डा. कूल
यो प्रणाली विकास गर्ने डा. साउद अब्दुल गनीले बीबीसीलाई कतारले खेलाडीहरू फर्किएपछि पनि लामो समयसम्म स्मरणयोग्य कार्य गर्न चाहेको बताएका छन्।
उनी धेरै मानिसलाई सहज वातावरण तयार गर्न वर्षौँसम्म गहन अध्ययन गरेको बताउँछन्। कतारमा सन् २०१९ मा भएको विश्व एथलेटिक्स प्रतियोगिताका खेलाडी र दर्शकहरूसँगको छलफलले आफूलाई सहयोग गरेको उनको भनाइ छ।
खेलाडीको दृष्टिकोण
बीबीसीले कतारको राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक हजर सालेहसँग कुरा गरेको थियो। ११ वर्षको हुँदादेखि फुटबल खेलेकी उनलाई उच्च तापक्रममा खेल्दाका असहजताबारे थाहा छ। उनी आर्द्रता सबैभन्दा ठूलो चुनौती रहेको बताउँछिन्।
हामी गर्मीसँग अभ्यस्त छौँ तर जब तापक्रमसँग आर्द्रता बढी हुन्छ तब ज्यादै असहज हुन्छ हजर सालेह
नयाँ शीतल प्रणाली भएका दुई रङ्गशालामा सालेहले खेलिसकेकी छन्।
कतारमा सबैभन्दा धेरै गर्मी हुने जुन महिनामा खेल्दा निकै फरक महसुस गरेको उनी बताउँछिन्।
के यो प्रणाली वातावरणमैत्री छ?
कतार विश्वकपका आयोजकहरू यो प्रणालीका लागि आवश्यक सबै ऊर्जा सौर्य ऊर्जा प्रणालीबाट आउने भएकोले थप ग्रीनहाउस ग्यास उत्पादन नहुने हुँदा यो वातावरणमैत्री रहेको बताउँछन्।
तर पूरै प्रतियोगितालाई कार्बन न्यूट्रल बनाउने लक्ष्य भने धेरै ठूलो महत्त्वाकाङ्क्षा हो।
रङ्गशालाका कारण हुने कार्बन उत्सर्जनको ९० प्रतिशत ती रङ्गशाला निर्माणका क्रममा भएका हुन्छन्। रङ्गशाला निर्माणका बेला आठ लाख टन ग्रीनहाउस ग्यास वायुमण्डलमा थपिएको मानिन्छ। त्यो एउटा कार ८० हजार पटक पृथ्वी परिक्रमा गर्दा निस्कने जति ग्यास भएको अमेरिकी वातावरण संरक्षण एजेन्सीको भनाइ छ।
रङ्गशालाबाहेक दर्शक लगायतकाले कतार पुग्न प्रयोग गर्ने हवाई उडानहरूको कुरा पनि छ।
फिफाले रङ्गशालाबीचको कम दूरी र प्रतियोगिता थोरै दिन भएका कारण यस पटक रुसमा सन् २०१८ को विश्वकपमा यात्राका कारण उत्सर्जन भएको भन्दा एकतिहाइमात्रै ग्रीनहाउस ग्यास उत्पादन हुने बताएको छ।
कतारको वातावरणमैत्री खेल आयोजनाको वाचा अहिलेसम्म उत्सर्जन भइसकेका कार्बन डाईअक्साइडको क्षतिपूर्ति कार्बन अफसेटिङमार्फत् गर्ने विषयमा पनि निर्भर छ।
अहिलेसम्म कतारले कसरी त्यो लक्ष्य हासिल गर्छ भन्ने स्पष्ट छैन। फिफाले विश्वकपका बेला उत्सर्जन हुने ग्रीनहाउन ग्यासबाट भएको क्षतिपूर्ति उर्जाको उच्चतम किफायती उपयोग, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रयोग र सम्भवतः वृक्षारोपण गरेर गर्ने बताएको छ। तर अहिलेसम्म त्यस्ता परियोजनाहरूको अन्तिम छनोट भएको छैन।
यस्ता परियोजनाहरू कार्बन सोस्न प्रभावकारी बन्न दशकौँ लाग्न सक्छ। हालैको बीबीसी अनुसन्धानले त्यस्ता कतिपय परियोजनाका जङ्गलहरू कागजमै सीमित रहेको देखाउँछ।
त्यसैले कतारले दाबी गरे अनुसार शून्य कार्बनको उद्देश्य साँच्चै पूरा भयो वा भएन भनेर थाहा पाउन लामो समय कुर्नुपर्छ।
कतारले अझै ती रङ्गशालाहरू निर्माण गर्न खटिएका ३०,००० आप्रवासी श्रमिकमध्ये मृत्यु र घाइते भएकाहरूको ठूलो मानवीय मूल्यबारे आलोचनाको जबाफ दिइरहेको छ। कतारमाथि श्रम शोषण, अमावनीय कार्यगत वातावरण, अस्वस्थ बसोबास, तिर्न बाँकी ज्याला र राहदानी खोसिएका आरोपहरू छन्।
कतार सरकारले यी आरोपहरूको खण्डन गर्छ र सन् २०१७ देखि लागु नयाँ नियमले श्रमिकहरूलाई अत्यधिक गर्मीमा काम गर्नबाट जोगाएको दाबी गर्छ। तर सन् २०२१ मा मात्रै विश्वकपसँग जोडिएका योजनाहरूमा कम्तीमा ५० जना कामदारको मृत्यु भएको र ५०० जना गम्भीर घाइते भएको तथ्याङ्क अन्तर्राष्ट्रिय श्रम सङ्गठनको छ। कतारको यो तथ्याङ्कमाथि पनि विश्वकपको बेला निगरानी हुनेछ।