्थ्यो। तर मरुभूमिमा रहेको धनी देश कतारले यो आयोजनालाई अझै स्मरणीय बनाउने वाचा गरिरहेको छ। एउटा वाचा चाहिँ अति गर्मी हुने स्थानमा पनि उच्च प्रविधिको प्रयोग गरेर वर्षैभरि प्रमुख खेल प्रतियोगिता गर्न सक्ने बनाउने हो। स्थानीय खेलाडी हजर सालेह भन्छिन्: तापक्रम र आर्द्रता यो क्षेत्रमा खेल्दा सामना गरिने प्रमुख चुनौती हुन्।

त्यसो भए कतारले पृथ्वीलाई असर नपर्नेगरी कसरी खेलाडी र दर्शकलाई सहज बनाउने प्रयास गर्छ त?

कतारको अल जानुब रङ्गशालाको दृश्य जहाँ रातो तीरले तातो हावा देखाइएको छ

तर मैदान र दर्शकदीर्घामा चिसो कायम राख्न अर्को सिर्जनात्मक समाधानहरूको आवश्यकता पर्दछ। भित्र हेरौँ न त।

खेलको बेला ४०,००० दर्शक उपस्थित हुन्छन्। ती प्रत्येक ताप र आर्द्रताको स्रोत हुन्।

कतारको मौसम अनुसारको तापक्रम र रङ्गशालाभित्रै उत्पन्न ताप व्यवस्थापनका लागि प्रभावकारी प्रणाली आवश्यक पर्छ।

दर्शकदीर्घामा रहेका प्रत्येक दर्शकलाई सीटमुनि राखिएको चिसो हावाको पाइपको प्वालबाट शीतलता प्रदान गरिनेछ।

ती साँघुरा पाइपको प्वालजस्तो संरचनाले स्नानघरको शावरले जस्तै गरेर हावालाई फैलाएर दर्शकलाई घेर्ने गरी बाहिर फाल्छ।

तर हावाको प्रवाह विमानको सीटमाथि रहेको हावा बहने प्वालबाट जस्तो जोडले नभई बिस्तारै निस्कन्छ।

यसले दर्शकलाई त शीतल हुन्छ तर खेलाडीले चाहिँ के गर्ने नी?

फुटबल खेलाडीहरू प्रत्येक खेलमा १० किलोमिटरसम्म दौडन्छन् र तीन लिटरसम्म पसिना निकाल्छन्। त्यसैले उनीहरूको शरीरलाई शीतलता र पानी आवश्यक परिरहन्छ।

अल जानुब रङ्गशालाको मैदान र दर्शकदीर्घा देखाइएको चित्र जहाँ रातो रङ्गले ताप दर्शाउँछ

कतारको आर्द्र वातावरणमा पसिना सुक्न गाह्रो हुन्छ र शरीर धेरै तात्न सक्छ।

त्यसैले कतार विश्वकपका रङ्गशालामा ठूलो पाइपको प्वालबाट चिसो हावा फ्यालेर मैदानमाथि कम तापमानको हावाको तह बनाइनेछ।

यो प्रणाली विकास गर्न सघाउने वातानुकूलित हावा विज्ञ डा. साउद अब्दुल गनीका अनुसार ती हावाको बहावको कोण र चिसो हावा कहाँ कसरी बहन्छ भन्ने कुरा मिलाइएका कारण खेलाडीलाई हावा बहेको महसुस हुन्न।

यसको नतिजा रङ्गशालामा मैदान र दर्शकदीर्घाभन्दा दुई मिटर जति माथिसम्म मात्र चिसो हावाको तह बन्छ। त्यसपछि के हुन्छ?

चिसो हावा तात्दै जान थालेपछि त्यसलाई मध्यम उचाइमा रहेका पाइपका प्वालबाट सोसेर बाहिर पठाइन्छ।

त्यसपछि त्यो हावालाई सफा गरेर र चिसो बनाएर फेरि भित्र पठाइन्छ र यसरी एउटा चक्र पूरा हुन्छ।

चिसो पानीले ताप सोसेपछि त्यसलाई तीन किलोमिटर पर रहेको ४०,००० लिटरको ट्याङ्कीमा पुर्‍याइन्छ। जहाँ त्यो पानीलाई अर्को दिनको खेलमा प्रयोग गर्नका लागि पुनः चिसो बनाइन्छ।

रङ्गशाला र सौर्ज ऊर्जा प्रणालीको चित्र

यो सबै प्रणालीले दोहाको केन्द्रबाट ८० किलोमिटर बाहिर हालसालै बनाइएको सौर्य ऊर्जा उत्पादन केन्द्रबाट उत्पादित ऊर्जा प्रयोग गर्छ।

डा. कूल

यो प्रणाली विकास गर्ने डा. साउद अब्दुल गनीले बीबीसीलाई कतारले खेलाडीहरू फर्किएपछि पनि लामो समयसम्म स्मरणयोग्य कार्य गर्न चाहेको बताएका छन्।

उनी धेरै मानिसलाई सहज वातावरण तयार गर्न वर्षौँसम्म गहन अध्ययन गरेको बताउँछन्। कतारमा सन् २०१९ मा भएको विश्व एथलेटिक्स प्रतियोगिताका खेलाडी र दर्शकहरूसँगको छलफलले आफूलाई सहयोग गरेको उनको भनाइ छ।

खेलाडीको दृष्टिकोण

बीबीसीले कतारको राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक हजर सालेहसँग कुरा गरेको थियो। ११ वर्षको हुँदादेखि फुटबल खेलेकी उनलाई उच्च तापक्रममा खेल्दाका असहजताबारे थाहा छ। उनी आर्द्रता सबैभन्दा ठूलो चुनौती रहेको बताउँछिन्।

हामी गर्मीसँग अभ्यस्त छौँ तर जब तापक्रमसँग आर्द्रता बढी हुन्छ तब ज्यादै असहज हुन्छ हजर सालेह

नयाँ शीतल प्रणाली भएका दुई रङ्गशालामा सालेहले खेलिसकेकी छन्।

कतारमा सबैभन्दा धेरै गर्मी हुने जुन महिनामा खेल्दा निकै फरक महसुस गरेको उनी बताउँछिन्।

के यो प्रणाली वातावरणमैत्री छ?

कतार विश्वकपका आयोजकहरू यो प्रणालीका लागि आवश्यक सबै ऊर्जा सौर्य ऊर्जा प्रणालीबाट आउने भएकोले थप ग्रीनहाउस ग्यास उत्पादन नहुने हुँदा यो वातावरणमैत्री रहेको बताउँछन्।

तर पूरै प्रतियोगितालाई कार्बन न्यूट्रल बनाउने लक्ष्य भने धेरै ठूलो महत्त्वाकाङ्क्षा हो।

रङ्गशालाका कारण हुने कार्बन उत्सर्जनको ९० प्रतिशत ती रङ्गशाला निर्माणका क्रममा भएका हुन्छन्। रङ्गशाला निर्माणका बेला आठ लाख टन ग्रीनहाउस ग्यास वायुमण्डलमा थपिएको मानिन्छ। त्यो एउटा कार ८० हजार पटक पृथ्वी परिक्रमा गर्दा निस्कने जति ग्यास भएको अमेरिकी वातावरण संरक्षण एजेन्सीको भनाइ छ।

रङ्गशालाबाहेक दर्शक लगायतकाले कतार पुग्न प्रयोग गर्ने हवाई उडानहरूको कुरा पनि छ।

फिफाले रङ्गशालाबीचको कम दूरी र प्रतियोगिता थोरै दिन भएका कारण यस पटक रुसमा सन् २०१८ को विश्वकपमा यात्राका कारण उत्सर्जन भएको भन्दा एकतिहाइमात्रै ग्रीनहाउस ग्यास उत्पादन हुने बताएको छ।

कतारको वातावरणमैत्री खेल आयोजनाको वाचा अहिलेसम्म उत्सर्जन भइसकेका कार्बन डाईअक्साइडको क्षतिपूर्ति कार्बन अफसेटिङमार्फत् गर्ने विषयमा पनि निर्भर छ।

अहिलेसम्म कतारले कसरी त्यो लक्ष्य हासिल गर्छ भन्ने स्पष्ट छैन। फिफाले विश्वकपका बेला उत्सर्जन हुने ग्रीनहाउन ग्यासबाट भएको क्षतिपूर्ति उर्जाको उच्चतम किफायती उपयोग, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रयोग र सम्भवतः वृक्षारोपण गरेर गर्ने बताएको छ। तर अहिलेसम्म त्यस्ता परियोजनाहरूको अन्तिम छनोट भएको छैन।

यस्ता परियोजनाहरू कार्बन सोस्न प्रभावकारी बन्न दशकौँ लाग्न सक्छ। हालैको बीबीसी अनुसन्धानले त्यस्ता कतिपय परियोजनाका जङ्गलहरू कागजमै सीमित रहेको देखाउँछ।

त्यसैले कतारले दाबी गरे अनुसार शून्य कार्बनको उद्देश्य साँच्चै पूरा भयो वा भएन भनेर थाहा पाउन लामो समय कुर्नुपर्छ।

कतारले अझै ती रङ्गशालाहरू निर्माण गर्न खटिएका ३०,००० आप्रवासी श्रमिकमध्ये मृत्यु र घाइते भएकाहरूको ठूलो मानवीय मूल्यबारे आलोचनाको जबाफ दिइरहेको छ। कतारमाथि श्रम शोषण, अमावनीय कार्यगत वातावरण, अस्वस्थ बसोबास, तिर्न बाँकी ज्याला र राहदानी खोसिएका आरोपहरू छन्।

कतार सरकारले यी आरोपहरूको खण्डन गर्छ र सन् २०१७ देखि लागु नयाँ नियमले श्रमिकहरूलाई अत्यधिक गर्मीमा काम गर्नबाट जोगाएको दाबी गर्छ। तर सन् २०२१ मा मात्रै विश्वकपसँग जोडिएका योजनाहरूमा कम्तीमा ५० जना कामदारको मृत्यु भएको र ५०० जना गम्भीर घाइते भएको तथ्याङ्क अन्तर्राष्ट्रिय श्रम सङ्गठनको छ। कतारको यो तथ्याङ्कमाथि पनि विश्वकपको बेला निगरानी हुनेछ।