newsspec-35029-100-women > app > nepali > embed

Test Embed Page made with 10.1.4 generator and 10.1.0 embed wrapper

Click here for a list of include paths

Click here for a test page with no right hand side

निर्माता प्राधिकरणहरू छिटो पुग्ने जुनसुकै सफ्टवेयर प्रभावशाली मार्गहरू भारतले अनुकूल वातावरणमा वैश्विक अवसरहरू जोड्दछ सुरू अफिस, यसको स्थिति विषय सन्देश बनाउनको लागि सुरू गरिएको विदेशी मुद्रा सार्वजनिक वर्षको विचारहरू प्रदान गरेर

जीवन मैत्री जानकारी, उनीहरूको दृष्टिकोण, छलफल, संरचना, बजार, आदि। प्राथमिक लक्ष्यीकरण लक्ष्यहरू उस्तै हो। खरीद मार्गदर्शन मार्गदर्शन प्रतिबद्धता सूचित गरिएको छ। अहिले अ the्ग्रेजी स्वतन्त्रता विषय वास्तवमै यस खण्ड द्वारा वर्णन गरिएको छैन। जाेन डिशामे वर्ल्ड हार्डवेयर आवश्यक विचरी परामर्श कार्य समूह तर

बीबीसी १०० विमिन को सन् २०२२ को सूचीमा रहेका महिला

बीबीसी १०० विमिन २०२२: यो वर्ष सूचीमा को को छन्?

१०० विमिन - बीबीसी विश्व सेवा

बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकिआमाह छन्।

यो १०० विमिनको दशौँ संस्करण हो। र, हामीले पछिल्लो एक दशकमा के परिवर्तन भए भनेर जान्ने अवसरका रूपमा त्यसलाई हेरेका छौँ। यसबीचमा महिला अधिकारका क्षेत्रमा निकै अग्रगामी कामहरू भएका छन्। महिला अगुवाहरूको सङ्ख्यादेखि मी टू आन्दोलनसम्म भए पनि संसारभरि कैयौँ ठाउँका महिलाहरू अझै अगाडिको बाटो निकै लामो भएको ठान्छन्।

यस सूचीले सन् २०२२ मा संसारभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्वित गर्छ जसमा इरानमा सशक्त रूपले परिवर्तन खोजिरहेका महिला प्रदर्शनकारीदेखि युक्रेन र रुसको द्वन्द्व र प्रतिरोधमा महिलाको अनुहार देखिन्छ।

आफ्नो रुचिको क्षेत्र चयन गरेर १०० महिलाबारे थाहा पाउनुहोस्

राजनीति र शिक्षा

फातिमा अमिरी

फातिमा अमिरी, अफ्गानिस्तान

विद्यार्थी

अफ्गान किशोरी फातिमा अमिरी ५० जनाभन्दा बढीको ज्यान जानेगरी काबुलको एउटा ट्युइशन सेन्टरमा भएको आत्मघाती आक्रमणको घटनामा बाँच्न सफल एकजना हुन्। उनक हमलामा मारिनेहरूमा धेरैजसो छात्राहरू थिए। उनलाई गम्भीर चोटपटक लागेको छ उनको एउटा आँखा गुम्नुका साथै उनको बङ्गारा र कानमा पनि ठूलो क्षति पुगेको थियो।

निको हुँदै गर्दा उनले विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिन् र अक्टोबरमा परीक्षा पनि दिइन् जसमा उनले ८५% अङ्क ल्याएकी थिइन्। अब उनको सपना भनेको काबुल विश्वविद्यायमा कम्प्युटर साइन्स विषय पढ्ने भन्ने छ। उनी भन्छिन्, आक्रमणमा एउटा आँखा गुमे पनि उनी त्यसपछि झन् बलियो र झन दृढनिश्चयी बनेकी छन्।

मईन अल-ओबैदी

मईन अल-ओबैदी, यमन

वकिल

यो वर्ष यमनमा गृहयुद्ध झन् हिंसात्मक बन्न पुग्दा वकिल मइन अल-ओबैदीले घेराबन्दीमा परेको शहर टाइजमा शान्ति निर्माण गर्ने गतिविधि जारी राखेकी छन्। उनले मध्यस्थकर्ताको भूमिका अँगालेकी छन् र द्वन्द्वरत समूहहरूमाझ बन्दीहरू आदानप्रदान गर्ने कार्यमा सघाउने गर्छिन्। लडाकुहरूलाई सधैँ नै जीवित तिनीहरूका परिवारजनसँग मिलन गराउन सफल हुन नसके पनि उनी मारिएकाहरूको शव तिनका परिवारलाई हस्तान्तरण भएको यकिन गर्ने प्रयास गर्छिन्।

उनलेे यमन विमिन युनियनमा स्वयंसेवकका रूपमा काम गरेकी छन् जहाँ उनले बन्दी महिलाहरूको पक्षमा वकालत गरिन्। उनी मानव अधिकार र स्वतन्त्रा कमिटीहरूको निगरानी गर्ने लयर्स सिन्डिकेट काउन्सिलमा पदोन्नति हुने प्रथम महिला पनि हुन्।

जोइ नगोजी इजेलो

जोइ नगोजी इजेलो, नाइजिरिया

कानुन विषयका प्राध्यापक

नाइजिरिया विश्वविद्यालयमा कानुन संकायको डीन र मानव तस्करीसम्बन्धी संयुक्त राष्ट्र सङ्घका पूर्वविशेष प्रतिवेदककी रूपमा सक्रिय जोइ इजेलो अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा अग्रस्थानमा रहेकी अधिकारी हुन्।

उनी विमिन एड कलेक्टिभ डब्लूएसीओएलकी संस्थापक निर्देशक हुन्। उक्त संस्थाले पछिल्ला २५ वर्षमा नाइजिरियाका कमजोर ठानिएका असुरक्षित महिलाहरूलाई नि:शुल्क कानुनी परामर्श र ६०,००० भन्दा बढीलाई आश्रय दिएको छ। उनीद्वारा स्थापित तमर सेक्सुअल असल्ट रेफरल सेन्टरमार्फत्‌ पीडित र दुर्व्यवहार भोगेकाहरूलाई तत्काल प्रतिक्रिया जनाउँदै आएकी छन्।

Chimamanda Ngozi Adichie

सन् २०२१ कि विजेता लेखक सिमामन्डा न्गोजी एडिचीद्वारा मनोनित

प्राध्यापक इजेलोले नि:शुल्क कानुनी परामर्श दिएर गरिब र विशेषगरी मानव अधिकारबाट वञ्चित बालिका तथा महिलाहरूसहित धेरैको जीवनमा ठूलो प्रभाव पारेकी छन्।

मारिया फर्नान्डा कास्ट्रो माया

मारिया फर्नान्डा कास्ट्रो माया, मेक्सिको

अपाङ्गतासम्बन्धी अभियानकर्मी

बौद्धिकतासम्बन्धी अपाङ्गता भएकी फर्नान्डा कास्ट्रोले आफूजस्तै अरूहरूका निम्ति राजनीतिमा सहभागिताबारे लडिरहेकी छन्। ह्युमन राइट्स वाच संस्थाको सहयोगमा अपाङ्गता अधिकार पैरवी गर्ने समूहकी उनी सदस्य हुन्। सो समूहले मेक्सिकोका सबै राजनीतिक दलहरूलाई बौद्धिक अपाङ्गता वा अन्य सिकाइसम्बन्धी अपाङ्गता भएकाहरूलाई पनि समावेश गर्न आह्वान गर्दै आएको छ।

उनको काम खासगरी राजनीतिक निर्णयसम्बन्धी दस्तावेजमा भाषागत पहुँच स्थापित गर्नेदेखि लिएर पार्टीभित्र र चुनावी कार्यक्रममा समावेशिता बढाउनु रहेको छ। अपाङ्गता अधिकारसम्बन्धी प्रतिवेदन राष्ट्रसङ्घमा पेश गरेको मेक्सिकोको प्रतिनिधिमण्डलकी उनी सदस्य थिइन्। उनी विश्वव्यापी इन्क्लुजन इन्टर्न्याशनलकी प्रतिनिधि पनि हुन्।

सेपिदेह कुलियान

सेपिदेह कुलियान, इरान

राजनीतिक अभियानकर्मी

कानुनकी विद्यार्थी सेपिदेह कुलियानलाई दक्षिणपश्चिम इरानको खुजेस्तान प्रान्तमा कामदारको अधिकारलाई समर्थन गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उनले पछिल्लो चार वर्ष राजनीतिक कैदीहरूको प्राथमिक आवास, इभिनसहित विभिन्न कारागारमा बिताइन्। उनी सन् २०२१ को अक्टोबरमा इभिनमा सारिएकी हुन्।

उनले कारागारबाट समेत आफ्नो कामलाई निरन्तरता दिइन्। उनले आफूले त्यहाँ भोगेको "अमानवीय" व्यवहारबारे अडिओ सामग्री सार्वजनिक गरेकी थिइन्। उनी महिला कैदीहरूको आवाज बनिन्। र, धरौटीमा रिहा हुँदा उनले इरानको कारागारमा महिला कैदीहरूले भोग्नुपर्ने "यातना" र "अन्याय"बारे पुस्तक लेखिन्।

शनेल कोन्टोस

शनेल कोन्टोस, अस्ट्रेलिया

यौन पूर्वसहमतिसम्बन्धी अभियानकर्मी

टिच अस कन्सेन्ट' नामको अभियानकी संस्थापकका रूपमा उनले समग्रमा पूर्वस्वीकृतिबारे पैरवी गरिन्। सन् २०२१ मा शनेल कोन्टोसले इन्स्टाग्राममा एउटा पोस्ट लेख्दै आफ्ना फलोअरहरूलाई के उनीहरूमध्ये कोही वा उनीहरूले चिनेका कोही विद्यालयमा यौन दुर्व्यवहारमा परेका छन् भनी सोधेकी थिइन्। त्यसको २४ घण्टाभित्रै २०० भन्दा धेरैले 'परेको' भन्दै जबाफ दिएका थिए।

उनलेे एउटा पेटिसनको सुरुवात गर्दै अस्ट्रेलियामा सानैदेखि यौन पूर्वस्वीकृतिसम्बन्धी शिक्षाको माग गरिन्। जसले गर्दा नै पूर्वस्वीकृतिसम्बन्धी शिक्षा सन् २०२३ बाट किन्डरगार्डेनदेखि १० वर्षको उमेरसम्म अनिवार्य पारिँदैछ। अहिले उनले मानिसहरूलाई अर्को पक्षको स्वीकृतिबिनै यौनसम्पर्कका क्रममा कन्डम हटाउनेबारे शिक्षित पारिरहेकी छन् र त्यसलाई आपराधिक कार्य मान्न अभियान चलाइरहेकी छन्।

एभा कोपा

एभा कोपा, बोलिभिया

राजनीतिज्ञ

इमरा आदिवासी समुदायकी एक भूतपूर्व विद्यार्थी नेता एभा कोपाले बोलिभियामा राजनीतिक तरङ्ग ल्याइरहेकी छन्। देशको दोस्रो ठूलो सहर, एल आल्टोको मेयर पदका लागि आफ्नो पार्टीबाट मनोनयन प्राप्त गर्न नसकेपछि उनले तिनीहरूको आधिकारिक उम्मेदवारविरुद्ध चुनावमा खडा भएर ६९% मत हासिल गरिन्। उनले हालै मात्र शहको महिलाहरूका निम्ति नयाँ योजना सार्वजनिक गरेकी छन्। उक्त योजनाले नीति निर्माण र लगानीको माध्यमबाट महिलाको अधिकारलाई बलियो बनाउने लक्ष्य लिएको छ।

कोपा राजनीतिमा नयाँ छिन्। उनले सन् २०१५ र २०२० को बीचमा सिनेटरको पद सम्हालेकी थिइन्। सत्ताधारी पार्टीबाट अलग हुने उनको कदमलाई थुप्रैले बोलिभियामा अझ बढी विविधिकृत राजनीतिक परिदृश्यतर्फको परिवर्तनका रूपमा हेरेका छन्।

हामीलाई अझ धेरै महिला नेताहरू चाहिएको छः घुँडा टेक्नेहरू होइन, सधैँ आफ्नो खुट्टामा उभिन सक्षम

एभा कोपा

पार्क जी-ह्यून

पार्क जी-ह्यून, दक्षिण कोरिया

राजनीतिक सुधारक

विश्वविद्यालयको विद्यार्थीका रूपमा पार्क जी-ह्यूनले परिचय लुकाएर दक्षिण कोरियाको सबैभन्दा ठूलो अनलाई यौन अपराधको खुलासा गरिन् जसलाई एन्थ रुमका रूपमा बुझिन्छ। यो वर्ष उनी आफ्ना अनुभवहरूसहित सार्वजनिक भइन् र राजनीतिमा प्रवेश गरिन् र युवा महिला मतदातामाझ पुगिन्।

जब डेमोक्रेटिक पार्टी राष्ट्रपतीय दौडमा हार्‍यो तब उनलाई अन्तरिम नेताका रूपमा अघि सारियो। उनी महिला समितिमा पनि थिइन् जसले अनलाइन यौन अपराधका विषयबारे काम गर्छ। जुनमा उनको पार्टी थप पराजित भयो र उनले राजीनामा दिइन्। उनी अहिले कुनै औपचारिक भूमिकामा नभए पनि राजनीतिमा लैङ्गिक समानता बारेका मुद्दामा दत्तचित्त छिन्।

विश्वव्यापी रूपमा, अनलाइन यौन अपराधले महिलाको अधिकारमाथि धावा बोलिरहेको छ र यो समस्या एक भएर समाधान गर्न आवश्यक छ।

पार्क जी-ह्यून

ओलेना जेलेन्स्का

ओलेना जेलेन्स्का, युक्रेन

प्रथम महिला

एक सफल टेलिभिजन पटकथाकार ओलेना जेलेन्स्का क्यामेरापछाडि नै सक्रिय थिइन्। तर सन् २०१९ मा उनका पति भोलोदिमिर जेलेन्स्की युक्रेनका राष्ट्रपति निर्वाचित भएसँगै उनी पनि विश्व मञ्चमा छाइन्। प्रथम महिलाको हैसियतमा उनी महिला अधिकार तथा युक्रेनी संस्कृति प्रबर्द्धनमा सक्रिय छिन्।

रुसको अतिक्रमणपश्चात् उनले युक्रेनी जनताको पीडा विश्वसामु प्रस्तुत गर्न आफ्नो पदको प्रयोग गरिन्। अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने उनी पहिलो विदेशी प्रथम महिला हुन्। हाल उनी युद्धले आक्रान्त महिला तथा बालबालिकालाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन क्रियाशील छिन्।

शान्तिको कालमा भन्दा पनि धेरे जिम्मेदारी अहिले महिलाहरूले उठाइरहेका छन्। यो युद्ध बेहोरेका जोसुकै महिलाले अब आफ्नो कदम पछि सार्ने छैनन्। हाम्रा भित्री आत्मबल झन् दह्रो बन्नेमा म ढुक्क छु।

ओलेना जेलेन्स्का

जाहरा जोया

जाहरा जोया, अफगानिस्तान

पत्रकार

तालिबान शासनको ६ वर्षसम्म विद्यालय जानकै निम्ति उनी 'मोहम्मद' बनिन् र पुरुषको भेष धारण गरिन्। जब सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्य बल हाबी भयो तब उनी पुनः जाहराको रूपमा पढ्न गइन्। सन् २०११ देखि उनले पत्रकारको रूपमा काम गर्न थालिन्। सम्भवतः उनी समाचार कक्षकी एक मात्र महिला थिइन्।

उनी अफगानिस्तानको पहिलो महिलावादी समाचार संस्था रुक्साना मिडियाकी संस्थापक हुन्। उक्त संस्थाको नाम तालिबानद्वारा ढुङ्गा प्रहार गरेर मारिएकी १९ वर्षीया युवतीको नाममा राखिएको हो। जोयाको सन् २०२१ मा अफगानिस्तानबाट उद्धार भयो र हाल उनी यूकेबाट रुक्साना मिडिया सञ्चालन गर्छिन्। उनले सन् २०२२ मा गेट्स फाउन्डेसनको चेन्जमेकर पुरस्कार प्राप्त गरिन्।

म शब्दको शक्तिमा विश्वास गर्छु र हामीले अन्यायविरुद्ध बोल्नै पर्छ।

जाहरा जोया

किसानेट टेड्रोस

किसानेट टेड्रोस, एरिट्रिआ

शैक्षिक उद्यमी

उद्यमी एवं शैक्षिक सामग्री उत्पादक किसानेट टेड्रोसद्वारा स्थापित बेलेस बुबु नामक युट्युब च्यानलमार्फत्‌ एरिट्रिअन बालबालिकाहरूलाई भाषा र संस्कृतिसम्बन्धी शिक्षा प्रदान गरिन्छ। इथिओपियामा जन्मिएर हुर्किएकी उनले सानै उमेरदेखि आफ्नो थातथलोसँग जोडिन भाषा बुझ्नुको महत्त्वलाई प्राथमिकता दिइन्।

उनको निर्माण समूहमा एरिट्रिआ, युगान्डा र कङ्गोका आफै सिकेका आवाजसम्बन्धी र डिजिटल कलाकारहरू जोडिएका छन्। उनीहरूले डिजिटल सामग्री निर्माण गर्छन्। ती सामग्रीहरूमा टिग्रिन्या भाषा बोल्ने अभिभावक र उनीहरूका एरिट्रिआ वा इथिओपियामा रहेका छोरीछोरीको पहुँच हुन्छ। टेड्रोसले युगान्डाको कम्पालामा रहेका शरणार्थीहरूका निम्ति प्रथम बेलेस बुबु बाल महोत्सव समेत आयोजना गरेकी थिइन्।

सिमोन टेबेट

सिमोन टेबेट, ब्रजिल

ब्रजिलको सङ्घीय सिनेटका सदस्य

धेरैले देशमा गहिरिँदो ध्रुवीकरणलाई कम गर्ने व्यक्तित्वको रूपमा हेरिएका, ब्रजिलकी मध्यपन्थी सिनेटर सिमोन टेबेट यस वर्षको राष्ट्रपतिको दौडमा तेस्रो भइन्। उनी सन् २००१ मा राज्य प्रतिनिधि र सन् २००४ र २००८ मा उनको गृहनगर ट्रेस लागोसको मेयरमा निर्वाचित भएकी थिइन्। सन् २०१४ मा उनी सदर मतहरूमध्ये ५२ प्रतिशत ल्याई सिनेटमा निर्वाचित भएकी थिइन्।

सदनको सबैभन्दा महत्त्वपूर्ण प्यानल मानिने, संविधान र न्याय समितिको अध्यक्षता गर्ने उनी प्रथक महिला रहिन्। एक दशकभन्दा बढी समयदेखि कानुनको प्राध्यापक रहेकी तेबेट महिला हिंसाविरुद्धको संयुक्त समितिको पनि अध्यक्ष थिइन्।

महिला भविष्य हुन् र उनीहरूले जहाँ चाहन्छन् त्यही उनीहरूको ठाउँ हो भन्ने कुरा सबैले बुझ्नुपर्छ।

सिमोन टेबेट

इबिओके फाबोरोदे

इबिओके फाबोरोदे, नाइजिरिया

इलेक्टहरकी संस्थापक

इलेक्टहरको माध्यमबाट इबि‌ओके फाबोरोदेले नाइजिरियामा राजनीतिक आन्दोलनमा महिलाका तर्फबाट आवाज उठाइरहेकी छन्। उनको संस्था राजनीतिक प्रतिनिधित्वमा हुने गरेको असमान खाडलबीच समानता ल्याउन काम गर्छ। त्यसका लागि अफ्रिकाभरि दुई हजार महिला त्यसमा संलग्न छन्। #Agender35 नामक अभियानबाट उनको संस्थाले सन् २०२३ को स्थानीय तथा सङ्घीय आमचुनावमा उठाउनका लागि ३५ जना महिलालाई प्रत्यक्ष रूपमा मानवीय तथा वित्तीय स्रोत उपलब्ध गराएर सघाइरहेको छ।

अफ्रिकाकै चुनावसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने पहिलो महिलावादी मोबाइल एप निर्माणमा पनि उनको भूमिका रहेको छ। फाबोरोदे अहिले प्रजातान्त्रिक प्रक्रिया सुदृढ गर्ने नयाँ तरिका पहिचा गर्ने संस्था लिडरशीप काउन्सिल अफ द डेमोक्रेसी एन्ड कल्चर फाउन्डेशनमा आबद्ध छिन्।

क्रिस्टिना बर्दिन्स्किख

क्रिस्टिना बर्दिन्स्किख, युुक्रेन

पत्रकार

युक्रेन युद्धका बेला यी प्रतिष्ठित पुरस्कार विजेता पत्रकार क्रिस्टिना बर्दिन्स्किखले देशभरि डुलेर रुसी गोलाबारीमा परेका क्षेत्रबाट रिपोर्टिङ गरिन्। उनका कतिपय रिपोर्टिङको केन्द्रमा युद्धका माझ आममानिसको दिनचर्याका विवरण रहेका थिए।

खेअरसनमा जन्मिएकी बर्दिन्स्किखले किएभमा १४ वर्षदेखि राजनीतिक पत्रकारकी रूपमा काम गर्दै आएकी छन्। उनले एनभी पत्रिका तथा विभिन्न टिभी र रेडियो कार्यक्रममा काम गरेकी छन्। उनले इ-पिपल नामक सामाजिक सञ्जालको एक कार्य पनि थालिन् जसमा युक्रेनको युरोमैदान क्रान्तिका सहभागीहरूको विवरण राखियो। पछि त्यसलाई किताबमा विकास गरियो।

तेइसिया बेक्बुलातोभा

तेइसिया बेक्बुलातोभा, रुस

पत्रकार

एक ख्यातिप्राप्त रुसी पत्रकार तेइसिया बेक्बुलातोभाले सन् २०१९ मा एउटा स्वतन्त्र सञ्चारगृह खोलिन्। उक्त सञ्चारमाध्यमले युक्रेनमा युद्धबारे बृहत् समाचारहरू लेख्यो। त्यसबाहेक असमानता, हिंसा र महिला अधिकारबारे पनि समाचारहरू प्रकाशित भए। उक्त वेबसाइटलाई एप्रिल महिनामा रुसका अधिकारीहरूले बन्द गरिदिएका थिए।

यसका बावजुद बेक्बुलातोभा र उनको टोलीले आफ्नो कामलाई निरन्तरता दिने प्रण गरेका छन् र उनीहरूको पाठक बढिरहेको देखेका छन्। बेक्बुलातोभामाथि सन् २०२१ मा 'विदेशी दलाल' भएको आरोप लागेपछि उनले रुस छोडिन्। त्यसपछि उनी युक्रेन गइन् र अग्रपङ्क्तिमा रहेर युद्धको जानकारी प्रवाह गरिन्।

म प्रगतिलाई अपरिहार्य ठान्दिनँ। आधुनिक सभ्यता सधैँ निकै कमजोर र सहजै भत्काउन सकिने देखिएको छ। र, तीमध्ये महिलाको अधिकार सबैभन्दा चाँडो हराउँछ।

तेइसिया बेक्बुलातोभा

न्याटली बेक्वार्ट

न्याटली बेक्वार्ट, भ्याटिकन

नन

पोप फ्रान्सिसले उनलाई सिनोड अफ बिशप्सको अन्डरसेक्रेटरीकी रूपमा नियुक्त गरेपछि उनी उक्त पद सम्हाल्ने प्रथम महिला बनिन्। यो पदमा उनको भूमिका अन्य थुप्रै नेताको जस्तै क्याथोलिक चर्चका महत्त्वपूर्ण मुद्दाबारे पोपलाई सल्लाह दिने हुन्छ। मत अधिकार हुने पनि उनी एक मात्रै महिला हुन्। सिनोड अफ बिशप्सका सेक्रेटरी जेनेरलले सन् २०२१ मा उनको नियुक्तिले "महिलालाई ढोका खोलेको" देखाएको बताएका थिए।

कङ्ग्रिगेसन अफ जेभियरेसकी फ्रान्सेली ननले यसअघि न्याश्नल सर्भिस फर द इभान्जेलाइजेसन अफ योङ्ग पिपल एन्ड भोकेसन्स इन फ्रान्सकी प्रथम महिला निर्देशककी रूपमा भूमिका निर्वाह गरेकी थिइन्।

पोप फ्रान्सिसलेे भनेका छन्, "महिलाविरुद्ध हुने सबै विभेद र हिसाविरुद्ध लड्नु कर्तव्य हो... सबै मिलेर कुनै पनि तरिकाबाट हामीले सबै तहमा महिला नेतृत्व संलग्न गराउन आवश्यक छ।"

न्याटली बेक्वार्ट

आएशा मलिक

आएशा मलिक, पाकिस्तान

न्यायाधीश

पाकिस्तानको सर्वोच्च अदालतमा प्रथम महिला न्यायाधीशका रूपमा यसै वर्ष नियुक्त आएशा मलिकले महिलाहरूको हक अधिकार रक्षा गर्ने फैसलाहरू सुनाएकी छन्। उनको उल्लेख्य फैसलामा बलात्कारका पीडितहरूमा गरिने दुई औँलाको परीक्षण भनिने प्रक्रियामाथि प्रतिबन्ध लगाउनु पनि पर्छ। 'कुमारीत्व परीक्षण' भनिने त्यस्तो प्रक्रिया सन् २०२१ मा त्यसमा प्रतिबन्ध लाग्नुअघिसम्म यौन हमलामा परेकाहरूको जाँच गर्ने क्रममा हुने गर्थ्यो।

सर्वोच्च अदालतको जिम्मेवारीका साथसाथै न्यायाधीश मलिकले संसारका विभिन्न स्थानमा न्यायाधीशहरूलाई प्रशिक्षण पनि दिने गर्छिन्। उनले पाकिस्तानमा महिला न्यायाधीशहरूको सम्मेलन उद्घाटन गरेर देशको न्याय प्रणालीलाई लैङ्गिक दृष्टिकोणबाट समीक्षा गर्ने बहसहरूलाई प्रोत्साहन पनि दिने गर्छिन्।

महिलाहरूले उनीहरूको पनि दृष्टिकोण, अनुभव र कथा-व्यथाहरूलाई समावेश गर्ने नयाँ सामाजिक भाष्य निर्माण गर्नुपर्छ।

आएशा मलिक

मिया मोट्ली

मिया मोट्ली, बार्बेडोस

प्रधानमन्त्री

बार्बेडोसकी प्रथम महिला प्रधानमन्त्रीका रूपमा मिया मोट्लीले ज्यानुअरीमा दोस्रो कार्यकालका लागि विशाल जित हासिल गरिन्। उनले सन् २००८ यता बार्बेडोस लेबर पार्टीको नेतृत्व गरेकी छन्। ब्रिटिश शाही परिवारसँगको सम्बन्ध तोड्दै त्यहाँको राजगद्दी प्रमुख राष्ट्रप्रमुख हुने व्यवस्था हटाएको क्यारेबिअन टापुलाई उनले मार्गनिर्देश गर्दै विश्वको सबैभन्दा पछिल्लो गणतन्त्र बनाइन्।

मोट्ली जलवायु परिवर्तनका विषयमा जोडदार रूपमा कुरा गर्छिन्। कोप२७ मा उनले जलवायु सङ्कटसँग जुझ्न असफल भएको भन्दै धनी देशहरूको आलोचना गरिन् र कुनै कदम नचालिएमा सन् २०५० सम्ममा एक अर्बको सङ्ख्यामा जलवायु शरणार्थी हुनसक्ने चेतावनी दिइन्।

जारा मोहमदी

जारा मोहमदी, इरान

शिक्षिका

नोजिन सोस्यो-कल्चरल एशोसिएसनकी एक संस्थापकका रूपमा जारा मोहमदीले एक दशकभन्दा बढी समय आफ्नो गृहनगर इरानको सहर सनान्दजमा कुर्दिस भाषा पढाउन बिताएकी छन्।

इरानको संविधानले शैक्षिक वातावरणमा क्षेत्रीय र जातीय भाषाहरूको प्रयोगलाई खुला गरे पनि कानुन व्यावसायी तथा अभियानकर्मीका भनाइमा त्यो व्यवहारमा देखिँदैन जसका कारण बालबालिकाहरूले विद्यालयमा मातृभाषा सिक्न पाउँदैनन्। इरानको सरकारले मोहमदीलाई "राष्ट्रिय सुरक्षामा दखल पुग्नेगरी समूह र समुदाय बनाएको" आरोप लगाउँदै पाँच वर्षको जेल सजाय सुनाएको छ। सन् २०२२ को ज्यानुअरीयता उनी जेलमा छन्।

चेङ् येन

चेङ् येन, ताइवान

बौद्ध परोपकारी

धर्म मास्टर चेङ येनलाई आधुनिक ताइवानी बुद्धिज्मको विकासमा सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक मानिन्छ। मानवीय परोपकार कार्यमा लागेको तु ची फाउन्डेशनकी संस्थापक उनलाई कहिलेकाहीँ 'एशियाकी मदर टेरेसा' पनि भनिन्छ।

उनले सन् १९६६ मा सो संस्था स्थापना गरिन्। त्यति बेला जम्मा ३० जना गृहिणीले जम्मा गरेको पैसाले मद्दतको आवश्यकता परेका परिवारलाई उनीहरूले सहयोग गरे। अहिले सो संस्थाको विश्वभरि दशौँ लाख अनुयायी छन् जसले अन्तर्राष्ट्रिय सहायता तथा स्वास्थ्य सहयोग जुटाउँछन्। साथै अस्पताल र स्कूल सञ्चालनमा पनि सघाउ पुर्‍याउँछन्। हाल ८० वर्ष कटिसकेको उमेरमा उनका अनुयायीहरूले मानवीय परोपकार कार्य तथा अभियान निरन्तर चलाइरहेका छन्। हालै सो संस्थाले युक्रेनका शरणार्थीलाई पैसा तथा सामग्री सहयोग जुटाइदिएको थियो।

नाजनिन जगारी- र्याडक्लिफ

नाजनिन जगारी- र्याडक्लिफ, यूके/इरान

परोपकारी संस्थाकी कार्यकर्ता

"आफूले गर्दै नगरेको कामको निम्ति कसैलाई पनि बन्धक बनाउने अथवा जेलमा थुन्ने कार्य नहोस् भन्नाका खातिर सारा विश्व एकतावद्ध हुनु पर्छ।" यी गत मार्चमा इरानी अधिकारीहरूले मुक्त गरेपछि ब्रिटिश-इरानी नाजनिन जगारी - र्याटक्लिफका शब्द हुन्। उनको रिहाइ र इरानसँगको ऐतिहासिक ऋण विवाद समाधान गर्नका निम्ति ब्रिटिश सरकारलाई दबाव दिँदै उनका श्रीमान् रिचर्डले लामो समयदेखि सञ्चालन गरिरहेका अभियानपछि उनी मुक्त भएकी थिइन्।

नाजनिनलाई सन् २०१६ मा आफ्नी छोरीसँग छुट्टी मनाइरहेका बेला इरानमा मनलाग्दी ढङ्गले पक्राउ गरी थुनामा राखिएको थियो। र, उनलाई ब्रिटिश सरकारमाथि दबाव दिन इरानी अधिकारीहरूले एउटा कूटनीतिक उपायका रूपमा बन्धक बनाएर राखेका थिए। उनलाई ६ वर्षसम्म थुनामा राखियो - पहिला त्यहाँको रिभोल्युश्नरी अदालतले इरानी सत्तापलट गर्ने प्रयास गरेको अभियोगमा दोषी ठहर गरेर। उनलाई दिइएको सजायको अवधि सन् २०२१ मा समाप्त भएपछि उनलाई दोस्रो सजाय दिइएको थियो र कूटनीतिक सम्झौता नहुन्जेल इरानमा थुनामा राखिएको थियो। जगारी- र्याडक्लिफले आफू विरुद्धका सबै अभियोगहरू कडा रूपमा अस्वीकार गरेकी छन् र आफ्ना श्रीमान्‌सँग मिलेर एक संस्मरण लेख्दै छिन्।

नाओमी लङ

नाओमी लङ, नोर्दन आयरल्यान्ड

राजनीतिज्ञ

पूर्वन्यायमन्त्री नाओमी लङले यो वर्ष कैयौँ नयाँ यौन अपराधसँग जुझ्ने विधेयकहरू नोर्दन आयरल्यान्डमा ल्याइन् जसमा डाउन ब्लाउजिङ, साइबर फ्ल्यासिङ छन्। ज्यान मार्ने धम्की झेलेकी लङले महिला राजनीतिज्ञलाई सताउने कार्यबारे पनि जागरुकता ल्याउने पहल गरिन्।

पेशाले सिभिल इन्जिनियर उनी सन् १९९५ मा अलायन्स पार्टीमा सामेल भइन्। बेल्फास्टकी लर्ड मेयरको पद सम्हालेपछि उनी सन् २०१० मा वेस्टमिन्स्टरका निम्ति चयन भएकी प्रथम अलायन्स सांसद भइन्। उनले त्यति बेेला फर्स्ट मिनिस्टर पिटर रबिन्सनलाई विस्थापित गरेकी थिइन्। रबिन्सन सो पदमा ३० वर्षदेखि थिए।

दुर्व्यवहार सामान्य बनिरहने वातावरण निर्माण गर्ने मनस्थितिविरुद्ध हामी लड्नुपर्छ। यसको अर्थ हो हामीले पुरुष आधिपत्य तथा स्त्रीद्वेषजस्ता संस्कृतिलाई प्रत्यक्ष र निरन्तर चुनौती दिनुपर्छ।

नाओमी लङ

उर्जुला फोन डेर लाइन

उर्जुला फोन डेर लाइन, जर्मनी

युरोपेली आयोगकी अध्यक्ष

युरोपेली आयोगकी प्रथम महिला अध्यक्ष उर्जुला फोन डेर लाइन जर्मन राजनीतिज्ञ हुन्। उनले एङ्गेला मर्केलको मन्त्रिपरिषद्‌मा रहेर काम गरेकी थिइन् र उनी जर्मनीमा नियुक्त हुने प्रथम महिला रक्षामन्त्री हुन्।

ब्रसल्समा जन्मिएकी उनले राजनीतिमा लाग्नुअघि अर्थशास्त्र र चिकित्साशास्त्र अध्ययन गरेकी थिइन्। उनी सन् २०१९ मा ईयू प्रमुख नियुक्त भइन् र त्यसयता ब्रेक्जिट, कोभिड-१९ महामारी र जारी युक्रेन युद्धको अवधिमा सक्रिय रहिन्। उनी यसै वर्ष अपनाइएको कम्पनी बोर्डहरूमा लैङ्गिक सन्तुलन कायम गर्न आवश्यक पर्ने ईयू कानुन बन्नुमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति थिइन्।

Sanna Marin

सन् २०२० की विजेता, फिनल्यान्डकी प्रधानमन्त्री साना मरिनद्वारा मनोनित

युरोपले एकपछि अर्को सङ्कट भोगिरहेको छ। त्यस्तो परिस्थितिमा उर्जुला फोन डेर लायनले चुनौतीहरूसँग एकसाथ जुझ्नका लागि युरोपेली सङ्घलाई सघाउन अति महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनको नेतृत्व चमकदमकरहित छ। समय कठिन छ र उनी त्यो समयभन्दा बढी बलियो छन्।

रोजा सालिह

रोजा सालिह, स्कटल्यान्ड

राजनीतिज्ञ

सन् २०२२ को मे महिनामा रोजा सालिह ग्लास्गो सीटी काउन्सिलमा निर्वाचित हुने पहिलो शरणार्थी बनिन्। उनको परिवार इराक छाड्न बाध्य भएपछि कम उमेरमै उनी स्कटल्यान्ड आएकी थिइन्। अहिले साली ग्रेटर पोलोक वार्डका लागि एसएनपी काउन्सिलर छन् जहाँ उनले किशोरीका रूपमा शरणार्थी अधिकारबारे अभियान सञ्चालन गरेकी थिइन्। त्यहाँ उनी र उनका साथीहरू एक साथीलाई रिहा गर्न माग गर्दै प्रदर्शन गर्न आएका थिए।

उनीहरूको अभियान ग्लास्गो गर्ल्सले शरण खोज्नेहरूप्रति गरिने व्यवहारलाई राष्ट्रिय रूपमा चासोको विषय बनाएको थियो। सालीले स्कटिस सोलिडारिटी विथ कुर्दिस्तान सहस्थापना गरिन्। उनी एक मानवअधिकारकर्मीका रूपमा टर्कीमा रहेको कुर्दिस क्षेत्रमा पुगिन्।

एरिका हिल्टन

एरिका हिल्टन, ब्रजिल

राजनीतिज्ञ

ब्रजिलको राष्ट्रिय कङ्ग्रेसको एक स्थानमा निर्वाचित प्रथम अश्वेत पारलैङ्गिक महिला। एरिका हिल्टन त्यस्ती अभियानकर्मी हुन् जो रङ्गभेदविरुद्ध र एलजीबीटीक्यू प्लस र मानवअधिकारहरूका पक्षमा अभियान सञ्चालन गर्छिन्।

विश्वविद्यालयको पढाइ हासिल गर्नुअघि किशोर अवस्थामा उनी रूढीवादी परिवारले घरबाट निकालिदिएपछि उनले सडकमा हुर्किनुपरेको थियो। विद्यार्थी राजनीतिको पृष्ठभूमिकी हिल्टनले साओ पाउलो शहरमा बसाइँ सरेपछि वामपन्थी पीएसओएल पार्टीको सदस्यता लिइन्। सन् २०२०मा उनी शहरको काउन्सिलमा निर्वाचित भइन् भने ब्रजिलको उक्त सबैभन्दा ठूलो शहरमा भोकविरुद्ध नगरपालिका कोष स्थापना गर्ने कानुन लेख्ने व्यक्त पनि बनिन्।

हाम्रो सङ्घर्ष समान अधिकारहरू, समान ज्याला पाउन र लैङ्गिक हिंसाको अन्त्यका लागि हो। हामी अश्वेत, ल्याटिन, श्वेत, धनी, गरिब, सिस वा ट्रान्सजेन्डर जो सुकै भए पनि त्यस्तो अधिकार हामीले पाउनु पर्छ।

एरिका हिल्टन

संस्कृति र खेलकुद

ओना कार्बोनेल

ओना कार्बोनेल , स्पेन

पौडीबाज

स्पेनिश कलात्मक पौडीबाज ओना कार्बोनेल आमा र एउटी विशिष्ठ खेलाडी हुने कुरालाई सामान्यीकरण गर्न अभियानहरू सञ्चालन गरिन्। तीन पटककी ओलिम्पियनले ३० भन्दा धेरै मुख्य पदक प्राप्त गरेकी छन् जसमा ओलिम्पिक्समा पाएका रजत र कास्य पदक समेत समावेश छन्।

सन् २०२० मा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् र टोक्यो ओलिम्पिक्समा पुग्नका लागि तालिमहरू सुरु गरिन्। प्रतिस्पर्धा स्थलमा आफ्नो छोरालाई स्तनपान गराउन नपाइने भनिएको नियमप्रति उनले असन्तुष्टि पोखिन्। यस वर्ष उनी दोस्रो पटक आमा बनिन्। उनले अन्य महिलाले मातृत्व र खेलकुद एकसाथ जान सक्छ भन्ने जानून् भनेर आफ्नो कथा एउटा वृत्तचित्रमा भनेकी छन्।

डिमा अक्टा

डिमा अक्टा, सिरिया

धाविका

सन् २०१२ मा सिरियामा डिमा अक्टाको घरमा बम विस्फोटन गराइयो जसमा परेर खुट्टा गुमाएसँगै उनले आफ्नो एउटा प्रिय काम अर्थात् दौडिन नसक्ने भइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार झण्डै २८ प्रतिशत सिरियालीहरूमा रहेको अपाङ्गता विश्वको औसतको दोबर हो। दश वर्षपछि अक्टा यूकेमा छन् जहाँ उनले सन् २०२४ को पारालिम्पिक पूरा गर्ने अभ्यास गरिरहेकी छन्।

महामारीका बेला शरणार्थीका लागि रकमको जोहो गरेपछि उनलाई इङ्ग्ल्यान्डको वैकल्पिक फुटबल दल द लायनहर्ट्सले एक सदस्यका रूपमा पहिचान गर्‍यो। उनको कथा हालसालै पपस्टार एनी-मरीको म्युजिक भिडिओ ब्युटिफुलमा फिचर गरिएको छ। र, उनले अपाङ्गता भएका मानिसहरूको क्षमताबारे सचेतना फैलाउने काम गरिरहेकी छन्।

बिली आइलिश

बिली आइलिश, अमेरिका

गायिका-गीतकार

ग्रामी अवार्ड-विजेता सुपरस्टार बिली आइलिश आफ्नो सङ्गीतमा नयाँनयाँ सीमा तय गर्ने कामका लागि परिचित छिन् जसमा किशोरीहरूमाथि दुर्व्यवहार गर्नेहरूको चर्को आलोचना गरिएको एकल 'योर पावर'देखि जलवायु परिवर्तनबारे 'अल द गुड गर्ल्स गो टु हेल' सम्म समेटिन्छन्।

उनी यो वर्ष ग्लास्टनबरीमा सबैभन्दा कान्छी हेडलाइनर बनेर इतिहास रचिन् जहाँ उनी गर्भपतनको संवैधानिक अधिकार अन्त्य गर्ने अमेरिकी सर्वोच्च अदालतको निर्णयविरुद्ध प्रस्तुत भइन्। उनले कसैको शरीरप्रति बनाइने दृष्टिकोण, डिप्रेशनमा रहँदाको आफ्नो समय र टुरेट्स सिन्ड्रोमसाथ बाँच्नुबारे खुलेर बोलेकी छन्।

म यस समयको विस्मयमा छु। महिलाहरू अग्रस्थानमा छन्। त्यस्तो खास समय समेत थियो जति बेला म निराशाको दलदलमा थिएँ किनकि त्यस बेला गम्भीर रूपमा लिइने मजस्ता युवतीहरू थिएनन्।

बिली आइलिश

जार आमिर-इब्राहिमी

जार आमिर-इब्राहिमी, इरान

अभिनेत्री

कैयौँ अवार्ड जितेकी अभिनेत्री तथा फिल्मनिर्माता जार आमिर-इब्राहिमी यस वर्ष कानमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने प्रथम इरानी बनिन्। उनले यौनकर्मीलाई निशाना बनाउने एक सिरिअल किलरबारेको सत्यकथामा आधारित चलचित्र होली स्पाइडरमा गरेको अभिनयका लागि उक्त अवार्ड पाएकी हुन्।

उनको एउटा निजी भिडिओ सार्वजनिक भएपछि उनको विगतको प्रेम सम्बन्धबारे जथाभावी टीकाटिप्पणी गरिएका कारण आमिर-इब्राहिमी इरान छाड्न बाध्य भएकी थिइन्। सन् २००८ मा उनी प्यारिस पुगिन् र आफ्नै निर्माण कम्पनी अलाम्बिक प्रोडक्सन स्थापना गरिन्। र, त्यसयता निरन्तर पर्दापछाडि र अगाडि लोभलाग्दो करिअर बनाउन सफल भएकी छन्।

काद्री कियुङ

काद्री कियुङ, हङकङ

फेसन डिजाइनर

ज्येष्ठ उमेर र फरक क्षमता भएका व्यक्तिका लागि सौन्दर्यका दृष्टिले आकर्षक हुने पहिरनको डिजाइन गर्नु काद्री कियुङका लागि सोखको विषय हो। उनले सन् २०१८ मा आफ्नी आमासँग मिलेर आरएचवाईएस ब्रान्ड सुरु गरिन्। आफ्नी हजुरआमाको रेखदेख गर्दा उनले जेष्ठ उमेर समूहका व्यक्तिका पहिरनहरूमा स्टाइल र सहजता कम भेटिने थाहा पाएकी थिइन्।

विश्वविद्यालयमा पहिरन डिजाइन अध्ययन गरेकी कियुङले आफ्नो ज्ञानलाई क्रेताको आवश्यकतासँग जोडेकी छन्। त्यसमा भेल्क्रो फस्नरदेखि लिएर कथिटर झोलासम्म पर्छ। उनको ब्रान्डले ९० जना अवसरबाट वञ्चित महिलाहरूलाई तालिम र रोजगारी दिएकी छन् जसमा केही अपाङ्गता भएका व्यक्तिहरू समेत छन्। सन् २०२२ मा कियुङले एउटा सबै पक्ष समेटिएको फेसनेबल सामग्रीको प्रबर्द्धन गर्ने ब्रान्ड बाउन्डलेस सुरु गरेकी थिइन्।

सारा चान

सारा चान, दक्षिण सुडान

एनबीए स्काउटर

बास्केटबलकी व्यावसायिक पूर्वखेलाडी सारा चान अहिले अफ्रिकाभरि किशोरीहरूलाई खेल सिकाइरहेकी छन्। उनी एनबीएको टोरोन्टो र्‍याप्टर्स बास्केटबल टोलीका लागि अफ्रिकामा स्काउटिङतर्फ प्रथम महिला व्यवस्थापक पनि हुन्।

सुडानको खार्तुममा भएको युद्धबाट भागेर परिवारसहित केन्या सरेपछि चानले त्यहाँ बास्केटबल करियर सुरु गरिन्। उनले टेनिसी ज्याक्सनस्थित युनियन युनिभर्सिटीमा बास्केटबलतर्फ छात्रवृत्ति पाइन् र अफ्रिका र युरोपमा व्यवसायिक खेल खेलिन्। चानले होम एट एम/एपिडाइट फाउन्डेसन नामक गैरसरकारी संस्था स्थापना गरिन्। उक्त संस्थाले बालविवाह, शिक्षाबारे पैरवी गर्छ र युवाहरूलाई शिक्षा दिन खेलको सहायता लिन्छ।

तिमी आफूबारे जे विश्वास गर्छौ त्यही हौ। त्यसैले आफ्ना सपना र आकाङ्क्षा पूरा हुने भविष्यको विश्वास गर।

सारा चान

प्रियङ्का चोपडा जोनस

प्रियङ्का चोपडा जोनस, भारत

अभिनेत्री

बलिवुडकी सर्वाधिक चर्चितमध्येकी एक अभिनेत्री प्रियङ्का चोपडा जोनसले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्। सन् २००२ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी पूर्वमिस वर्ल्ड समेत हुन्। सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज 'क्वान्टिको'मार्फत्‌ उनले हलिवुडमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एशियाली अभिनेत्रीकी रूपमा इतिहास रचिन्।

उनले हलिवुडकै इजन्ट इट रोमान्टिक र द म्याट्रिक्स रिसरेक्सनस्‌मा पनि अभिनय गरेकी छन्। उनी स्वयंले पनि चलचित्र निर्माण कम्पनी स्थापना गरी भारतमा चलचित्र निर्माण गर्दै आएकी छन्। चोपडा युनिसेफकी सद्भावनादूत हुन् जसमार्फत्‌ उनले बालबालिकाको अधिकारका साथै बालिकाहरूको शिक्षाको निम्ति अभियानहरू सञ्चालन गर्छिन्।

मिटू आन्दोलन सुरु हुनु र त्यसपछि एकअर्काको रक्षा गर्दै उभिएका महिलाहरूको सामूहिक आवाज एकसाथ सुनिनु- एकतामा केही निकै शक्तिशाली कुरा छ।

प्रियङ्का चोपडा जोनस

स्नेहा जवाले

स्नेहा जवाले, भारत

सामाजिक अभियानकर्मी

सन् २००० को डिसेम्बरमा जब उनका अभिभावकले विवाहपछि थप दाइजोको माग पूरा गर्न सकेनन् तब स्नेहा जवालेका श्रीमान्‌ले उनीमाथि मट्टितेल छर्किएर आगो लगाइदिए। यद्यपि उनको परिवारले प्रहरीमा उजुरी दिएनन्। जब उनका पति उनीहरूका छोरालाई लिएर जिन्दगीबाट निस्किए तब उनले आफ्नो जीवन पुन: खडा गर्ने दृढ सङ्कल्प गरिन्। र, मानिसहरूले आफ्नो अनुहार हेर्न नपर्ने- ट्यारोट कार्ड पढ्ने र पटकथा लेख्ने काम सुरु गरिन्।

जवाले अहिले सामाजिक अभियानकर्मी हुन्। उनलाई सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारको घटना र हिंसा भोगेकाहरूको अनुभवमा आधारित नाटक निर्भयामा अभिनय गर्ने अवसर जुर्‍यो। विश्वभरिका दर्शक सामु प्रस्तुति दिनुले उनलाई डरलाई जित्न सघायो।

पछिल्लो दश वर्षमा जलन र एसिड आक्रमण पीडितहरूलाई हेर्ने सामाजिक दृष्टिकोण केही परिवर्तन भएको छ। म आफूलाई कुनै मिस वर्ल्ड वा मिस युनिभर्सभन्दा कम आक्दिनँ। म सुन्दर छु र यो कुरा गर्वका साथ भन्न सक्छु।

स्नेहा जवाले

ओन्स जाबेउर

ओन्स जाबेउर, ट्युनिसिया

टेनिस खेलाडी

सन् २०२२ को विम्बलडन च्याम्पियनसीपमा भएको अभूतपूर्व प्रदर्शनपश्चात् ट्युनिशियाली टेनिस खेलाडी ओन्स जाबेउर ग्रान्ड स्लाम फाइनलमा खेल्ने प्रथम अरब वा अफ्रिकी महिला भइन्। केही महिनापश्चात् उनी यूएस ओपनको फाइनलमा पनि पुगिन्।

तीन वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी जाबेउर अहिले २८ वर्षकी भइन्। विमेन्स टेनिस एसोसिएशनको वरीयताक्रममा उनी दोस्रो स्थानमा पुगिन्। त्यो भनेको महिला वा पुरुष अफ्रिकन वा अरब खेलाडीको निम्ति पहिलो हो। जाबेउरले तीनवटा एकल उपाधि जितेकी छन्। उनले खेलाडीको एक नयाँ पुस्तालाई नै प्रेरित गरेकी छन्।

रिमा जुफाली

रिमा जुफाली, साउदी अरेबिया

रेसिङ ड्राइभर

सन् २०१८ मा साउदी अरेबियाकै प्रथम महिला रेसिङ ड्राइभर बनेर रिमा जुफालीले इतिहास बनाइन्। यो वर्ष उनले आफ्नै छुट्टै टोली थिबा मोटरस्पोर्ट सुरु गरिन् जसले अन्तर्राष्ट्रिय जीटी ओपनमा भाग लिनेछ र यो खेलमा साउदी अरेबियाको पहुँच विस्तार गर्नेछ। टोलीमार्फत् उनले खेलकुदमा विविधता प्रबर्द्धन गर्न विभिन्न शैक्षिक अवसर तथा कार्यक्रम निर्माण गर्नेछिन्।

विश्वभरिका महिला रेसिङ ड्राइभरहरूका निम्ति प्रेरणाको स्रोत बनेकी जुफालीले अर्को पनि रेकर्ड बनाउन चाहन्छिन् - थिबा मोटरस्पोर्टमार्फत् प्रतिष्ठित ले मान्स २४ घण्टे रेसमा सहभागी भएर।

महिलाका निम्ति समाजमा धेरै पुराना गढेर बसेका मान्यताहरू छन्। अर्थपूर्ण अनि दिगो परिवर्तनका निम्ति सबैभन्दा सुरुमा घर अनि समाजबाटै सहयोग हुनुपर्छ।

रिमा जुफाली

एला पुगाचेभा

एला पुगाचेभा, रुस

सङ्गीतकार

गायक तथा सङ्गीतकार एला पुगाचेभाले २५० मिलिअनभन्दा बढी रेकर्डहरू विक्री गर्न सफल भइसकेकी छन्। पाँच सयभन्दा बढी गीत र १०० वटा एल्बमहरू निकालेकी उनलाई 'जरिना अफ रसियन पप' अर्था रुसी पप सङ्गीतकी महारानी समेत भन्ने गरिन्छ। कला प्रदर्शनबाट हाल अवकाश लिए पनि उनी उनको विशिष्ट स्वरका कारण एक सांस्कृतिक धरोहरकी रूपमा चिनिन्छिन्।

उनलाई साङ्गीतिक योगदानका निम्ति रुसले विभिन्न पटक सम्मान गरेको छ। यद्यपि उनले धेरै पटक रुस सरकारको विरोधमा बोलेकी छन्। हालै मात्र उनले युक्रेन युद्धको निन्दा गर्दै ३.६ मिलिअन फलोअर भएको आफ्नो इन्स्टाग्राम अकाउन्टमा सन्देश लेखेकी थिइन्। त्यसका निम्ति उनको प्रशंसाका साथै देशद्रोह गरेको आरोपसहित आलोचना समेत भएको छ।

शिक्षा र आर्थिक स्वतन्त्रतामा महिलाको पहुँचको सङ्घर्षमा उल्लेख प्रगति भएको देखिन्छ तर अझै पनि थुप्रै देशमा घरभित्र हुने हिंसा ठूलो समस्याको रूपमा रहेको छ।

एला पुगाचेभा

सेल्मा ब्लेअर

सेल्मा ब्लेअर, युनाइटेड स्टेट्स

अभिनेत्री

पप संस्कृति केन्द्रित क्लासिक क्रुअल इन्टेन्सन्स, लिगली ब्लोन्ड र हेलब्वाइको फ्रेन्चाइज लगायतमा गरेको अभिनयका कारण चिनिएकी सेल्मा ब्लेअर अमेरिकी चलचित्र तथा टिभी अभिनेत्री हुन्।

सन् २०१८ मा उनलाई मल्टिपल स्क्लेरोसिस नामक शारीरिक समस्या देखिएको थियो। त्यसपछि उनले आफ्नो स्वास्थ्य यात्रा र आफूले सामना गरेका चुनौतीबारे बताउँदै उक्त रोगसम्बन्धी जनचेतना जगाएकी थिइन्। यस वर्ष उनले आफ्नो मीन बेबी नामक संस्मरण सार्वजनिक गरिन्। साथै सबैले प्रयोग गर्न सहज हुने किसिमको एर्गोनोमिक कस्मेटिक सामग्री उत्पादन गर्ने उद्देश्यसहित हरेक खालका क्षमता भएकाहरूलाई समेट्ने मेकअप ब्रान्डसँग सहकार्य गरेकी छन्।

म निकै कठिन विगत भएकी एक महिला हुँ। त्यस विगतबारे मानिसले जस्तो सुकै धारणा बनाउन सक्थे र त्यसैको आधारमा मेरो ऊर्जालाई सहजै भत्काउन सक्थे। तर अन्य धेरै महिलाहरूको साथ र सहयोग पाएर म यहाँ छु।

सेल्मा ब्लेअर

बेलिया भिडाल

बेलिया भिडाल, कोलम्बिया

लेखक

कोलम्बियाको एल चोको क्षेत्रकी बेलिया भिडाल एक कथा वाचिका अनि संस्कृति प्रबर्द्धनमा लागेकी अभियानकर्मी हुन्। पठनपाठन र साक्षरता अनि चोकोको विशिष्ट संस्कृति प्रबर्द्धनमा संलग्न मोटेटे संस्थाकी उनी संस्थापक हुन्। कोलम्बियाको सबैभन्दा वञ्चितीकरणमा परेको क्षेत्रमा साहित्यलाई असमानता तथा जातिवादविरुद्ध लड्ने औजारको रूपमा उनले चोको लेखन तथा पठन मेला आयोजना गर्छिन्।

उनको पछिल्लो किताब आग्वास डे एस्च्वारियो कोलम्बियाको संस्कृति मन्त्रालयले अफ्रो-कोलम्बियाली लेखकहरूका निम्ति प्रदान गरेको प्रकाशन सहयोगको पहिलो विजेता हो। ब्रिटिश म्युजिअमसँगको सहकार्यमा थालिएको अफ्लुएन्टिज परियोजनाकी उनी एक अनुसन्धाता पनि हुन्।

महिलाविरुद्धको इतिहासदेखिको दमन र त्यसको सम्बोधनको आवश्यकताबारे अहिले हामी बढी सचेत छौँ। तर अफ्रो तथा जनजाति समुदायमा जातीयताले कसरी दमनलाई अझ गहन बनाएको छ भनेर हामीले बुझ्न सकेका छैनौँ।

बेलिया भिडाल

लोरा मक्एलिस्टर

लोरा मक्एलिस्टर, वेल्स

प्राध्यापक र फुटबलका पूर्व खेलाडी

वेल्स विमिन्स फुटबल टोलीकी पूर्वकप्तान लोरा मक्एलिस्टरले खेल प्रशासनतर्फ कैयौँ वरिष्ठ भूमिकाहरू निर्वाह गरेकी छन्। अहिले उनी उएफा विमिन्स फुटबल कमिटीकी उपाध्यक्ष हुन् र सन् २०२१ एप्रिलमा फिफा परिषद्का लागि यूएफा प्रतिनिधिकी रूपमा चुनावमा उठेकी थिइन्। फुटबल एशोसिएशन अफ वेल्स ट्रस्टकी बोर्ड निर्देशक हुन्।

कार्डिफ युनिभर्सिटीमा प्राध्यापक रहेकी मक्एलिस्टर वेल्स राजनीतिकी विज्ञ हुन्। यो वर्ष कतारमा भइरहेको विश्वकपमा भाग लिन उनलाई वेल्सले एलजीबीटी खेलदूतका रूपमा पठायो। उनी रङ्गशालामा प्रवेश गर्दा एलजीबीटीक्यूआई समुदायलाई समर्थन देखाएर उनले लगाएको "रङ्गीचङ्गी" ठूलो ह्याट हटाउन लगाइएको थियो।

मिली

मिली, थाईल्यान्ड

र्‍याप कलाकार

स्टेजनेम मिलीका रूपमा परिचित कलाकार तथा गीतकार दनुपा खानाथेराकुलले आफ्नो विवादास्पद शब्दमार्फत् अव्यावहारिक सुन्दरताका मापदण्ड र यौन पूर्वस्वीकृतिका विषय सम्बोधन गरेकी छन्। उनी एकभन्दा बढी भाषा-भाषिकामा र्‍याप गाउँछिन् भने थाईल्यान्डको पारलैङ्गिक समुदायका अनौपचारिक चल्तीका शब्दहरू समेत आफ्ना सिर्जनामा प्रयोग गर्छिन्। हालै उनले आफ्नो पहिलो एल्बम बाब बम बम सार्वजनिक गरेकी छन्।

यस वर्ष उनी कोआचेला फेस्टिभलमा भाइरल बनिन्। उनले चल्दै आएको थाई सोच र सरकारका साथै परम्परागत थाई डिजर्टका रूपमा खाइने म्याङ्गो स्टिकी राइसको आलोचना गरिन्। गतवर्ष उनी थाई सरकारको कोभिड-१९ मा गरेको कामको आलोचना गरेपछि मानहानिको अभियोग सामना गरिन्। फलस्वरूप ह्यासट्याग #SaveMilli ट्रेन्ड भएको थियो।

सलिमा रादिआ मुकानसाङ्गा

सलिमा रादिआ मुकानसाङ्गा, रुवान्डा

रेफ्री

अन्तर्राष्ट्रिय फुटबलको ऐतिहासिक क्षणमा सलिमा रादिआ मुकानसाङ्गालाई फिफाले पुरुषहरूको कतार विश्वकपका लागि तीनजना महिलालाई रेफ्रीको रूपमा चयन गरेको छ। ९२ वर्षको इतिहासमा पहिलो पटक उक्त भूमिकामा महिला देखिएका छन्।

गत ज्यानुअरीमा उनले अफ्रिका कप अफ नेसन्समा प्रथम महिला रेफ्रीका रूपमा पुरुषहरूको फुटबलमा सहभागी भएकी थिइन्। टोक्यो ओलिम्पिक्सका लागि समेत उनलाई उक्त जिम्मेवारी दिइएको थियो। अन्तर्राष्ट्रिय महिला फुटबलमा उनले यसअघि नै आफ्नो भूमिका उच्च तहमा निर्वाह गरेकी छन्। खेलकुदमा काम गर्नुअघि उनी मिडवाइफको रूपमा काम गरेकी थिइन्।

रीटा मोरेनो

रीटा मोरेनो, पुएर्टो रिको/यूएसए

अभिनेत्री

निकै कम कलाकारहरूले एम्मी, ग्र्यामी, अस्कर र टोनी अवार्ड जितेर ईजीओटी भनिने उत्कृष्ट उपलब्धि हासिल गर्छन्। ती कम मानिसहरूमध्ये एक हुन् रीटा मोरेनो। यी पोर्तोरिकन अभिनेत्री, गायक तथा नर्तकीले १३ वर्षको उमेरमा बोर्डवे भनिने नाट्य प्रस्तुतिमार्फत्‌ अभिनय यात्रा सुरु गरेकी हुन्।

उनले सिङ्गिङ इन द रेन, द किङ एन्ड आईजस्ता चलचित्रमा अभिनय गरेकी छिन्। तर सन् १९६१ मा प्रदर्शन भएको वेस्ट साइड स्टोरीमा अनिता पात्रको भूमिका निर्वाह गरेपछि उनी अस्कर अवार्ड जित्ने प्रथम ल्याटिना बनिन्। उमेरले नब्बे वर्ष पार गरेकी मोरेनोका निम्ति स्टिभन स्पिलवर्गले उक्त चलचित्रको नयाँ संस्करणमा पृथक पात्र निर्माण गरेका थिए।

इल्नाज रेकाबी

इल्नाज रेकाबी, इरान

आरोही

अक्टोबरमा दक्षिण कोरियामा सम्पन्न एशियन च्याम्पेनशीप्समा इरानी आरोही इल्नाज रेकाबीले हेडस्काफबिनै खेल पूरा गरेकी थिइन्। देशमा अनिवार्य हिजाब लगाउनुपर्ने नियमविरुद्ध भइरहेका प्रदर्शनमाझ उनले त्यसो गरेकी हुन्। उक्त च्याम्पेनशीपमा उनी चौथो भए पनि त्यसले इरानी प्रदर्शनकारीहरूमाझ भने उनलाई लोकप्रिय बनायो। स्वदेश फर्कँदा धेरै मानिसहरूले उनलाई विमानस्थलमा स्वागत गर्नुका साथै सामाजिक सञ्जालमा प्रशंसा गरे।

पछि इन्स्टाग्राममा राखिएको एउटा पोष्टमा उनले हिजाब 'असावधानीवश' खसेको भनिन् र इरानको सरकारी टीभीमा प्रशारित अन्तर्वार्तामा इरानी जनतासामु 'द्विविधा र चासो'का लागि माफी मागिन्। यद्यपि बीबीसी पर्सियनलाई एक स्रोतले बताएअनुसार उक्त अन्तर्वार्ता जबरजस्ती गराइएको स्विकारोक्ति थियो।

युलिमार रोहास

युलिमार रोहास, भेनेजुएला

खेलाडी

ओलिम्पिकको स्वर्ण तथा रजत पदक विजेता अनि तीन पटक विश्व च्याम्पियन युलिमार रोहासले मार्चमा भएको विश्व एथलेटिक्स इन्डोर च्याम्पियनशीपअन्तर्गत महिलाको ट्रिपल जम्पमा १५.७४ मिटर नाघेर विश्व कीर्तिमान बनाइन्। उनले अब १६ मिटर नाघेर अर्को कीर्तिमान रच्ने उद्देश्य राखेकी छन्।

भेनेजुएलाको काराकासमा जन्मिएकी उनको बाल्यकाल सो क्यारिबियन तट क्षेत्रको पिछडिएको इलाकामा बित्यो। त्यो सङ्घर्षपूर्ण जीवनलाई उनी आफ्नो सफलताको श्रेय दिन्छिन्। हाल बार्सिलोना एफसीको एथलेटिक्स टोलीमा सामेल उनलाई स्वदेशमा नायकको रूपमा हेरिन्छ। उनले आफू समलिङ्गी भएको खुलाएकी छन् र एलजीबीटिक्यू+ का हकअधिकारबारे बोलिरहन्छिन्।

हामी महिला होचिएर बस्नुहुन्न। हाम्रा लागि केही असम्भव छैन। हामीलाई अरूले कम आक्न त सक्छन्, तर हाम्रा सक्षमताको हामीले गौरवपूर्ण प्रदर्शन गरिसकेका छौँ।

युलिमार रोहास

मि क्युङ (मिकी) ली

मि क्युङ (मिकी) ली, दक्षिण कोरिया

निर्माता

कलाको दृढ समर्थकका रूपमा मिकी लीले एउटा कोरियाली सांस्कृतिक लहरको नेतृत्व गरिरहेकी छन्। के-पपको विश्वव्यापी सफलताका लागि महत्त्वपूर्ण व्यक्ति हुन् र केसीओएन म्युजिक फेस्टिबलकी एक सुरुवातीकर्ता। उनी ओस्कारमा उत्कृष्ट चलचित्र अवार्ड पाउने पहिलो विदेशी भाषाको चलचित्रको एक कार्यकारी निर्माता समेत हुन्।

ली दक्षिण कोरियाको एउटा सशक्त फिल्म तथा टिभी स्टुडियो, केवल सञ्चालक र सङ्गीत उत्पादक कम्पनीको एकीकृत रूप सीजे ईएनएमकी उपाध्यक्ष हुन्।

Rebel Wilson

सन् २०२१ की विजेता अभिनेत्री रेबेल विल्सनद्वारा मनोनित

"ती नारी शक्तीचं द्योतक आहे आणि माझी आदर्श. तिने अत्यंत उत्तमपणे तिच्या संस्कृतीचं प्रतिनिधित्वं केलं असून ती जगासमोर आणली आहे."

एसरा वार्दा

एसरा वार्दा, एल्जिरिया/अमेरिका

नर्तकी

एल्जिरियाली मूलकी एसरा वार्दा संस्कृति रक्षक हुन्। उनले एल्जिरियाली नृत्यकलालाई कोठाभित्रबाट कक्षाकोठासम्म पुर्‍याइन्। उत्तर अफ्रिकी क्षेत्रको महिला अगुवाइमा हुने परम्परागत नृत्यलाई प्रबर्द्धन गर्न उनी लागिपरेकी छन्। त्यसमध्ये उनले खासमा 'राइ' नामक नृत्यलाई प्रबर्द्धन गरिरहेकी छन्। सो नृत्यलाई सामाजिक विरोधसँग पनि जोडेर हेरिन्छ।

उनी चिखा राबियाकी शिष्या पनि हुन्। राइ नृत्यकी थोरै गुरुमध्ये राबिया एक हुन्। वार्दा विभिन्न ठाउँमा घुम्दै कला प्रदर्शन तथा सिकाइमा सामेल हुने गर्छिन्। उनले वाशिङटन डिसी देखि लण्डनसम्म प्रदर्शन तथा कार्यशाला गराएकी छन्।

गीताञ्जली श्री

गीताञ्जली श्री, भारत

लेखिका

उपन्यासकार एवं लेखक गीताञ्जली श्रीले यस वर्ष अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने प्रथम हिन्दी लेखिका बनेर इतिहास रचिन्। उनले रेत समाधिको अङ्ग्रेजी अनुवाद टुम्ब अफ द स्यान्डका लागि उक्त पुरस्कार जितेकी हुन्। पुस्तकको फ्रेन्च अनुवाद पनि एमिल गुईमेट पुरस्कारका लागि मनोनित भएको थियो।

श्रीले हिन्दी र अङ्ग्रेजी भाषामा आख्यान तथा गैरआख्यान लेख्छिन्। अभिनय, भाषा र शिल्पका कारण चिनिएकी उनका पुस्तकहरू थुप्रै भारतीय एवं विदेशी भाषाहरूमा अनुवादित छन्। उनी आफू संस्थापक रहेको विवादी नामक थिएटर समूहमा रहेर रङ्गमञ्चीय पटकथाहरू पनि लेख्छिन्।

महिलाले सधैँ आफ्नो ठाउँ बनाउन सम्झौता गरेका छन्। तर अहिलेको कालमा संस्कृति र वर्गहरूमा असमानता भए पनि जीवनका हरेक क्षेत्रमा महिलाका लागि केही न केही प्रगति भएको देखिन्छ।

गीताञ्जली श्री

नाना डार्कोआ सेकियामा

नाना डार्कोआ सेकियामा, घाना

लेखिका

उनको किताब 'द सेक्स लाइभ्स अफ अफ्रिकन विमिन'लाई पब्लिशर्स विक्लीले 'यौन मुक्तिको दिशामा एक गज्जबको दस्तावेज' भनेर समीक्षा गरिदिएको थियो। द इकोनोमिस्टले उक्त किताबलाई वर्षकै सबैभन्दा उत्कृष्टको सूचीमा सामेल गर्‍यो। त्यसमा अफ्रिकी महादेश तथा अन्यत्र फैलिएका अफ्रिकीहरूको विविधतापूर्ण आवाज समेटिएका छन्।

लेखक तथा महिला अधिकारकर्मी नाना डार्कोआ सेकियामा एडभेन्चर्स फ्रम द बेडरुम्स अफ अफ्रिकन विमिन नामक वेबसाइट, पडकास्ट र अभियानको सहसंस्थापक पनि हुन् - जसले यौन, यौनिकता अनि आनन्दबारे अफ्रिकी महिलाको अनुभव बताउँछ।

महिला अधिकारकर्मीहरूले सबै महिलाहरूको निम्ति यथोचित स्थान विकास गर्न सफल भएका छन्। तर हामीमाथि प्रत्याक्रमण पनि भएका छन्। ती हाम्रा सफलताका कारण भइरहेका छन्। यस्ता प्रत्याक्रमणले खासगरी विविध लैङ्गिकताका मानिसलाई प्रभावित गर्दैछ।

नाना डार्कोआ सेकियामा

स्याली स्केल्स

स्याली स्केल्स, अस्ट्रेलिया

कलाकार

सन् २०२२ मा स्याली स्केल्सलाई अस्ट्रेलिया सरकारका निम्ति काम गर्ने एउटा समूहमा आबद्ध भइन्। त्यति बेला 'भोइस टु पार्लियामेन्ट' भनिएको ऐतिहासिक जनमतसङ्ग्रह हुन लागेको थियो जो यदि सफल भएको खण्डमा संसदीय प्रक्रियामा आदिवासी समूहको स्थायी प्रतिनिधित्व हुनेछ।

सम्मानित सांस्कृतिक अगुवा एवं कलाकार स्केल्स पिटयानटियाट्रा समुदायकी महिला हुन् जो दुर्गम दक्षिण अस्ट्रेलियाको क्षेत्रमा बस्छन्। त्यहाँको एपीवाई भनिने क्षेत्रको आर्ट सेन्टर कलेक्टिभकी उनी प्रवक्ता पनि हुन्।

Julia Gillard

पूर्वराजनीतिज्ञ तथा सन् २०१८ कि विजेता जुलिया गिलार्डद्वारा मनोनित

"स्याली एक गजबकी कला सर्जकका साथै मानव संवेदना बुझ्नसक्ने मानिस हुन्। अरूलाई प्रेरित र प्रोत्साहित गरेर उनले कैयौँ परिवर्तन गराउन सकेकी छन् जुन परिवर्तन जातीय तथा यौनिक दमन अन्त्य गर्न आवश्यक छन्।"

अलेक्सान्द्रा स्कोचिलेन्को

अलेक्सान्द्रा स्कोचिलेन्को, रुस

चित्रकार

सेन्ट पिटर्सबर्ग निवासी चित्रकार अलेक्सान्द्रा स्कोचिलेन्कोलाई सुपरमार्केटमा सामानको मूल्य लेखिएको ट्यागलाई फेरेर त्यसमा युक्रेन युद्धबारे सन्देशहरू लेखेको कसुरमा थुनामा राखिएको थियो। उनले त्यस्ता सन्देशमा मारिऊपोल नाचघरमा भएको हवाई हमलामा ज्यान गुमाएका हुनसक्ने मानिसहरूको सङ्ख्या जस्ता जानकारीहरू लेख्ने गर्थिन्। अर्का ग्राहकले उजुरी गरेपछि पक्राउ परेकी उनलाई रुसको सशस्त्र सैन्य विरूद्ध 'मिथ्या सूचना' फैलाउनमा प्रतिबन्ध लगाउने कानुनअन्तर्गत मुद्दा चलाइएको थियो।

मुद्दाको सुनुवाइ अघिको थुनामा रहेकी उनी आफूलाई आस्थाको बन्दी ठान्छिन् र दोषी ठहर भएमा उनलाई १० वर्षको जेल सजाय हुनसक्छ।

स्कोचिलेन्कोले मानसिक स्वास्थ्यका विषयमा कमिक बुकहरू लेखेकी छन्। तिनमा डिप्रेशन जस्ता विषयहरूका किताबहरू पर्दछन्। उनकी केटी साथीले हिरासतमा उनको स्वास्थ्यका बारेमा चिन्ता व्यक्त गरेकी छन्।

अभियान तथा पैरवी

लीना अबु अक्लेह

लीना अबु अक्लेह, प्यालेस्टीनी भूभाग

मानव अधिकार अभियानकर्मी

मानव अधिकार अधिवक्ता लीना अबु अक्लेह प्यालेेस्टिनी-आर्मेनियन पत्रकार शिरीन अबु अक्लेहकी भतिजी हुन्। शिरीन गत मे महिनामा कब्जा गरिएको वेस्ट ब्याङ्मा इजरेली बलले मारेको छापाबारे जानकारी सङ्कलन गर्ने क्रममा मारिएकी अल जाजीराकी संवाददाता हुन्। इजरेली सेनाले उनी आफ्नो एक सदस्यद्वारा "झुक्किएर मारिएको हुनसक्ने सम्भावना रहेको" बताएको थियो।

लीना हाल उनकी काकीको हत्याबारे न्याय र जबाफदेहिताको मागसहित सुरु भएको अभियानको नेतृत्वकर्ता हुन्। उनले मानव अधिकार केन्द्रित अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेकी छन्। उनले गर्दै आएको पैरवीका कारण उनी सन् २०२२ को टाइम १०० नेक्ट्स इमर्जिङ लिडर्सको सूचीमा समेटिएकी छन्।

हामीले मेरी काकी शिरीन अबु अक्लेहले जहाँ छोडिन् त्यहीँबाट सुरु गर्नु छ र महिलाको दृष्टिकोण फराकिलो बनाउने कामलाई निरन्तरता दिनु छ। त्यसो भयो भने हामीले भनिरहेको कथा र सङ्कलन गरिरहेको जानकारी समतामूलक, सही र पूर्ण छ भन्ने कुरा सुनिश्चित गर्न सक्छौँ। यो कार्य महिलाविना सम्भव छैन।

लीना अबु अक्लेह

सान्ड्या इक्नालिगोडा

सान्ड्या इक्नालिगोडा, श्रीलङ्का

मानव अधिकारवादी

मानव अधिकारवादी तथा अभियानकर्मी सान्ड्या इक्नालिगोडाले श्रीलङ्काको गृहयुद्धमा आफ्ना प्रियजन गुमाउने हजारौँ आमा र श्रीमतीहरूलाई सघाइरहेकी छन्। उनका श्रीमान् प्रगित इक्नालिगोडा एक प्रभावशाली खोज पत्रकार तथा कार्टुनिस्ट हुन् जो सन् २०१० को ज्यानुअरीमा बेपत्ता भएका थिए। उनी सरकारका कट्टर आलोचक थिए र पृथकतावादी तमिल टाइगरहरूमाथि भएका भनिएका दुर्व्यवहारबारे खोजबिन गरेका थिए।

उनी बेपत्ता भएयता दुई सन्तानकी आमाले न्याय खोजिरहेकी छन्। उनले श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजपक्षका समर्थकहरूलाई आफ्ना श्रीमान्‌को अपहरणको आरोप लगाएकी छन्। सबै सन्दिग्धहरूको पहिचान भए पनि ती सबै अहिले निर्दोष साबित भएका छन्।

अपहेलना र निन्दाबीच समेत म आवश्यकता पर्दा प्रतिबद्धता र त्यागका साथ अरूको पक्षमा लड्ने, सिर्जनात्मक सङ्घर्षमा सहभागी हुने र चुनौतीहरूको सामना गर्ने महिला हुँ।

सान्ड्या इक्नालिगोडा

जेबिना यास्मिन इस्लाम

जेबिना यास्मिन इस्लाम, यूके

अभियानकर्मी

सन् २०२१ को सेप्टेम्बर महिनामा लन्डन पार्कमा हत्या गरिएकी प्राथमिक विद्यालयकी शिक्षक सबिना निसाकी बहिनी जेबिना यास्मिन इस्लाम यूकेमा महिलाको सडक सुरक्षाको विषयमा सशक्त वकालत गर्ने महिला हुन्। उनले कानुन परिवर्तनका लागि अभियानहरू चलाइन् जसले गर्दा प्रतिवादीहरू अदालतमा उपस्थित हुनुपर्छ।

आफ्नी बहिनीको हत्यापछि इस्लामले सहयोगको कमी पाएको कुरा उठाउँदै ब्रिटिश सरकारको आलोचना गरिन्। उनले रङ्गभेदको कुरा समेत उठाउँदै - उनीहरू यदि 'सामान्य श्वेत ब्रिटिश परिवार' भएको भए राम्रो व्यवहार पाउने बताइन्। उनले आफ्नी बहिनीलाई एउटी 'गज्जबकी आदर्श' बताउँदै उनी 'शक्तिशाली, निडर र तृष्ण' रहेको बताइन्।

'यो ग्रहमा अरूलाई भन्दा बढ्ता माया आफैँलाई गर्नुहोस्।''

सबिना निसा

सबिना निसाको जर्नलबाट उद्धृत गरिएको सन्देश जसलाई जेबिका यास्मिन इस्लामले सार्वजनिक गरेकी थिइन्

गोहर ईश्गी

गोहर ईश्गी, इरान

नागरिक अधिकार अभियानकर्ता

गोहर ईश्गी इरानमा सहनशीलता र दृढताकी प्रतीक हुन्। उनका छोरा सत्तार बेहेश्ती एक ब्लगर थिए जो हिरासतमा मारिए। त्यसयता एश्घी इरानी अधिकारीलाई यातना र हत्याको आरोप लगाउँदै न्यायको माग गरिरहेकी छन्।

उनी इरानका उजुरीकर्ता आमाहरूमध्ये एक हुन् जसले आफ्ना सन्तानको हत्याका लागि न्याय खोजिरहेछन्। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई आफ्नो छोराको मृत्युका लागि व्यक्तिगत रूपमा जिम्मेवार ठहराउँदै सन् २०१९ मा उनको राजीनामा आह्वान गर्दै एउटा पत्रमा हस्ताक्षर गरेकी थिइन्। यस वर्ष महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ईश्गीले प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता जनाउँदै आफ्नो टाउको छोप्ने स्कार्फ हटाइन्।

हाइडि  क्राउटर

हाइडि क्राउटर, यूके

अपाङ्गतासम्बन्धी अभियानकर्मी

हाइडि क्राउटर डाउन सिन्ड्रोम भएका मानिसप्रतिको धारणा परिवर्तन गर्न अभियान चलाउँछिन्। त्यस्तो अवस्था भएकाको बच्चा नजन्मिँदासम्म भ्रूण हत्या गर्न पाइने कानुन विभेदपूर्ण भएको भन्दै त्यसविरुद्ध उनले अदालतमा मुद्दा हालिन्। उच्च अदालतले उनको चुनौतीविरुद्ध आदेश दियो र उक्त कानुनले नजन्मिँदैको बच्चा र आमाको अधिकारबारे सन्तुलन मिलाउन खोजेको बताएको थियो। नोभेम्बरमा क्राउटरले हालेको पुनरवलोकन हारिन्, तर उनले आफू र आफ्नो टोलीको योजना लडिरहने रहेको र उक्त मुद्दा सर्वोच्च अदालत लैजाने बताइन्।

उनी पोजिटिभ अबाउट डाउनकी संरक्षक हुन् र न्याश्नल डाउन सिन्ड्रोम पोलिसी ग्रुपकी संस्थापक पनि हुन्। उनको आइ एम जस्ट हेइडी गत अगस्टमा प्रकाशित भएको थियो।

गर्भवती महिलाले डाउन सिन्ड्रोमबारे सही सूचना पाऊन् भन्ने म चाहन्छु। म चाहन्छु मानिसहरू समय अनुसार चलून् र हामी जे हौँ त्यसैलाई स्वीकारून्।

हाइडि क्राउटर

खिराल्डिना गेर्रा गार्सेस

खिराल्डिना गेर्रा गार्सेस, एक्वडोर

नारीहत्याविरोधी अभियानकर्मी

सत्र वर्षदेखि महिला अधिकारकर्मी रहेकी खिराल्डिना गेर्रा गार्सेसले एक्वडोरमा हिंसापीडित महिलाको संरक्षणमा काम गर्छिन्। उनको विज्ञता सूचना सङ्कलन गर्दै महिला भएकै कारण हुने नारी हत्याबारे धेरैलाई थाहा दिनु रहेको छ।

उनी कार्टोग्राफिक्स अफ मेमोरी अभियानसँग सम्बद्ध छन् जसले नारीहत्याका पीडितहरूको ''जीवन नक्साङ्कन'' गरेर उनीहरूको सम्झना जीवन्त राख्छ। त्यसले उक्त दृष्टिकोणमा सांस्कृतिक बदलाव आउनका लागि प्रयत्न गर्ने बताइएको छ। गार्सेसले महिला अधिकारवादी उक्त सञ्जाल र लैङ्गिकहिंसा विरुद्धको ल्याटिन अमेरिकी सञ्जालका लागि घटनाहरू बुझ्दै तिनको नक्साङ्कनको काम गर्छिन्। उनी अल्डिआ फाउन्डेसन र आफ्नो देशको नेटवर्क अफ विमिन्स सेल्टर्सको प्रतिनिधित्व गर्छिन्।

यदि नारीहत्या रोक्ने कडा कदम चालिएन भने त्यो कसैका लागि पनि प्रगति ठहरिने छैन। नयाँ कानुनहरू आइरहे पनि हामी अझै मारिरहेका छौँ र त्यो परिवर्तन हुन आवश्यक छ।

खिराल्डिना गेर्रा गार्सेस

मोड गोबा

मोड गोबा, यूके

एलजीबिटीआईक्यू अभियानकर्मी

मोड गोबा आफैँ शरणार्थी हुन् र शरणार्थी समायोजनलाई प्रबर्द्धन गर्ने संस्थासँग उनले करिब दुई दशक काम गरेकी छन्। उनी अहिले माइक्रो रेन्बोकी राष्ट्रिय व्यवस्थापक हुन् जसले शरण खोज्ने एलजीबीटीक्यूआईलाई सुरक्षित आश्रय दिन्छ। घरबारविहीन २५ हजारलाई राति बास बस्न दिने कार्यक्रको उनले नेतृत्व गर्छिन् जसमा रोजगारी कार्यक्रम पनि समावेश छ।

हालै गोबाले अफगानिस्तानबाट युके पुगेका एलजीबीटीक्यूआईलाई समायोजना गर्ने प्रक्रियाको व्यवस्थापन गर्छिन्। युकेको ब्ल्याक प्राइड नामक संस्थाकी उनी संस्थापक सदस्य हुन् र ट्रस्टीहरूको बोर्डको अध्यक्षता गर्छिन्।

सन्जिदा इस्लाम चोया

सन्जिदा इस्लाम चोया, बाङ्गलादेश

विद्यार्थी

बाङ्गलादेश संसारमा सबैभन्दा धेरै बालविवाह हुने देशमध्येमा पर्छ। तर सन्जिदा इस्लाम चोयाले त्यो अवस्थामा परिवर्तन ल्याउन खोज्दै छिन्। उनको आमको पनि निकै सानो उमेरमा विवाह भएको थियो। तर बालविवाहले पार्ने नकारात्मक असरबारे उनको विद्यालयमा भएको एउटा प्रस्तुतिपबाट प्रेरित भएपछि उनले त्यस्तो चलनविरुद्ध लाग्ने विचार गरिन्।

उनी र उनका साथीहरू, शिक्षकहरू र समर्थकहरू आफूहरूलाई घासफोरिङ (फट्याङ्ग्रा) भन्छन् र बालविवाह हुन लागेको उजुरी प्रहरीमा गर्ने गर्छन्। हाल विश्वविद्यालयमा अध्ययनरत उनको त्यस्तो अभियान अझै रोकिएको छैन। र, उनी उक्त समूहका नयाँ सदस्यहरूलाई मार्गनिर्देशन गर्ने गर्छिन्। हालसम्म तिनीहरूले ५० वटा जति बालविवाह रोकेको बताइन्छ।

इफ्रत तिलमा

इफ्रत तिलमा, इजरेल

स्वयंसेविका

इजरेल प्रहरीमा पहिलो पारलैङ्गिक स्वयंसेवककी रूपमा इफ्रत तिलमा आपत्कालीन फोन उठाउने र प्रहरी साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबीच सम्बन्ध सुधारका लागि काम गर्छिन्। उनी किशोरावस्थामा परिवारबाट नअपनाइएपछि र प्रहरीबाट दुर्व्यवहार भोग्नुपरेपछि इजरेल छोडेर भागिन्। उनले सन् १९६९ मा क्यासब्लान्कमा लिङ्ग परिवर्तन गर्ने शल्यक्रिया गराइन्। त्यस समय उक्त प्रक्रिया युरोपमा प्रतिबन्धित थियो।

उनी बर्लिनमा गएर फ्लाइट अटेन्डेन्टको काम थालिन् र त्यहीँ विवाह गरिन्। सन् २००५ मा सम्बन्धविच्छेद भएपछि इजरेल फर्किन्। त्यति बेला आफ्नो देश यौनिक अल्पसङ्ख्यकहरूका लागि उदार भएको पाइन् जसले उनलाई प्रहरीमा स्वयंसेवकका रूपमा खट्न प्रेरित गर्‍यो।

एलिस पटासो

एलिस पटासो, ब्रजिल

आदिवासी अभियानकर्मी

जलवायु अभियानकर्मी, पत्रकार तथा प्रभावशाली व्यक्ति एलिस पटासोले ब्रजिल सरकारको पर्यावरण र कृषिसम्बन्धी हालसालैका नीतिले कसरी आदिवासी भूमि अधिकारलाई असर पुर्‍याउँछ भन्नेबारे सचेतना फैलाउने उद्देश्य राखेकी छन्। पाटासो मानिसहरूको प्रतिनिधि स्वरूप उनले आदिवासी समुदायहरूको बारेमा औपनिवेशिक विचारहरूलाई चुनौती दिने र पर्यावरणसम्बन्धी अभियानकर्मीहरूको हत्याको विषयमा चर्चा पार्न चाहन्छिन्।

उनी कोलाबोराकी संवाददाता हुन् र आफ्नो नुह युट्युब च्यानल सञ्चालन गर्छिन्। च्यानलको नाम ब्रजिलका आदिवासीप्रति समानुभूति जनाउन प्रयोग गरिने शब्दमाथि राखिएको हो।

Malala Yousafzai

उनलाई सन् २०२१ कि विजेता शैक्षिक अभियानकर्मी मलाला युसुफजाईले मनोनित गरेकी हुन्।

म यस वर्षको बीबीसी हन्ड्रेड विमिन्स सूचीका लागि एलिस पटासोलाई मनोनित गर्न पाउँदा गौरवान्वित छु। पर्यावरण गतिविधि, लैङ्गिक समानता र आदिवासी अधिकारका निम्ति अटल प्रतिबद्धताले मलाई दीर्घकालीन र समानतापूर्ण विश्व नजिकै छ भन्ने आशा दिलाउँछ।

तमना जार्याब पर्यानी

तमना जार्याब पर्यानी, अफगानिस्तान

अभियानकर्मी

ज्यानुअरीमा महिलाहरूको शिक्षा तथा रोजगारी अधिकार पैरवी गर्दै र्‍यालीमा भाग लिएको केही दिनमा तमना जार्याब पर्यानी र उनकी दिदीबहिनीलाई सशस्त्र पुरुषहरूले घरबाटै जबरजस्ती लिएर गए। अन्तर्राष्ट्रिय निन्दा अनि उनीहरूको रिहाइको मागका माझ तालिबानले उसको संलग्नता अस्वीकार गर्‍यो।

उनले आफूलाई पक्रिएको बेलाको प्रतिक्रिया खिचेकी थिइन् र त्यसलाई अनलाइनमा राखिदिइन्। उक्त भाइरल भिडिओले बेपत्ता पारिएका महिला अभियानकर्मीको मुद्दा चर्चामा ल्याइदियो। तीन सातासम्म बन्दी बनाइएकी उनी त्यसपछि रिहा भइन्। अहिले उनी जर्मनीमा बस्छिन्। अफगानिस्तानका महिलाहरूसँग ऐक्यबद्धता प्रदर्शन गर्न उनले आफ्नो टाउको छोप्ने हेडस्कार्फ जलाइदिएकी छन्। उक्त कदमलाई कैयौँ अफगान महिलाले विवादास्पद मानेका छन्।

विश्वका महिलाहरू अघि बढ्दै गर्दा अफगानिस्तानका महिला २० वर्षपछाडि धकेलिएका छन्। महिला उपलब्धिका २० वर्ष लुटिएको छ।

तमना जार्याब पर्यानी

रोया पिराइ

रोया पिराइ, इरान

अभियानकर्मी

सेप्टेम्बर महिनामा रोया पिराइको तस्बिर सर्वत्र देखियो। उनकी ६२ वर्षीया आमा मिनु मजिदी इरानको कुर्दिश भाषा धेरै बोलिने सहर केरमनशाहमा प्रदर्शन गर्दै थिइन्। त्यतिनै बेला उनलाई सुरक्षाकर्मीको गोली लाग्यो र उनी मारिइन्। पिराइ हातमा कपाल लिएर खौरिएको टाउकोसहित आफ्नो आमाको समाधिस्थलमा उभिइन्। उनले अवज्ञाकारी नजरले हेरिरहेको तस्बिर भाइरल बनेको थियो।

बाइस वर्षीया कुर्दिश महिला महसी अमिनीको हत्यापछि इरानको कुर्दिश क्षेत्रबाट सुरु भएको सरकारविरोधी प्रदर्शनहरू देशव्यापी रूपमा फैलियो। पिराइले आफ्नो आमाको मृत्युपछि त्यसयता जारी प्रदर्शनहरूमा अन्तर्राष्ट्रिय समर्थन मिलोस् भनेर फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँलाई भेटिन्।

सेसी फ्लोरेस

सेसी फ्लोरेस, मेक्सिको

अभियानकर्मी

सन् २०१५ मा सेसी फ्लोरेसका २१ वर्षीय छोरा आलेहान्द्रोलाई सशस्त्र समूहले अपहरण गर्‍यो। चार वर्षपछि उनको अर्को छोरा ३१ वर्षका मार्को एन्टोनियोलाई अपराधी समूहले अपहरण गर्‍यो। फ्लोरेस भन्छिन्, ती छोरालाई के भयो र कहाँ छन् भन्ने नजानीकनै आफ्नो जीवन सिद्धिएला भन्ने डरले उनलाई यो अभियानमा लाग्न हौस्यायो। उनी मेक्सिकोमा जबरजस्ती बेपत्ता पारिएकाहरूबारे पैरवी गर्छिन्।

यो वर्ष मेक्सिकोले एउटा कहालीलाग्दो कीर्तिमान्‌ बनायो। त्यहाँ बेपत्ता भएका मानिसको सङ्ख्या एक लाख पुगेको छ। सो सङ्ख्यालाई संयुक्त राष्ट्रसङ्घले 'भीषण मात्राको दुःखदायी विषय' भनेको छ। फ्लोरेसको अगुवाइमा माद्रेस बुस्कादोरास दे सोनोरा (सोनोराज सर्चिङ् विमिन) समूहले लुकाइएका चिहानहरूबाट त्यस्ता १,००० मानिस पत्ता लगाइसकेको छ।

तराना बर्क

तराना बर्क, अमेरिका

अभियानकर्मी

#MeToo ह्याशट्याग पाँच वर्षअघि निकै 'भाइरल' हुन पुग्यो जुनबेला संसारभरिका मानिसहरूले यौन दुर्व्यवहारसम्बन्धी आआफ्ना अनुभवहबारे अरूलाई बताएका थिए। तर त्यस्तो आन्दोलनको आरम्भ सन् २००६ मा नै पीडित तथा अभियानकर्मी तराना बर्कले गरेकी थिइन्। उनले उक्त शब्दको प्रयोग महिला विरुद्धका दुर्व्यवहार र हिंसाबारे चेतना फैलाउने उद्देश्यले गर्न थालेकी हुन्।

सन् २०१७ मा अभिनेत्री एलिसा मिलानोले ट्वीट गरेर #MeToo लाई फेरि चर्चामा ल्याइन त्यसले महिलाहरूप्रति कस्तो व्यवहार हुने गर्छ भन्ने विषयमा विश्वव्यापी बहस सिर्जना गर्यो र पिडितहरूलाई समेत एक शक्तिशाली आवाज प्रदान गर्‍यो। बर्क दुर्व्यवहारका पीडितहरूको पक्षमा वकालत गर्ने कार्यमा प्रतिबद्ध छिन् र उनी साँस्कृतिक र संरचनागत परिवर्तनको पक्षमा सङ्घर्षरत छिन्।

भेलमारिरी बाम्बारी

भेलमारिरी बाम्बारी, इन्डोनेशिया

अभियानकर्मी

इन्डोनेशियाको दुर्गम क्षेत्रमा काम गर्दै आएकी भेलमारिरी बाम्बारीले मध्य सुलावेसीमा यौनहिंसाका पीडितहरूको हकहितमा लड्दै आएकी छन्। उनले स्थानीय परिषद्‌का सदस्यहरूलाई परम्परागत कानुनका प्रावधान त्यागेर यौनहिंसाका पीडितहरूलाई जरिबाना नगराउन प्रोत्साहन गरेकी छन्।

परम्परागत कानुनमा 'गाउँ सफाइ' को मान्यताअन्तर्गत परम्परागत मूल्यमान्यता दूषित पार्नेहरूलाई जरिबाना गराइन्छ। ती नियम पीडितहरूमा पनि लागु हुन्छ। उनको अभियानका कारण अचेल हिंसाका घटना भए प्रहरीले पनि उनलाई नै सम्पर्क गर्छ। यो वर्ष उनले यस्ता धेरै मामिलासँग जुझेकी छन्।

मलाई शारीरिक रूपमा अपाङ्गता भए पनि वरपरका महिलाहरूलाई सशक्त बनाएर उनीहरूलाई आर्थिक रूपमा पनि स्वतन्त्र बनाउनका लागि आवश्यक अवसर सिर्जना गर्ने अभियानमा मेरो सम्पूर्ण ऊर्जा लगाउन चाहन्छु।

भेलमारिरी बाम्बारी

हादिजातोउ मनी

हादिजातोउ मनी, निजेर

दासताविरोधी अभियानकर्मी

कसैको पाँचौँ पत्नी हुन १२ वर्षको उमेरमा बेचिएकी हादिजातोउ मनी वहाया प्रथाअन्तर्गत दास बनाइएकी थिइन्। उक्त प्रथामा प्रभावशाली पुरुषले आफ्ना चार आधिकारिक श्रीमतीहरूको सेवा गर्न पाँचौँ अनधिकारिक श्रीमती राख्छन्। सन् २००५ मा कानुनी रूपमा स्वतन्त्र भएपछि मनीले पुनः विवाह गरिन्, तर उनको पूर्वमालिकले उनीमाथि बहुविवाहको आरोप लगाए र मुद्दा दायर गरे। त्यति बेला उनी दोषी ठहर भइन् र ६ महिनाको जेल सजाय सुनाइयो।

मनीले उक्त निर्णयलाई चुनौती दिइन् र निजेरको सर्वोच्च अदालतले सन् २०१९ मा उनको सजायलाई उल्टाइदियो। फलस्वरूप वहाया प्रथामा प्रतिबन्ध लगायो।

कपाल काट्दै महिला

कपाल काट्दै महिला, इरान

प्रदर्शनकारी

इरानको राजधानी तेहरानस्थित प्रहरी हिरासत २२ वर्षीय कुर्द महिलाको मृत्युपछि यो वर्ष त्यहाँ देशव्यापी प्रदर्शनहरू भए। महिलाले कपाल ढाक्ने हिजाब लगाउनुपर्ने इरानको कडा नियम उल्लङ्घन गरेको भन्दै पक्राउ गरिएकी महसा अमिनीको निधनसँगै त्यहाँ प्रदर्शन भएको थियो।

यो वर्ष हामीले प्रदर्शनमा भूमिका निर्वाह गरेका महिलाको पहिचान गर्न चाहेका थियौँ जसले अनिवार्य हिजाबको नियमविरुद्ध आफ्नो स्वतन्त्रताका लागि लडून्।

उक्त आन्दोलनको विम्बका रूपमा महिलाहरूले आफ्नो कपाल काट्न थाले जसलाई पछि चर्चित व्यक्तिदेखि राजनीतिज्ञ र अभियानकर्मीलेसम्म पच्छ्याए। इरानमा केही समुदायले यसलाई शोकको परम्परागत सङ्केतका रूपमा हेरेका छन्।

ओलेक्सान्द्रा मात्भिइचुक

ओलेक्सान्द्रा मात्भिइचुक, युक्रेन

मानव अधिकार वकिल

पन्ध्र वर्षदेखि ओलेक्सान्द्रा मात्भिइचुकले सेन्टर फर सिभिल लिबर्टीज,सीसीएल, नामक संस्थाको नेतृत्व गरिरहेकी छन् जसलाई सन् २०२२ मा संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उक्त संस्थाले युक्रेनमा गरिएको अतिक्रमणपछि रूसी युद्ध अपराधहरूलाई अभिलेखीकरण गरेको कामले त्यस्तो पुरस्कार पाएको हो।

सीसीएलले मानव अधिकारको मुद्दामा केन्द्रित भएर सन् १९६०को दशकका युक्रेनी विद्रोहीहरूको विरासतलाई अघि बढाइरहेको छ। सन् २०१४ मा उक्त केन्द्र क्राइमिया, लुहान्स र डोनेत्सक गएर युद्ध अपराधका घटनाको अभिलेखीकरण गर्ने पहिलो मानव अधिकारवादी सङ्गठन थियो। हाल तिनीहरूले चेचन्या, मोल्डोभा, जोर्जिआ, सिरिया, मालि र युक्रेनमा भएका भनिएका मानव अधिकार उल्लङ्घनका घटनामा रुसविरुद्ध अनुसन्धान थाल्न एउटा अन्तर्राष्ट्रिय ट्राइब्युनलको माग गरिरहेका छन्।

वीरताको कुनै लैङ्गिक पहिचान हुँदैन

ओलेक्सान्द्रा मात्भिइचुक

नार्गेस मोहम्मदी

नार्गेस मोहम्मदी, इरान

मानव अधिकारवादी अभियानकर्ता

पत्रकार एवं नोबेल शान्ति पुरस्कार मनोनित नार्गेस मोहम्मदी इरानको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष हुन् र उनले अथक रूपमा मृत्युदण्डविरुद्ध अभियानहरू सञ्चालन गर्दै आएकी छन्। हालसालै भएको एक प्रदर्शनमा उनले इभिन कारागारबाट पत्र लेखेर, प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिनबाट इरानी सरकारलाई रोक्न संयुक्त राष्ट्रसङ्घ समक्ष आग्रह गरेकी थिइन्।

सन् २०१० मा मोहम्मदीलाई ११ वर्षको जेल सजाय दिइयो। पछि उनी धरौटीमा रिहा हुँदा जेलमा रहेका कैदीहरूलाई गरिने व्यवहारको विरोध गर्दै मन्तव्य दिएपछि उनको सजाय बढाएर १६ वर्ष पुर्‍याइयो। उनको १६ जना भूतपूर्व कैदीहरूसँगको अन्तर्वार्तामा आधारित वृत्तचित्र ह्वाइट टर्चरले एक्लै राखिने कारागारको अनुभव साझा गर्छ। उनका दुई सन्तान देशबाट निकालिएका उनका श्रीमान्, राजनीतिक कार्यकर्ता तगी रहमानीसँग बस्छन्।

लेइली

लेइली, इरान

प्रदर्शनकारी

इरानमा अहिले भइरहेको प्रदर्शनहरूको एउटा याद गरिएको तस्बिर भनेको पछाडिबाट खिचिएको एक युवतीको हो जसले आफ्नो बाँधिएको चुल्ठोमै कपाल काटेकी छन् र प्रदर्शन जारी राखेकी छन्। उनको तस्बिर प्रदर्शनको साहसिक कदमको सङ्केत बनेको छ। तर उनको परिचय भने भुलवश २२ वर्षीया हदिस नजाफीका रूपमा दिइएको छ जसले जारी प्रदर्शनकै क्रममा ज्यान गुमाएकी थिइन्।

बीबीसी पर्सियनसँग बोल्दै वास्तविक महिलाले यो फोटोबारे बोल्दै "हदिस नजाफी र महसी अमिनीजस्ता महिलाका लागि लड्ने" बताइन्। उनले इरानी शासनले "हत्याको धम्कीले आफूहरूलाई नतर्साउने, इरानको स्वतन्त्रताबारे आफूलाई आशा" रहेको बताइन्।

झो शियाओशुआन

झो शियाओशुआन, चीन

महिलावादी अधिकारकर्मी

चीनको 'मिटू' आन्दोलनको अनुहारका रूपमा चिनिएकी झो शियाओशुआनसँग भएको घटनाको अनुभवलाई चीनका महिलावादी तथा संसारभरिले नै पछ्याइरहेको छ। सन् २०१८ मा उनले सरकारी स्वामित्वको टेलिभिजन प्रसारक सीसीटीभीका चर्चित कार्यक्रम प्रस्तोता झु जुनले सन् २०१४ मा इन्टर्नशीपमा रहँदा जबरजस्ती शरीरका संवेदनशील अङ्ग छोएको र चुम्बन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्। झुले ती आरोपहरूको खण्डन गर्दै झोविरुद्ध गालीबेइज्जतीको मुद्दा हालेका थिए।

उनको मुद्दालाई अपर्याप्त प्रमाण भएको भन्दै खारेज गरिएको थियो र यसै वर्ष उनले गरेको पुनरावेदनलाई समेत रद्द गरिएको थियो। त्यसलाई विदेशी सञ्चारमाध्यमहरूले चीनको मिटू आन्दोलनका लागि एक धक्का भनेका छन्। झो शियाओशुआन हाल यौन दुर्व्यवहार पीडित महिलाहरूलाई समर्थन गर्ने र चीनमा महिलावादी मुद्दाहरूलाई उजागर गर्ने कार्यमा सक्रिय छिन्।

युलिया साचुक

युलिया साचुक, युुक्रेन

अपाङ्गतासम्बन्धी अगुवा

युक्रेनकी मानव अधिकार रक्षक युलिया साचुक अपाङ्गता भएका महिलाहरूको सङ्गठन फाइट फर राइटकी प्रमुख पनि हुन्। रुसले युक्रेनमा अतिक्रमण गरेपछि उनले आपत्कालीन सेवा दिइन्। चौबीसै घण्टा खटिएर अन्तर्राष्ट्रिय संस्थाहरूसँगको संयोजनमा अपाङ्गता भएका हजारौँ युक्रेनीहरूको उद्धारकार्यमा सघाइन्।

अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई सशक्त बनाउने र निर्णय कार्यमा सामेल गराउने विषयमा साचुक निकै दत्तचित्त छिन्। ओबामा फाउन्डेशनको लिडर युरोप कार्यक्रममा उनी सहभागी छन्। सन् २०२० की राष्ट्रिय मानव अधिकार पुरस्कार विजेता उनी राष्ट्रसङ्घको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समितिमा युक्रेनका तर्फबाट उम्मेदवार पनि हुन्।

सुभाडा सेलिमोभिच

सुभाडा सेलिमोभिच, बोस्निया र हर्जगोभिना

शान्ति अभियानकर्मी

बोस्निया र हर्जगोभिना युद्धले ध्वस्त भएको ३० वर्ष बितिसकेको छ। अहिले सुभाडा सेलिमोभिच आफैँले पुनर्निर्माणमा सघाएका गाउँमा बस्छिन् जहाँ पहिले विस्थापित भएर फर्किएका महिलाहरू पनि बस्छन्। एकल महिला अनि सानासाना बालबालिकाकी आमा सेलिमोभिचले अनिमा नामक संस्थाको स्थापना गरेकी छन् जसले महिला सशक्तीकरण र शान्ति अभियानमा काम गर्छ।

सन् २००८ मा उनको पतिको शरीरका भाग एउटा आमचिहानमा भेटियो। उनले युद्ध अपराधसम्बन्धी अदालतमा बयान दिइन् र अन्य महिलालाई पनि त्यसो गर्न प्रोत्साहित गरिन्। अचेल अनिमाले महिलाहरूलाई युद्धका घाउसँग जुझ्न अनि उनीहरूले गरेको उत्पादन विक्री गर्न अवसर खोजिदिने जस्ता सहयोग गर्छ।

गेहाद हाम्दी

गेहाद हाम्दी, इजिप्ट

दन्तचिकित्सक एवं परोपकारी

दन्तचिकित्सक गेहाद हाम्दी इजिप्टमा महिलावादको पक्षमा वकालत गर्ने सुरुवाती संस्था स्पीक अपकी संस्थापक एवं व्यवस्थापक हुन्। उक्त संस्थाले आफ्नो सामाजिक सञ्जालमार्फत्‌ लैङ्गिक हिंसा र यौन दुर्व्यवहारका दोषीहरूलाई सार्वजनिक गर्छ। सन् २०२२ मा इजिप्टभरि महिलाविरुद्ध शृङ्खलाबद्ध रूपमा हिंसात्मक अपराध भएका छन्।

स्पीक अपले महिलाहरूलाई कानुनी र भावनात्मक सहायता साथै आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न हौसला दिन्छ। त्यस्तै उनीहरूले अधिकारीहरूलाई दोषीलाई कारबाहीका निम्ति दबाव समेत दिइन्छ। विश्व न्याय फोरम २०२२ मा समान अधिकार र विभेदविरुद्ध विधामा पुरस्कार जित्ने लगायत अन्य अवसरहरूमा हाम्दीको अभियानलाई मान्यता दिइएको छ।

लामो यात्रा तय गर्नु छ, हामी गन्तव्यनजिक छैनौँ। वास्तवमा हामीले हिँड्न सुरु नै गरेका छैनौँ।

गेहाद हाम्दी

जुडिथ होइम्यान

जुडिथ होइम्यान, अमेरिका

अपाङ्गता अधिकार अभियानकर्ता

जुडिथ होइम्यानले आफ्नो जीवन अपाङ्गता भएका मानिसहरूको अधिकारका निम्ति समर्पण गरेकी छन्। बालकै छँदा पोलियोबाट ग्रस्त उनी न्यूयोर्क शहरमा ह्वीलचेअर प्रयोग गर्ने प्रथम शिक्षिका हुन्।

अपाङ्गता अधिकार अभियानका निम्ति उनी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेत्री हुन्। र, उनको अभियानका क्रममा होइम्यानले महत्त्वपूर्ण कानुनहरूको निर्माणमा उल्लेखनीय भूमिका खेलेकी छन्। होइम्यानले क्लिन्टन र ओबामा प्रशासनमा काम गरेकी छन् र गैरसरकारी क्षेत्रमा काम गरेको उनीसँग बीस वर्षको अनुभव छ।

२०२० की विजेता, अपाङ्गता अधिकारकर्मी शनी धन्डबाट मनोनित

" म जुडिथबाट अति नै प्रभावित छु। उनले ३० वर्षभन्दा बढी समयदेखि विश्वव्यापी रूपमा नै अपाङ्गता भएका मानिसहरूको मानव अधिकार प्रबर्द्धन गर्न अनवरत काम गर्दै आएकी छन्। "

स्वास्थ्य र विज्ञान

ए न्येइन  थु

ए न्येइन थु, म्यान्मार

चिकित्सक

ए न्येइन थु म्यान्मारको सङ्कटग्रस्त क्षेत्रमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वयंसेविका हुन् र उनी दुर्गम तथा गरिब चिन राज्यमा सक्रिय छिन्। उनले सन् २०२१ को नोभेम्बरमा सानो अपरेशन थिएटरसहितको काम चलाउ अस्पताल निर्माण गरेकी थिइन् र त्यस बेलादेखि बिरामी र घाइतेहरूको उपचार गरिरहेकी छन्।

आफ्नो फुर्सदको समयमा उनी स्वास्थ्य उपचार सेवा उपलब्ध नभएको अन्य क्षेत्रहरूको यात्रा गर्ने गर्छिन् र स्थानीय बिरामीाका साथै आन्तरिक विस्थापनमा परेका मानिसहरूलाई पनि सहयोग गर्ने गर्छिन्। कामको सिलसिलामा उनलाई म्यान्मारको सेनाले 'हिंसा उक्साएको' अभियोग लगाएको छ। सेनाले उनलाई स्थानीय स्तरमा पिपल्स डिफेन्स फोर्स भनिने सरकारविरोधी मिलिसियालाई सहयोग गरेको आरोप लगाएको छ।

इफोमा ओजोमा

इफोमा ओजोमा, अमेरिका

सार्वजनिक नीति तथा प्रविधि विशेषज्ञ

आफ्नै गोपनीयता कायम राख्ने सहमति तोड्दै पूर्वरोजगारदाता पिन्ट्रेस्टलाई लैङ्गिक तथा जातीय विभेदको आरोप लगायत इफोमा ओजोमाले कार्यस्थलमा हुने दुर्व्यवहारबारे लड्न कर्मचारीहरूलाई सघाउन प्रतिबद्ध छन्। उनी साइलेन्स नो मोर एक्टकी सहप्रस्तावक हुन्। उक्त कानुनले क्यालिफोर्नियामा सबै कर्मचारीलाई गोपनीयतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे पनि विभेद र दुर्व्यवहारबारे सूचना सार्वजनिक गर्ने अवसर दिन्छ। पिन्ट्रेस्टले ओजोमाको आरोपपछि कार्यस्थल समीक्षा गरेको थियो र उसले सो विधेयकलाई समर्थन गर्ने जनाएको थियो।

ओजोमाले कर्मचारीहरूलाई खुलेर बोल्नका लागि सघाउने स्रोतको सङ्ग्रह द टेक वर्कर ह्यान्डबुक समेत बनाएकी छन्। र, उनले संस्थाहरूलाई प्रविधि उद्योगमा समताबारे सुझाव दिने अर्थसिड समेत स्थापना गरिन्।

स्यान्डी काब्रेरा आर्टेआगा

स्यान्डी काब्रेरा आर्टेआगा, होन्डुरस

प्रजनन अधिकारकर्मी

दर्शनशास्त्रकी विद्यार्थी, लेखक र नारीवादी अभियानकर्मी स्यान्डी काब्रेरा आर्टेआगा यौन तथा प्रजनन अधिकारवादी हुन्। उनले मर्निङ-आफ्टर पीलसम्बन्धी कार्यशालामा पढाउँछिन् र उनी 'आब्लेमोस लो के एस' (यो के हो भन्नेबारे चर्चा गरौँ) नामको एउटा शैक्षिक अभियान र आपत्कालीन गर्भनिरोधसम्बन्धी डिजिटल मञ्चकी प्रवक्ता हुन्।

उनी एक्सिओन योभेन (युथ एक्सन) मा समेत काम गर्छिन् जसले किशोर-किशोरीको मानवीय, लैङ्गिक र प्रजनन अधिकारमा केन्द्रित कामहरू गर्छ। उनी होन्डुरन साङ्केतिक भाषामा समेत पोख्त छिन्। श्रवण क्षमता नभएकी आमाकी एक्ली सन्तानका रूपमा उनी आफ्नो विविधतापूर्ण र मायालु हुर्काइप्रति गर्व व्यक्त गर्छिन्।

जुडी किहुम्बा

जुडी किहुम्बा, केन्या

साङ्केतिक भाषा बुझाउने व्यक्ति

केन्याका केही अस्पतालमा साङ्केतिक भाषा अर्थ्याउने व्यक्तिहरू नभएको थाहा पाएपछि स्वास्थ्य सेवामा हस्तक्षेप गरेर कान नसुन्ने र आमा बनेपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने आमाहरूका लागि पैरवी गर्ने जुडी किहुम्बाले सूचना उपलब्ध गराइन्।

उनी टकिङ ह्याण्डस्, लिसनिङ आइज अन पोष्टपार्टम डिप्रेसन (टीएएचएलईपी) की संस्थापक हुन्। उनले कान नसुन्ने आमाहरूलाई मद्दत गर्दै आएकी छन्। किहुम्बाले सन् २०१९ मा आफैँले आमा बनेपश्चात्‌ आफूले डिप्रेसन अनुभव गरेपछि उक्त संस्था खोलेकी थिइन्। यो वर्ष उनीहरूले गर्भवती आमाहरूको बच्चा जन्मिनुअघि पहिलो सामूहिक भेटघाट गरे जसमा परामर्शदाता र स्वास्थ्यकर्मीसहित ७८ जना कान नसुन्ने आमाहरू सहभागी थिए।

असोनेले कोटु

असोनेले कोटु, दक्षिण अफ्रिका

प्रविधि उद्यमी

असोनेेले कोटुले जब आफ्नै गर्भनिरोधक प्रत्यारोपण हटाउनका लागि कोही मद्दत गर्ने भेटिनन् त्यही बेला यो सम्बन्धी व्यवसायको उपाय उनमा सुझ्यो। उनले फेमकनेक्ट नामको संस्था स्थापना गरिन् जसले किशोरावस्थामा गर्भवती हुन कम गर्न त्यससम्बन्धी शिक्षा दिन्छ र महिनावारीका बेला चाहिने सामग्रीमा पहुँच पुर्‍याउने प्रविधि विकास गरेको छ।

फेमकनेक्टले प्रयोगकर्ताहरूलाई यौन र प्रजननसम्बन्धी औषधिहरूमा विभेदबिना पहुँच उपलब्ध गराउँछ। साथै अनलाइनमार्फत्‌ गर्भनिरोधक औषधि र प्याडजस्ता सामग्रीमा पनि खरिद गर्न सकिन्छ। महिनावारीका बेला अत्यावश्यक सामग्रीको अभाव निर्मूल पार्ने र गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच हुन सुधार गर्नुपर्ने विषयमा उनको चासो छ। उनी खासगरी त्यस्तो सेवा खतरामा रहेका युवा र सीमान्तकृत र सेवाबाट वञ्चित समुदायमा हुनुपर्ने ठान्छिन्।

हाम्रा आमाबुवाले जस्तै सङ्घर्ष अर्को पुस्ताले भोग्नु नपरोस् भनेरसमस्याको समाधान खोज्न युवाहरू प्रतिबद्ध भएको हेर्दा खुसी लाग्छ।

असोनेले कोटु

इरिना कोन्ड्राटोभा

इरिना कोन्ड्राटोभा, युक्रेन

बालरोग चिकित्सक

चर्को गोलबारीमाझ पनि डा. इरिना कोन्ड्राटोभा र उनको समूहले गर्भवती महिला, नवजात शिशु र खार्किभको प्रसुती केन्द्रमा रहेका आमाहरूको अथक रूपमा हेरचाह गर्न जारी नै राखेका थिए। उनीहरूले अस्पतालको भूमिगत तलामा प्रसूति वार्ड बनाएका थिए र सघन उपचार कक्षमा रहेका तर अन्यत्र सार्न नमिल्ने अवस्थाका बच्चाहरूको रेखदेखमा आफ्नो ज्यानको बाजी समेत लगाएका थिए।

उक्त्त केन्द्रकी प्रमुखका रूपमा डा. कोन्ड्राटोभाले आफूहरूले सामना गरिरहेको चुनौतीलाई विश्वसामु प्रस्तुत गर्न गत मार्च महिनामा प्रख्यात फुटबलर डेभिड बेकमको इन्स्टाग्राम एकाउन्ट सञ्चालन गरेर जानकारीहरू दिएकी थिइन्। उनको टोलीले सन् २०१४ देखि लुहान्स्क र डोनेत्स्कका ३,००० भन्दा बढी महिलाहरूलाई शारीरिक तथा मानसिक स्वास्थ्य सहायता प्रदान गरेको छ।

हाम्रो घर, सडक, ऊर्जा केन्द्र, अस्पताल र हाम्रो जीवन नै तहसनहस भएको छ। तर हाम्रा सपना,हाम्रा आशा र हाम्रा विश्वास जीवित छन् र ती पहिलेभन्दा बलिया भएका छन्।

इरिना कोन्ड्राटोभा

मरी क्रिस्टिना कोलो

मरी क्रिस्टिना कोलो, माडागास्कर

जलवायु उद्यमी

हरित सामाजिक उद्यमी तथा इकोफेमिनिस्ट मरी क्रिस्टिना कोलो कोप२७ मा सहभागी हुने माडागास्करको औपचारिक प्रतिनिधिमण्डलकी एक सदस्य हुन्। उनले जलवायु परिवर्तनको मानव अधिकार तथा लैङ्गिक पक्षको वकालत गर्छिन्। उनको देशले बारम्बार खडेरीको सामना गर्दै दशौँ लाखका लागि खाद्यान्नमा चुनौती थपेको छ। संयुक्त राष्ट्रसङ्घले त्यसलाई संसारको पहिलो जलवायु परिवर्तनले सिर्जना गरेको खडेरी भनेको छ।

कोलो एनजिओ पिपल पावर इन्क्लुसनकी क्षेत्रीय निर्देशक हुन् जसले हरित अर्थतन्त्रमार्फत् गरिबीसँग जुझ्ने उद्देश्य राखेको छ। उनको सामाजिक उद्यम ग्रीन'एन'कुल जलवायु न्यायको क्षेत्रमा अग्रणी राष्ट्रिय मञ्चको रूपमा छ। लैङ्गिक हिंसाबाट बचेकी महिलाको रूपमा उनले विमिन ब्रेक द साइलेन्स नामक अभियान सुरु गरिन् जो बलात्कारविरुद्ध काम गर्छ।

हामी जलवायुको असर, पितृसत्ता र हिंसाका निरीह पीडितको रूपमा मात्र देखिन चाहन्नौँ। जब हामीले सबै कठिनाइबीच समेत महिलाप्रतिरोधी बन्न सकेको देख्छौँ त्यो बेला म निकै आशावादी गौरवान्वित महसुस गर्छु।

मरी क्रिस्टिना कोलो

डिलेक गुर्सोइ

डिलेक गुर्सोइ, जर्मनी

मुटु शल्य चिकित्सक

जर्मनीमा टर्किश आप्रवासी आमाबुवाबाट जन्मेकी डा. डिलेक गुर्सोइ एक अग्रणी मुटु शल्य चिकित्सक र कृत्रिम मुटु विशेषज्ञ हुन्। जर्मनीमा उनको चर्चा फोर्ब पत्रिकाको अग्रपृष्ठमा समेत भएको छ। उक्त पत्रिकाले उनलाई कृत्रिम मुटु प्रत्यारोपणको शल्यक्रिया गर्ने युरोपकै प्रथम महिला शल्य चिकित्सक भनेर प्रशंसा गरेको छ।

उनी गत एक दशकभन्दा लामो समयदेखि कृत्रिम मुटुको विषयमा अनुसन्धानको अग्रस्थानमा छिन्। उनी अङ्गदानको दर न्यून रहेको अवस्थामा मुटु प्रत्यारोपणको विकल्पमा के व्यवस्था हुन सक्छ भन्नेमा काम गरिरहेकी छन्। र, उनको विशेष रुचि महिला शरीर विज्ञानमा रहेको छ। उनले आफ्नो आत्मकथा लेखेकी छन् र अब आफ्नै मुटु क्लिनिक स्थापना गर्न लागेकी छन्।

वेगाता गेब्रेयोहानेस अबेरा

वेगाता गेब्रेयोहानेस अबेरा, टिग्रे, इथियोपिया

मानवीय सहायताकर्मी

मानवीय सहायताकर्मी वेगाता गेब्रेयोहानेस अबेराले टिग्रेमा युद्धका कारण उब्जिएको कुपोषणको समसया निराकरण गर्न सघाउन हड्रिना नामक एउटा गैरनाफामूलक संस्था स्थापना गरिन्। युद्ध प्रभावित महिला तथा बालबालिकालाई सघाउन हड्रिनाले कैयौँ आयोजना सञ्चालन गरेको छ जसमा आन्तरिक विस्थापितहरूको शिविरमा पोषण कार्यक्रम अनि सहरी क्षेत्रमा बगैँचा विकासका कार्यक्रम रहेका छन्।

उक्त सङ्गठनले द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका पीडितहरूलाई महिला सशक्तीकरणका कार्यक्रम गर्नेदेखि लिएर युद्धले उब्जिएको गरिबीका कारण यौनकर्म गर्न बाध्य महिलाहरूलाई सहयोग गर्ने कार्यक्रम गर्दछ।

याना जिन्केभिक

याना जिन्केभिक, युक्रेन

राजनीतिज्ञ एवं चिकित्सकीय स्वयं सेवक

युद्धको अग्रपङ्क्ति रहेर जीवन बचाउने हस्पिटलर्स स्वयंसेवी संस्था हो। याना जिन्केभिकले नेतृत्वमा रहेको यस संस्थाले युद्ध मैदानबाट मानिसहरूको उद्धार गर्छन्। जिन्केभिक विद्यालयबाट निस्किएपछि चिकित्सकीय स्वयंसेवामा होमिएकी हुन् र सन् २०१४ मा देशमा द्वन्द्व सुरु भएसँगै उक्त संस्था स्थापना गरेकी हुन्।

उनले व्यक्तिगत रूपमा दुई सय घाइते सैनिकलाई सुरक्षित स्थानमा पुर्‍याएकी छन्। उनको समूहले सैनिक र सर्वसाधारणलाई प्राथमिक उपचार उपलब्ध गराउने, चिकित्सकीय तालिम दिने लगायत काम गर्दै आएका छन् र हालसम्म करिब ६,००० उद्धार कार्य गरेका छन्। २७ वर्षीया उनी युक्रेनी संसद्को कान्छा सदस्यहरूमध्ये एक हुन्। उनी सैन्य चिकित्सा उपसमितिकी प्रमुख समेत हुन्।

युलिआ पायभस्का

युलिआ पायभस्का, युुक्रेन

पारामेडिक स्वास्थ्यकर्मी

युक्रेनकी एक प्रतिष्ठित नागरिक पारामेडिक र एउटा स्वयंसेवी मेडिकल युनिट ताइराज् एन्जल्सकी संस्थापक हुन् पायभस्का। ताइराज् एन्जल्सले सयौँ नागरिक र सैनिकको ज्यान जोगाएको श्रेय पाएको छ। ताइराको नामले परिचित उनलाई मे महिनामा रुसी फौजले कब्जामा लिएका थिए। पक्राउ पर्दा उनी मारिऊपोल सहरबाट सर्वसाधारणहरूलाई बाहिर निस्कन सघाउँदै थिइन्।

घेराबन्दीमा परेको सहरमा उनले आफ्नो टोलीको काम रेकर्ड गर्न शरीरमा जडित क्यामेरा प्रयोग गरेकी थिइन् र ती फुटेजहरू सञ्चारमाध्यमलाई उपलब्ध गराइएका थिए। तीन महिनामा रिहा भएपछि पायस्काले बन्दी अवस्थामा आफूप्रति गरिएको निर्मम व्यवहार र त्यहाँको कस्टकर अवस्थाबारे बोल्दै त्यसलाई ''नर्क''सँग तुलना गरिन्।

सम्रावित फिक्रु

सम्रावित फिक्रु, इथियोपिया

प्रविधि उद्यमी

सत्र वर्षको उमेरसम्म पनि कम्प्युटर प्रयोग गर्न नपाएकी तर हाल कम्प्युटर प्रोगामर सम्रावित फिक्रु हाइब्रिड डिजाइन्स नामको कम्पनीकी संस्थापक हुन्। उनको कम्पनी इथियोपियाको ट्याक्सी एप राइडमा संलग्नहरूमध्येको एक हो।

कामबाट फर्किँदा ट्याक्सी लिनुपर्ने अवस्थामा अनुभव हुने असुरक्षाको अवस्था अनि अतिरिक्त पैसा लिन खोज्ने ट्याक्सी चालकहरूसँग भाडामा मोलमोलाइ गर्नु पर्दाको दिक्दारीजस्ता कुराले उनलाई त्यस्तो एप निर्माण गर्न प्रेरित गर्‍यो। उनले त्यो दुईहजार डलरभन्दा कम खर्चमा तयार पारेकी हुन्। उनको कम्पनीमा अहिले धेरैजसो कर्मचारी महिला छन्। इथियोपियाको प्रविधि उद्योगमा थोरै मात्र महिलाहरू संलग्न छन् र फिक्रु त्यस्तो अवस्थामा परिवर्तन ल्याउन चाहन्छिन् र अर्को पुस्ताका महिला प्रविधि उद्यमीहरूलाई प्रेरित गर्न चाहन्छिन्।

महिलाको स्वामित्व रहेको व्यवसायहरूको सङ्ख्या बढिरहेको छ। र, अब हामीले बढीभन्दा बढी युवा महिलालाई तिनको सिर्जनात्मक सोचलाई मूर्तरूप दिनका लागि रकममा पहुँच दिनु आवश्यक छ।

सम्रावित फिक्रु

निलुफर बयानी

निलुफर बयानी, इरान

इकोलोजिस्ट

संरक्षणकर्मी निलुफर बयानी सन् २०१८ मा लोपोन्मुख प्रजातिको निगरानीका लागि क्यामेराहरूको प्रयोग गरेपछि इरानमा बन्धक बनाइएकी कैयौँ वातावरणकर्मीमध्ये एक हुन्। उनीहरूलाई रणनीतिक रूपमा संवेदनशील क्षेत्रका गोप्य सूचनाहरू सङ्कलन गरेको आरोप लगाइएको थियो र बयानीलाई १० वर्षको जेल सजाय सुनाइयो।

बयानी पर्सियन वाइल्डलाइफ हेरिटेज फाउन्डेसनकी कार्यक्रम प्रबन्धकका रूपमा एशियाली चिता र अन्य प्रजातिको संरक्षणका लागि प्रतिबद्ध थिइन्। बीबीसी पर्सियनले प्राप्त गरेको एउटा दस्तावेजमा उनले इरानको रेभोल्युशनरी गार्ड्स कर्प उनलाई "सबैभन्दा कडा मानसिक, संवेगात्मक र शारीरिक तनाव दिएको र कम्तीमा १,२०० घण्टासम्म यौन आक्रमणसम्बन्धी धम्कीहरू" दिन जिम्मेवार रहेको जनाइएको छ। इरानी अधिकारीहरूले ती आरोपहरू अस्वीकार गरेका छन्।

सिरिसा बान्द्ला

सिरिसा बान्द्ला, भारत

एरोनोटिकल इन्जिनिएर

सिरिसा बान्द्ला सन् २०२१ को ऐतिहासिक युनिटि २२ मिशनअन्तर्गत पृथ्वी र अन्तरिक्षबीचको सीमामा पुगेकी थिइन्। त्यो भर्जिन ग्यालेक्टिकको पहिलो पूर्ण चालकदल सहितको उप-कक्षिय अन्तरिक्ष उडान थियो। अन्तरिक्षमा पुग्ने उनी भारतमा जन्मेकी दोस्रो महिला बन्न पुगेकी छन्।

सानो उमेरदेखि नै अन्तरिक्षप्रति अभिरुचि भएकी बान्द्लाले अमेरिका एरोनोटिकल इन्जिनिएरिङ पढेकी छन्। उनी हाल भर्जिन ग्यालेक्टिकमा सरकारी मामिला र अनुसन्धान कार्य विभागकी उपाध्यक्ष छिन्। त्यो भूमिकामा उनले अनुसन्धान चाहने ग्राहकहरूसँग मिलेर भिजिको अन्तरिक्ष यानमा विज्ञान तथा प्रविधि परीक्षणहरूको संयोजन गर्ने गर्छिन्।

Sunny Leone

सन २०१६ कि विजेता अभिनेत्री सनी लियोनीबाट मनोनित

"पुरुषप्रधान उद्योगमा सबै अवरोधहरूलाई छिचोल्दै आफ्नो कडा परिश्रम र समर्पण भावका आधारमा अघि बढेर सिरिसाले जे हासिल गरेकी छन् त्यसले मलाई र अझ महत्त्वपूर्ण कुरा, उस्तै सपना भएका सबै युवतीहरूलाई प्रेरणाको स्रोत बताएको छ।"

भिक्टोरिया बाप्टिस्ट

भिक्टोरिया बाप्टिस्ट, अमेरिका

नर्स र खोपबारे जानकारी दिने व्यक्ति

भिक्टो्रिया बापटिस्ट अमेरिकाको मेरिल्यान्ड राज्यमा नर्स हुन्। उनी मानिसहरूलाई खोपबारे जानकारी दिन्छिन्। अश्वेत समुदाय किन चिकित्सकीय हस्तक्षेपबारे सन्दिग्ध हुन्छन् भन्ने बुझ्छिन्। बाप्टिस्ट हेनरिट्टा ल्याक्सकी वंशज हुन् जसको सन् १९५१ मा पाठेघरको मुखको क्यान्सरबाट निधन भएको थियो। ल्याक्सको अनुमतिबिना नै कोषिका निकालेर प्रयोगशालामा पहिलो पटक विकास गरिएको थियो।

हेला कोषिका भनिने उनको कोषिकाहरूलाई त्यसयता चिकित्सकीय अनुसन्धानमा प्रयोग हुँदै आएको छ। तर उनको परिवारलाई त्यसबारे थाहा थिएन। हेनरिट्टा ल्याक्स फाउन्डेसनमा आवद्ध बाप्टिस्ट अहिले पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि विश्व स्वास्थ्य सङ्गठनकी सद्‌भावना राजदूत पनि हुन्।

मारिना भियाजोभ्स्का

मारिना भियाजोभ्स्का, युक्रेन

गणितज्ञ

युक्रेनकी गणितज्ञले यो वर्ष प्रतिष्ठित फिल्ड्स मेडल जितिन् जसलाई गणितको नोबेल पुरस्कार पनि भन्ने गरिन्छ। सो उपाधि जित्ने उनी इतिहासकी दोस्रो महिला हुन्। यो पुरस्कार हरेक चार वर्षमा एक पटक दिइन्छ। एउटा ४०० वर्ष पुरानो गणित समस्या हल गरेका कारण उनले सो पुरस्कार जितेकी हुन्। उक्त समस्या गोलाकार स्फेअरहरूलाई आठ आयाम भएको स्पेसमा सबभन्दा सहज तवरले राख्नेसँग सम्बन्धित छ।

लुजानस्थित स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीमा भियाजोभ्स्का प्राध्यापक छिन् र इन्स्टिच्युट अफ म्याथम्याटिक्समा उनी चेअर अफ नम्बर थ्योरी छिन्।

निगार मार्फ

निगार मार्फ, इराक

नर्स

इराकी कुर्दिस्तानको अस्पतालको बर्न युनिटकी हेड नर्सकी रूपमा निगार मार्फले आफैँलाई जलाएका महिलाहरूको उपचार गर्नुपर्थ्यो। विरोधस्वरूप आफैँलाई जलाउने चलन उक्त क्षेत्रका महिलाहरूमा अझै व्याप्त छ।

मार्फले बालबालिकाको बर्न युनिट तथा सघन उपचार कक्षमा काम गरेको २५ वर्ष बितिसक्यो। दुर्घटनावश शरीर जलेकाहरूको उपचारमा पनि उनी सामेल भएकी छन्। उनले उपचार गरेका कैयौँ महिलाले मानसिक तथा शारीरिक हिंसा बेहोरेका हुन्छन्। कतिपय त १६ वर्ष मात्र पुगेका पनि छन्।

मोनिका मुसोन्डा

मोनिका मुसोन्डा, जाम्बिया

महिला उद्यमी

कर्पोरेट वकिलबाट व्यवसायी बन्न पुगेकी मोनिका मुसोन्डा दक्षिणी अफ्रीकी क्षेत्रमा जाम्बियास्थित जाभा फुड्स नामको खाद्य प्रशोधन कम्पनी र तयारी चाउचाउ उत्पादककी प्रमुख कार्यकारी अधिकारी हुन्। जाम्बियामा हुने गहुँको प्रचुर उत्पादन र उपभोक्ताका व्यवहारमा परिवर्तन आएसँगै सहजै उपभोग गर्न मिल्ने खानेकुराको माग बढिरहँदा सुपथ मूल्यमा खाद्य उत्पादनहरू तयार पार्ने उनको दूरगामी सोच रहेको छ।

पोषण अभियानकर्मी पनि रहेकी, मुसोन्डाले अन्य कैयौँ महिला उद्यमीलाई मार्गनिर्देशन पनि गर्छन्। र, व्यवसायमा लागेका महिलाहरूलाई असर पार्ने विषयहरूमा बोल्ने पनि गर्छिन्। उनले थुप्रै पुरस्कारहरू जितेकी छिन् र अफ्रिकाको कृषि तथा खाद्य प्रणालीलाई बलियो बनाउने उनको कामका लागि प्रतिष्ठित पनि छिन्।

जेन रिग्बी

जेन रिग्बी, अमेरिका

खगोल वैज्ञानिक तथा एस्ट्रोफिजिसिस्ट

नासाकी एस्टोफिजिसिस्ट डा. जेन रिग्बीले कस्मिक समयमा कसरी ग्यालेक्सी विस्तार हुँदै जान्छ भन्ने अध्ययन गरेकी छन्। उनी विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष टेलिस्कोप जेम्स वेब सार्वजनिक गर्ने र प्रयोगमा ल्याउने अन्तर्राष्ट्रिय समूहको एक मुख्य वैज्ञानिक हुन्।

रिग्बीले १०० भन्दा धेरै वैज्ञानिक शोधपत्र प्रकाशित गरेकी छन् भने आफ्नो अध्ययनका लागि कैयौँ पुरस्कार समेत जितेकी छन्। उनी स्टिम भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा समता र समावेशीताको वकालतकर्ता हुन्।

जब म विद्यार्थी थिएँ, म कुनै पनि एलजिबीटिक्यू आदर्श व्यक्तिहरूबारे परिचित थिइनँ। म आशा गर्छु कि म त्यस्तो अन्तिम त्यस्तो पुस्ताको हिस्सा हुँ जो क्वेर आदर्शबिनै हुर्कियो।

जेन रिग्बी

नाजा लिबर्थ

नाजा लिबर्थ, ग्रीनल्यान्ड

मनोविद्‌

ट्रमा थेरापिस्ट नाजा लिबर्थ १३ वर्षकी मात्र हुँदा उनमा कोइलका रूपमा चिनिने पाठेघरमा राखिने आईयूडी उपकरण जडान गरिएको थियो। त्यो जन्मनिरोधक अभियान सन् १९६० र ७० को दशकमा डेनिस डाक्टरहरूले इन्युइट ग्रीनल्यान्डर्समा सञ्चालन गरेका थिए। झण्डै ४,५०० महिला तथा युवतीहरूलाई असर गरेको उक्त अभ्यासबारे यस वर्ष डेनमार्क र ग्रीनल्यान्डले अनुसन्धान गर्न औपचारिक रूपमा सहमति गरेका छन्।

लिबर्थको अभियानले ती महिला र कोइलका कारण प्रजनन क्षमतामा असर परेको ठान्ने महिलालाई समेट्छ। उनले महिलाहरूलाई फेसबुक समूहमार्फत् एकअर्कासँग जोडिने र सहायता गर्ने माध्यम बनाएकी छन्।

थप पीडित महिलाहरू एकअर्काका लागि आदर्श बनेका छन्। अरूले अनावश्यक मूल्याङ्कन गर्दैनन् भन्ने थाहा पाउँदा संवादले उनीहरूमा धेरैजसो त्रास हटाउँछ। हामी हाम्रो डरबाट नियन्त्रित हुन सक्दैनौँ।

नाजा लिबर्थ

एरिका लिरियानो

एरिका लिरियानो, डोमिनिकन रिपब्लिक

कोको उद्यमी

कोको आपूर्ति सञ्जालको पुनर्कल्पनाको उद्देश्यसहित एरिका लिरियानोले डोमिनिकन रिपब्लिमा एउटा नाफामूलक निर्यात गर्ने स्टार्ट-अप चलाउँछिन्। उनले आफ्नी बहिनी जनेटसँग मिलेर इनारो नामक नाफामूलक संस्था सहस्थापना गरिन्। उनीहरूको उद्देश्य कोकोको उत्पादन र वितरण निस्पक्ष र थप दिगो बनाउने थियो। यो वर्ष उनीहरूको स्टार्ट-अपले संस्थाका लागि सुरुवाती कोष प्राप्त गरेको छ।

ऐतिहासिक रूपमा, कोको उद्योग साना किसानहरूका लागि शोषण गर्ने खालको थियो, तर उनीहरूको कम्पनीले डोमिनिकका उत्पादकहरूलाई उचित ज्याला दिने प्रत्याभूत गरेको छ। न्यूयोर्कमा जन्मिएका दिदीबहिनीका आमाबुवा डोमिनिकन रिपब्लिकमा किसान र उद्यमी थिए। अहिले यी दिदीबहिनी देशैभरिका महिलाद्वारा सञ्चालित कृषि, सहकारी र उत्पादकहरूसँग साझेदारी गरेर काम गर्छन्।

आफ्नो मार्ग आफैँ पहिल्याउने शक्तिमा सबै मानिसहरूको अधिकार हुनुपर्छ। त्यसमा महिलाले आफ्ना लागि कस्तो खालको जीवन चाहन्छिन् भन्ने पनि पर्छ।

एरिका लिरियानो

आइनुरा सग्यन

आइनुरा सग्यन, किर्गिस्तान

इन्जिनियर

कम्प्युटर इन्जिनियर, पर्यावरण अधिकारकर्मी/नारीवादी र एक स्टार्टअपकी सीईओ आइनुरा सग्यनले आफ्नो क्षमता वातावरणीय समस्याको समाधानका लागि प्रविधिमा आधारित उपायहरू निकाल्नमा खर्चिरहेकी छन्। उनले टजार नामको एउटा एप स्थापना गरिन् जसले फोहोर उत्पादन गर्नेहरू (घर, व्यक्ति, रेष्टुराँ, कम्पनी र निर्माण क्षेत्र)लाई त्यसको पुनर्प्रयोग गर्नेसँग जोड्ने काम गर्छ। उक्त एपले ल्यान्डफिल्मा थुप्रिने फोहोरको मात्रा कम गर्दै मध्य एशियाली देशहरूमा दिगो विकाससम्बन्धी समस्यासँग जुझ्ने काम गर्ने उद्देश्य राखेको छ।

उनले किर्गिस्तानमा कोडिङ र स्टिम भनिने विज्ञान, प्रविधि, इन्जिनियर र गणितसम्बन्धी २,००० भन्दा धेरै स्कुलमा पढ्ने बालिकाहरूलाई कार्यशालाको नेतृत्व गरेकी छन्।

जलवायुसम्बन्धी विषयमा महिलाको नेतृत्व र सहभागिताबिना यस ग्रहलाई दिगो बनाइराख्न असम्भव देखिन्छ। त्यसले लैङ्गिक समानताको पक्ष समेत बोध गराउनेछ।

आइनुरा सग्यन

मोनिका सिम्पसन

मोनिका सिम्पसन, अमेरिका

प्रजनन न्याय अभियानकर्मी

अमेरिकाका दक्षिणी राज्यहरूमा अश्वेत महिलाहरूका निम्ति प्रजनन न्यायको क्षेत्रमा काम गर्दै आएको सिस्टरसङ संस्थाकी कार्यकारी निर्देशक मोनिका सिम्पसन यौन तथा प्रजनन अधिकारका निम्ति लड्दै आएकी छन्। अमेरिकाको सर्वोच्च अदालतले यो वर्ष रो भर्सस वेडको पुरानो फैसला उल्टने किसिमको निर्णय गरेपछि देशभरि कानुनी गर्भपतनबारे मुद्दा फेरि बहसमा आएको थियो।

सिम्पसन एक गायिका र वाचिका पनि हुन्। उनले आफ्नो कला र अभियानको संयोजन गरेकी छन्। साथै उनले गर्भवती महिलाहरूलाई परामर्श दिने काम पनि गर्छिन्। उनी ब्ल्याक मामाज म्याटर अलायन्सकी संस्थापक सदस्य हुन् जसले अश्वेत मातृ स्वास्थ्यको क्षेत्रमा काम गर्छ।

सोफिया हाइनोनेन

सोफिया हाइनोनेन, आर्जेन्टिना

संरक्षणविद्

जैविक विविधता संरक्षण गर्न कटिबद्ध जीवशास्त्री सोफिया हाइनोनेनले दक्षिण अमेरिकामा विभिन्न प्रजाति लोप हुने सङ्कटलाई उल्ट्याउन आर्जेन्टीनाको मुख्य सिमसार प्रणाली एस्टेरोस डेल इबेरा पुनर्स्थापित गर्ने अभियानको अगुवाइ गरिन्। यो विश्वकै सबैभन्दा ठूलो सिमसारमध्ये पर्छ। संरक्षित क्षेत्र निर्माणमा उनले ३० वर्षदेखि योगदान दिँदै आएकी छन्।

उनको नेतृत्वमा रिवाइल्डिङ आर्जेन्टिना अभियान मुख्य चार क्षेत्रमा सक्रिय छ जसमा पाटागोनिया स्टेपी पनि पर्छ। यस अभियानअन्तर्गत निजी भूमिलाई संरक्षित राष्ट्रिय निकुञ्जमा परिणत गर्ने अनि मौलिक प्रजातिलाई पुनर्स्थापित गरेर दिगो पर्यापर्यटन निर्माण गर्ने काम पर्छन्।

किमिको हिराता

किमिको हिराता, जापान

जलवायु अभियानकर्मी

कोइलाबाट उत्पादन हुने ऊर्जाको चर्को रूपमा विरोध गर्ने किमिको हिराताले आफ्नो झण्डै आधाजसो समय जापानालाई जैविक इन्धनबाट मुक्त पार्ने उद्देश्यको लडाइँमा खर्च गरिन्। जैविक इन्धन अहिले जलवायु परिवर्तनका लागि सबैभन्दा धेरै योगदान पुर्‍याउँछ। तल्लो तहमा केन्द्रित उनको अभियानले १७ वटा बन्न लागेका कोइला ऊर्जा प्लान्टलाई रद्द पारेको छ। उनी गोल्डम्यान इन्भारोमेन्टल पुरस्कार जित्ने प्रथम जापानी महिला हुन्।

हिराताले सन् १९९० को दशकमा जलवायु अभियानकर्मी बन्नका लागि प्रकाशन गृहको जागिर छाडेकी थिइन्। अल गोरेको पुस्तक अर्थ इन द ब्यालेन्स पढेपछि उनले त्यस्तो निर्णय लिएकी थिइन्। हाल उनी एक स्वतन्त्र संस्था क्लाइमेट इन्टिग्रेटकी कार्यकारी निर्देशक हुन्। सन् २०२२ को ज्यानुअरीमा स्थापित उक्त संस्थाले डिकार्बोनाइजेशन भनिने कम कार्बन उत्सर्जन हुने ऊर्जाका स्रोतहरूबारे काम गर्छ।

१०० विमिन - बीबीसी विश्व सेवा

१०० विमिन के हो?

बीबीसी १०० विमिन, (बीबीसी १०० महिलाहरू) ले हरेक वर्ष संसारभरिका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम प्रस्तुत गर्ने गर्दछ। हामी तिनका जीवनकाबारेमा डक्युमेन्ट्रीहरू, फिचरहरू र अन्तर्वार्ताहरू प्रस्तुत गर्छौँ- त्यस्ता कथाहरू जस्ले महिलालाई केन्द्रमा राख्ने गर्छन्।

BBC 100 Women लाई इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा फलो गर्नुहोस्। र #BBC100Women प्रयोग गरेर छलफलमा सहभागी हुनुहोस्।

१०० महिला कसरी छानिन्छ?

बीबीसीको १०० विमिन टोलीले आफैँले भेला पारेका र बीबीसीको विश्व सेवाका भाषा सेवाका टोलीहरूको सुझावका आधारमा सूची तयार पार्ने गर्दछ। हामी गत १२ महिनामा समाचार शीर्षक बन्न पुगेका वा महत्त्वपूर्ण समाचार सामग्रीका प्रेरणा बन्न पुगेकाहरूको खोजी गर्ने गर्छौँ। साथसाथै हामी प्रेरणादायी भोगाइ भएकाहरू,उल्लेखनीय उपलब्धि हासिल गरेकाहरू वा समाचार नै नबने पनि आफ्नो समाजमा उल्लेख्य प्रभाव पार्न सफलहरूलाई पनि हामी सूचीमा समावेश गर्छौँ। त्यसरी बटुलिएका नामहरूबाट यो वर्षको मुख्य नारासँग मेल खाएकाहरूलाई छान्ने गर्छौँ, जुन गत दशकमा विभिन्न क्षेत्रहरूमा हासिल भएका प्रगतिसँग सम्बन्धित छ।

हामीले त्यस्ता शीर्षकहरू छानेका छौँ जसमा एकै खाले विचार मात्र हुँदैनन् जस्तै प्रजनन् अधिकार जहाँ एक महिलाको प्रगति अर्काका लागि प्रगति नहुन पनि सक्छ। र, मनोनयनमा परेका महिलाहरूले आफै आफ्ना परिवर्तनहरूको सिर्जना गरेका छन्। रऽ अन्तिम नामहरू सार्वजनिक गर्नुअघि सूची तयार पार्दा क्षेत्रीय प्रतिनिधित्वको सन्तुलनका साथै उपयुक्त निष्पक्षताको आधारलाई पनि ध्यानमा राखिएको छ।

सूचीमा समावेश केही महिलाहरू तथा तिनको परिवारजनको सुरक्षालाई ध्यानमा राख्दै तिनीहरूको पूर्ण स्वीकृतिमा र बीबीसीको सम्पूर्ण सम्पादकीय नीति र सुरक्षा निर्देशिकाको पालना गर्दै तिनको नाम उल्लेख गरिएको छैन र केहीको थर उल्लेख गरिएको छैन।

र 5050० शारीरिक मार्गदर्शन खरीद विषय विषय अर्थशास्त्र संरचना भाषा उपकरण हाम्रो स्वामित्वको भारतीय अन्तर्राष्ट्रियकरण वास्तविक क्षमता। प्राधिकरण एक खरीद हो, विश्लेषण बिना। उष्कीले हालको पहिचान मार्गनिर्देशन अनुवादक अमितकुमार सुनात मानव निर्देशन छनौट गर्न सक्षम भईरहेको देखिन्छ

शून्यकरण लगभग भइसकेको छ, तर प्रयोगकर्ता जानकारी प्रदान गर्न सकिन्छ। तर स्थापना भएको पूरा कुराकानी तोड्न सकिन्न, तर निर्देशनहरू सुधार गर्न सकिन्छ। पहिलो भनेको संसारलाई समाजको रूपमा कायम गर्नु हो। भाषा भनेको समाजको भाषा हो।

Click here to test multiple includes on one page