बीबीसीले सन् २०२३ का लागि संसारभरका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूची प्रकाशित गरेको छ।
उक्त सूचीमा वकिल तथा अमेरिकाको भूतपूर्व प्रथम महिला मिशेल ओबामा, मानवअधिकारवादी वकिल अमाल क्लूनी, बालोन डोर विजेता फुटबलर आइटना बोनमाटि, एआई विज्ञ टिमनिट गेब्रु, महिलावादी नेत्री ग्लोरिया स्टाइनेम, हलिवुड स्टार अमेरिका फरेरा र सौन्दर्य व्यवसायी हुदा कत्तान।
चरम गर्मी, डढेलो, बाढी तथा अन्य प्राकृतिक विपद्हरू समाचार शिर्षक बनेको यो वर्षमा यो सूचीले आफ्ना समुदायलाई जलवायु परिवर्तनसँग जुध्न र त्यसका परिणामसँग अनुकुलन हुन सघाइरहेका महिलाहरूलाई पनि समेटेको छ।
बीबीसी १०० विमिनमध्ये हामीले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने २८ जना अग्रणी व्यक्तिको नाम संयुक्त राष्ट्रसङ्घको कोप२८ सम्मेलन शुरू हुनुअघि चयन गरेका हौँ।
सूचीका नामहरू कुनै निश्चित क्रमअनुसार छैनन्
परम्परागत पशुपालक
वखी गोठालाका अन्तिममध्ये एक अफरोज-नुमाले करिब तीन दशकसम्म खसीबाख्रा, याक र भेडाको रेखदेखमा बिताएकी छन्।
आफ्नी आमा र हजुरआमाहरूबाट व्यवसाय गर्न सिकेकी उनी एक शताब्दी पुरानो परम्पराको हिस्सा हुन्। पाकिस्तानको शिम्शाल उपत्यकामा उक्त परम्परा अहिले लोप हुने क्रममा छ।
हरेक वर्ष गोठालाहरू समुद्र सतहदेखि ४,८०० मिटर उचाइमा भेडा, बाख्रा चराउन जान्छन्। चराउने सिलसिलामा उनीहरू दुग्धजन्य सामान बनाउँछन्।
उनीहरूको आम्दानीले गाउँमा समृद्धि ल्याउएको छ भने त्यसबाट बालबच्चालाई शिक्षा दिलाउन पनि सघाउ पुगेको छ। शिम्शाल उपत्यकामा जुत्ता लगाउने पहिलो महिला बनेको दिन उनी अझै सम्झन्छिन्।
दीगो पर्यटनसम्बन्धी विज्ञ
भ्रमण र पर्यटन क्षेत्रका थोरैमध्येकी एक विज्ञ सुजेन इट्टी यो क्षेत्रलाई थप दीगो भविष्यतर्फ लैजाने कुरामा असाध्यै प्रतिबद्ध छिन्।
विश्वव्यापी वातावरणीय असरको व्यवस्थापकका रूपमा उनले काम गर्ने इन्ट्रेपिड ट्राभल विज्ञानमा आधारित कार्बन घटाउने लक्ष्य राख्ने पहिलो कम्पनी बनेको छ। उक्त कम्पनीले सानो समूहमा साहसिक यात्रा गराउने काम गर्छ।
इट्टीले कार्बन घटाउन चाहने व्यवस्थायका लागि एउटा ओपन-सोर्स गाइड लेखेकी छन्। उनी टुरिजम् डिक्लेयर्स नामक ४०० भन्दा बढी यात्रा गराउने संस्था, कम्पनी र मानिसहरूको समुदायकी एक मुख्य सदस्य हुन्। उक्त समुदायले जलवायु आपत्कालको घोषणा गरेको छ।
जलवायुप्रति जनाउनुपर्ने कदमको महत्त्वबारे धेरै व्यवसायले पहिचान गर्न थालेका छन् र उनीहरूले वातावरणीय असर कम गर्न महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् भने नवीकरणीय उर्जामा लगानी गर्न र उत्सर्जन घटाउने दीर्घकालीन लक्ष्यप्रति प्रतिबद्ध छन्।
सुजेन इट्टी
हरित ऊर्जा परामर्शदाता
ताजिकिस्तानको दुर्गम भागमा बस्ने महिलाहरूको बिजुली र दाउरा जस्ता ऊर्जाका स्रोतमा पहुँच कम छ। वातावरणीय परोपकारसम्बन्धी परियोजनाकी सहसंयोजक नतालिया इद्रिसोभा त्यो समस्याको व्यावहारिक समाधान खोज्न सघाउँछिन् र महिलाहरूलाई प्राकृतिक स्रोत तथा कम ऊर्जा खपत गर्ने प्रविधि र सामानबारे शिक्षा दिन्छिन्।
प्रशिक्षण दिने कामबाहेक उनको संस्थाले ऊर्जा बचत गर्ने उपकरण उपलब्ध गराउने, सौर्य भान्सा र प्रेसर कूकर दिलाउने र महिलाहरूलाई लैङ्गिक समानताको क्षेत्रमा सघाउँछ।
अपाङ्गता भएका मानिसहरूलाई जलवायु परिवर्तनले कसरी प्रभावित पार्छ र राजनीतिक छलफलमा ती आवाजलाई कसरी समेट्न लगाउने भन्नेबारे अहिले इद्रिसोभाले समुदायमा प्रशिक्षण दिन्छिन्।
संसारमा हुने चरम घटनाहरूलाई हामी प्रकृतिसँग अलग रहन सक्दैनौँ भनेर हामीलाई अन्तिम चेतावनी दिन्छन्। हामीले प्रकृतिलाई दोहन गरिरहँदा त्यसको गम्भीर परिणाम भोग्न नपर्ने हुन सक्दैन।
नतालिया इद्रिसोभा
ट्रक चालक
ट्र्रक चालक क्लारा एलिजाबेथ फरागुजू उगार्टेले पुरुषहरूको वर्चस्व रहेको सो क्षेत्रमा १७ वर्ष बिताएकी छन र मेक्सिकोका खतरनाक सडकहरूमा ट्रक चलाएकी छन्।
मूल थलो डुराङ्गो भएकी फरागुजु उगार्टेको १७ वर्षको उमेरमा बिहे भयो। चार सन्तानकी आमा रहेकी उनका सातजना नातिनातिना छन्।
मेक्सिकोमा "ट्रेलेरा" भनिने महिला ट्रक चालक फरागुजु उगार्टेले मेक्सिको र संयुक्त राज्य अमेरिकामा सामान पुर्याउने काममा समय व्यतीत गरेकी छन्।
उनी युवा चालकहरूलाई प्रशिक्षण दिने काममा सघाउँछिन् र भारी सामान ओसारपसार गर्ने ट्रक व्यवसायमा लैङ्गिक समानता कायम गराउने उनको उद्देश्य छ।
विद्यालय शिक्षिका
अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनापछि फ्लोरिडामा जवान भएकी शिक्षा सारा ओट गलत सूचनाको शिकार भएको बताउँछिन्।
विज्ञान पढेको भए पनि साँच्चिक जलवायु परिवर्तन भइरहेको होला भन्नेबारे बेलाबखत उनलाई शङ्का लाग्थ्यो।
सत्य खोज्ने क्रममा आफू गलत रहेको थाहा पाउनु उनको पहिलो खुड्किलो भयो। उनको यात्राले अहिले उनलाई न्याश्नल सेन्टर फर साइन्स एडुकेशनको जलवायु परिवर्तनसम्बन्धी दूत बनाएको छ।
हाल जोर्जियामा बस्दै आएकी उनले जलवायु परिवर्तनको विषयलाई भौतिक विज्ञानका अवधारणा आफ्ना विद्यार्थीलाई बुझाउन प्रयोग गर्छिन् र आफ्नाो समुदायमा वातावरणीय विषयबारे जनचेतना जगाउँछिन्।
हुन त जलवायु परिवर्तनको विषयमा भएभरको शक्ति लगाउनुपर्ने अवस्था हो, तर हामी एक्लैले मात्रै सबै गर्न सक्दैनौँ। अभियान भनेको एउटा बगैँचा जस्तै हो। त्यो मौसमी हुन्छ। तपाईँ जुन मौसममा हुनुहुन्छ त्यसको सम्मान गर्न सक्नुपर्छ।
सारा ओट
कन्टेन्ट क्रियटर र यूट्यूबर
म्याकडोनल्ड्सको पार्टटाइम काम गर्दै पढाइ अघि बढाएकी भी कटिभूले अक्सफर्डदेखि हार्बर्ड विश्वविद्यालयहरूमा अध्ययन गरिन्। उनको यो यात्रा विश्वभरिका हजारौँका लागि प्रेरणा बनेको छ।
न्यून सामाजिक आर्थिक पृष्ठभूमिकी विद्यार्थी रहेकी उनले आफ्नो अनुभव साट्न र आफूजस्तै विद्यार्थीलाई अध्ययनबारे स्रोत र सुझावहरू दिन विश्वविद्यालयमा हुँदा यूट्यूब च्यानल खोलिन्।
त्यसयता उनले इम्पावर्ड बाइ भी नामक एउटक प्लेटफर्म खोलेकी छन् जसबाट उनी विश्वभरिका अवसर वा साथ नपाएका र पहुँच नभएका विद्यार्थीहरूलाई उच्च शिक्षासम्मको पहुँच बनाइदिन खोज्छिन्।
उनले युवाहरूका लागि व्यावहारिक र सहयोगी पुस्तक लेखेकी छन् र अहिले एजुकेशन लीडरशिपमा उनले पीएचडी गर्दैछिन्।
सौन्दर्य व्यवसाय संस्थापक
इराकी आप्रवासी आमाबुवाबाट अमेरिकामा जन्मेकी हुदा कत्तान ओक्लहोमा राज्यमा हुर्किन् र परम्परागत कर्पोरेट करिअर छोडेर सौन्दर्य व्यवसायमा लागिन्।
लस एन्जलसस्थित प्रतिष्ठित स्कूलमा भर्ना भएपश्चात् उनले मध्यपूर्वका शाही परिवारसहित कूलीन तप्काका ग्राहकहरू बनाइन्।
इन्स्टाग्राममा उनी सर्वाधिक फलो गरिएकी सौन्दर्य ब्रान्ड बनेकी छन् जहाँ पाँच करोडभन्दा बढी उनका फलोअर छन्।
सन् २०१३ मा उनले आँखाको परेलाको शृङ्गारमा प्रयोग हुने हुदा ब्यूटी नामक ब्रान्डको स्थापना गरिन्। खर्ब डलर बराबरको उनको व्यवसाय अन्तर्गत १४० भन्दा बढी सौन्दर्य सामग्री उत्पादन गरिन्छ र विश्वभरि १,५०० भन्दा बढी स्टोरमा विक्री हुन्छ।
विद्यार्थी तथा सामाजिक उद्यमी
इरानमा रहेका आफन्तसँग कुरा गरेपछि सामाजिक उद्यमी सोफिया कियान्नीलाई महसुस भयो कि जलवायु परिवर्तनबारे उनको भाषामा भरपर्दो जानकारी तुलनात्मक रूपमा कम रहेछ। त्यसपछि उनले फारसी भाषामा अनुवाद गर्न थालिन्।
उनको कामले बृहत् रूप लियो जब उनले अन्तर्राष्ट्रिय युवाहरूको नेतृत्वमा क्लाइमेट कार्डिनल्स नामक समूह गठन गरिन्। त्यसको उद्देश्य जलवायु परिवर्तनसम्बन्धी जानकारीलाई हरेक भाषामा उल्था गर्ने र अङ्ग्रेजी बोल्न नजान्नेहरूको पहुँच ती सामग्रीमा अझ बढाउने रहेको छ।
हाल विश्वका ८० वटा देशमा दश हजार स्वयंसेवक त्यसमा आबद्ध छन्। उनीहरूले जलवायुसम्बन्धी दश लाखभन्दा बढी शब्द एक सयभन्दा बढी भाषामा उल्था गरिसकेका छन्।
वैज्ञानिक ज्ञानलाई विश्वव्यापी फैलाउने क्रममा देखिने भाषासम्बन्धी अप्ठ्यारालाई हटाउनु कियान्नीको उद्देश्य रहेको छ।
युवा अभियानकर्मीहरूले जलवायु परिवर्तनबारे कदम चाल्नुपर्ने भन्दै सञ्जाल निर्माण गरेका छन्, प्रदर्शनका लागि लाखौँ मानिस परिचालन गरेका छन्, जीवाश्म इन्धनविरुद्ध हजारौँ निवेदन दिएका छन् र सहायताका लागि लाखौँ डलर सङ्कलन गरेका छन्। संसारका चुनौती यति ठूला छन् कि हामी उमेर अथवा अनुभवका आधारमा त्यसबाट अलग रहन सक्दैनौँ।
सोफिया कियान्नी
फोटोग्राफर
दक्षिण एशियामा काम गर्ने आरती कुमार राव स्वतन्त्र फोटोग्राफर, लेखक र न्याश्नल जिओग्रफिक एक्सप्लोरर हुन् जसले जलवायु परिवर्तनले निम्त्याएका असरबारे अभिलेखीकरण गर्छिन्।
भूमिगत पानी नाटकीय रूपमा घट्दै गएको, वासस्थान नष्ट हुँदै गएको र उद्योगका लागि जग्गा अधिग्रहणले जैविक विविधितामा पारेको असर, सार्वजनिक जग्गा कम हुँदै गएको, लाखौँ विस्थापित भइरहेका र प्राणीहरू लोप हुने अवस्थामा पुगिरहेको विषयलाई उनले समेट्ने गरेकी छिन्।
कुमार रावले एक दशकमा भारतीय उपमहाद्वीपलाई चहारेकी छन् र उनका कथाले वातावरणीय विध्वंसले जनजीविका र जैविक विविधतालाई पारेको असरबारे बताउँछन्।
उनको किताब मार्जिनल्यान्डः इन्डियाज ल्यान्डस्केप्स अन द ब्रिङ्कले भारतका सबैभन्दा जोखिमपूर्ण वातावरणमा बस्नेहरूको अनुभवबारे बताउँछ।
जलवायु सङ्कटको मूलमा हाम्रो भूमि, पानी र वायुसँगको सम्बन्ध क्षयीकरण भइरहेको छ, हामीले त्यो सम्बन्ध पुनर्स्थापित गर्न अत्यावश्यक छ।
आरती कुमार-राव
लेखिका
आख्यान, गैरआख्यान र कविता गरी २० भन्दा बढी कृतिकी लेखिका ओक्साना जाबुझ्कोलाई युक्रेनका प्रमुख लेखक तथा बुद्धिजीवीहरूमध्ये एक मानिन्छ।
फील्ड वर्क इन यूक्रेइनिअन सेक्स' र 'द म्यूजीअम अफ अब्यान्डन्ड सिक्रट्स' लगायत कृतिका कारण उनी अन्तर्राष्ट्रय जगत्मा पनि चिनिएकी छन्।
कीभको शेभ्चेङ्को यूनिभर्सटीमा दर्शनशास्त्र अध्ययन गरेकी उनले कलाको दर्शनशास्त्रमा विद्यावारिधि पनि गरेकी छन्।
उनका कृतिहरू २० भाषामा अनुवाद भएका छन्। उनले 'एन्जलस सेन्ट्रल युरोपीअन लिटररी प्राइज', युक्रेनको 'शेभ्चेङ्को न्याश्नल प्राइज' र 'फ्रेन्च न्याश्नल अर्डर अफ द लीजन अफ अनर'लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेकी छन्।
बौद्ध भिक्षुणी
सन् १९४० को दशकमा इङ्ग्ल्यान्डमा जन्मिएकी जेत्सुन्मा तेन्जिन पाल्मोले किशोरवयमै बौद्धधर्म धारण गरिन्।
उनी २० वर्षको उमेरमा भारत गइन् र तिब्बती बौद्ध परम्पराअनुसार दीक्षा लिई भिक्षुणी बनिन्।
बौद्ध भिक्षुणीहरूलाई सहयोग गर्ने उद्देश्यसहित उनले भारतको हिमाचल प्रदेशमा डोङ्गयु गत्सल लिङ ननरी स्थापना गरिन्। त्यहाँ १२० भन्दा बढी भिक्षुणी बस्छन्।
उनी दुर्गम हिमाली भेगको एउटा गुफामा १२ वर्ष ध्यान गरेर बसेको प्रसङ्ग निकै चर्चित छ। सन् २००८ मा उनलाई 'जेत्सुन्मा' को दुर्लभ उपाधिद्वारा विभूषित गरियो। वज्रयान बौद्धधर्ममा श्रद्धापूर्वक गुरु वा विशिष्ट अभ्यासकर्तालाई उक्त उपाधि दिइन्छ।
कलाकार
विमिन हू वेअर नट अन अ (म्यागजीन) कभर' कलाकार लाला पास्किनेलीको को परिकल्पना हो। सन् २०१५ मा स्थापना भएपछि यसले सौन्दर्यबारे विद्यमान मान्यता तथा सञ्चारमाध्यम र पप्यूलर कल्चरमा महिलाको प्रतिनिधित्वबारे प्रश्न गर्न थाल्यो।
यो परियोजनाअन्तर्गत महिलालाई आफ्नो शरीरको विषयमा चलेका सङ्कथन परीक्षण गर्न आह्वान गर्ने भाइरल अभियानहरू सञ्चालन भए। तिनमा उमेर बढ्ने र आहारजस्ता विषयहरू पनि पर्छन्। भर्खरै चलेको #HermanaSoltaLaPanza (बहिनी, आफ्नो पेट सुकाउन छोड) अभियानले सबै आकारका मानिसका वास्तविक कथाहरू उजागर गरेको थियो।
पास्किनेली वकिल हुन्। उनी कवयित्री तथा महिला अभियानकर्मी हुन्। महिलाको एकरूपीय सौन्दर्य परिभाषालाई "वर्गीय, लिङ्गभेदी र वर्णभेदी"को सङ्ज्ञा दिँदै र त्यसले लैङ्गिक विभेद अझ चर्काएको तर्क गर्दै उनी त्यसलाई भत्काउनुपर्ने मान्यता राख्छिन्।
क्लाइमेट क्याफेका संस्थापक
क्लाइमेट क्याफे समुदायले नेतृत्व गरेको एउटा मञ्च हो जहाँ मानिसहरू आएर पिउँछन्, कुराकानी गर्छन् जलवायु परिवर्तन सम्बन्धमा काम गर्छन्। पहिलो चाहिँ सन् २०१५ मा जेस पेपरले स्कटल्यान्डको पर्थशायरमा पर्ने बरमेनमा स्थापना गरेकी थिइन्।
विश्वव्यापी सञ्जालमा जोडिएर आफ्नै स्पेस शुरू गर्न अहिले उनी अरू समुदायहरूलाई सघाउँछिन्।
सहभागीहरूका अनुसार उनीहरूलाई ती स्पेस सुरक्षित लाग्छन् जहाँ उनीहरूले जलवायु सङ्कटबारे आफ्ना डर र चिन्ताका कुरा साझा गर्न सक्छन्।
जलवायु परिवर्तनसम्बन्धी विभिन्न मञ्चमा उनी नेतृत्वदायी भूमिकामा छिन्। उनी रोयल स्कटिश जिओग्रफिकल सोसाइटीको मानार्थ फेलो र रोयल सोसाइटी अफ आर्ट्सकी फेलो पनि हुन्।
प्रायः महिला तथा बालबालिकाको नेतृत्वका समाजमा जलवायु परिवर्तनसम्बन्धी विषयमा सकारात्मक परिवर्तनहरू भइरहेका छन्। एकअर्कासँग जोडिँदा त्यसले गरिरहेको प्रोत्साहन, परिवर्तनबारे सुसूचित गर्ने काम, अनुकूलनसम्बन्धी काम सँगै थप परिवर्तनका लागि अवसर तथा राजनीतिक स्थान बनाउने कामले ममा आशा जगाउँछ।
जेस पेपर
आदिवासी तथा एलजीबीटीक्यू प्लस समुदायको अधिकारका लागि अभियानकर्मी
म्यान्मारसँगको सीमानजिकै थाईल्यान्डमा बस्ने माछा फर्न-इनले आप्ना कामहरूलाई अल्पसङ्ख्यकको अधिकारमा केन्द्रित गरेकी छन्। उनी बस्ने क्षेत्रमा जलवायु परिवर्तन र द्वन्द्व दुवैको प्रभाव देखिन्छ।
हजारौँ राज्यविहीन तथा घरजग्गाविहीन आदिवासी महिला तथा बालिका र एलजीबीटीक्यू प्लस समुदायका युवा सदस्यहरूलाई शिक्षित बनाउने र सशक्तीकरण गर्ने उद्देश्यले उनले 'सङ्सन अनाकोट यवाचन डिभेलपमेन्ट प्रोजेक्ट' नामक संस्था स्थापना गरेकी छन्।
अल्पसङ्ख्यक आदिवासी जातीय समुदायकी समलिङ्गी महिला र नारीवादीका रूपमा उनले आफ्नो क्षेत्रमा लैङ्गिक हिंसा रोक्नका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। साथै उनले विस्थापित र अधिकारविहीन मानिसहरूको जग्गाको अधिकार र जलवायु न्यायका लागि पैरवी गर्दै आएकी छन्।
आदिवासी समुदाय, एलजीबीटीक्यूआईए प्लस, महिला र बालिकाहरूको सार्थक सहभागिता र आवाजबिना दिगो जलवायु समाधान हुन सक्दैन।
माछा फर्न-इन
जलनपीडित अभियानकर्ता
एउटा दुर्घटनामा परेर जन्नतुल फिर्दौसको शरीर ६० प्रतिशत जलेको थियो। उनले पछि चलचित्र निर्माण गरिन्। उनी लेखिका पनि हुन् र अपाङ्गताबारे अभियान सञ्चालन गर्छिन्।
उनी भोइस एन्ड न्यूज नामक संस्थाकी संस्थापक हुन्। उक्त संस्थाले जलनपीडित महिलाहरूको अधिकारका लागि सङ्घर्ष गर्छ।
उनी साथीसङ्गी र परिवारमाझ आइभी उपनामले परिचित छिन्। उनले छोटा चलचित्र बनाएकी छन् र तीनवटा उपन्यास प्रकाशित गरेकी छन्। आफ्ना रचनामा उनी अपाङ्गता भएका मानिसबारे चेतना जगाउने प्रयास गर्छिन्।
फिर्दौसले अङ्ग्रेजी साहित्यमा एमए गरेकी छन्। उनले डिभेलप्मन्ट स्टडिजको पनि अध्ययन गरेकी छन्।
मोडल तथा इन्फ्लुअन्सर
त्रियानब्बे वर्ष पुगिसकेका धेरैले उनीहरूको इन्स्टाग्राममा २३५,००० भन्दा धेरै फलोअर रहेको सायदै भन्न सक्छन्। तर इटलीकी यी सबैभन्दा पाको उमेरकी 'बडी पोजेटिभेटी इन्फ्लुअन्सर'का लागि यो त सुरुवात मात्र हो।
लिशा फेर्जले दोस्रो विश्वयुद्ध र २८ वर्षकी छोरीको मृत्यु भोगेकी छन्। उनका श्रीमान् बितेको पनि उनले देखिन्।
तर उनलाई खुसी बनाउन उनका नातिले इन्स्टाग्राम खाता खोलिदिएपछि उनका रङ्गीचङ्गी कपडा र सुन्दर मुस्कानले उनलाई तत्कालै सामाजिक सञ्जालमा 'स्टार' बनाइहाल्यो।
आत्मकथासमेत लेखेकी उनले ८९ वर्षको उमेरमा 'रोलिङ स्टोन' म्यागजीनका लागि 'न्यूड मोडलिङ' समेत गरेकी छन्।
उनी उमेरका आधारमा हुने विभेदका विरुद्ध तथा महिला र एलजीबीटीक्यू प्लस समुदायका अधिकारका लागि सक्रिय एक पैरवीकर्ता हुन्। पाका हुँदै गरेका मानिस तथा तिनका शरीरबारेको हाम्रो बुझाइलाई उनले नयाँ स्वरूप दिएकी छन्।
कलाकार
प्रिन्टमेकिङ्ग, ड्रइङ्ग, पेन्टिङ्ग, इन्स्टलेशन र फिल्म जस्ता कलाका विभिन्न विधामा काम गरेकी चिला कुमारी बर्मनले प्रतिनिधित्व, लैङ्गिक र सांस्कृतिक पहिचानका मुद्दामा छलफल गर्न आफ्नो कामलाई प्रयोग गर्छिन्।
यस वर्ष उनको काम सन् १८७९ चलिरहेको यूकेको ब्ल्याकपुल इलुमिनेशन नामको लाइट फेस्टिभलमा उनको काम प्रदर्शन गरिएको थियो। ललिज इन लभ विथ लाइट नामको उनको कला उनको आइसक्रिम बेच्ने बाबुआमाको कामबाट प्रभावित थियो।
सन् २०२०मा भारतीय पौराणिक कथा, लोकप्रिय संस्कृति र महिला सशक्तीकरणको आधारमा बेलायतको मुखौटालाई सजाउने ब्रेभ न्यू वर्ल्डको सम्झनामा कला स्थापना गरिन्।
गत वर्ष उनी एमबीइबाट सम्मानित भइन्।
माछा व्यापारी
कुनै बेला अस्तित्वमा रहेको तर पछि समुद्रले बगाएर लगिदिएको घानाको फुभिमी गाउँकी इसी बुओबासाले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगेकी छन्।
समुद्र सतह बढिरहँदा उनी आफ्ना श्रीमान् र पाँच छोराछोरीसहित अन्यत्र सरिन्।
आफ्नो गाउँकी अग्रणी माछा व्यापारी बुओबासा र उनका साथीहरू मिलेर तटीय क्षेत्रको क्षयीकरणका कारण आम्दानीको स्रोत गुमाउँदै गरेका महिला माझीहरूलाई सघाउने उद्देश्यले एउटा सङ्गठन खोले।
उनीहरूको गठबन्धनमा अहिले १०० जना सदस्य छन् जो हरेक हप्ता बैठक बसी माछा व्यापारमा महिलाहरूले भोग्ने गरेका समस्याबारे छलफल गर्छन् अनि खाँचो परेकाहरूलाई सहयोग गर्छन्।
हरेक पटक समुद्री छाल आउँदा हामी हराउँछौँ। हाम्रो लागि र आउँदो पुस्ताका लागि मृत्यु आइरहन्छ।
इसी बुओबासा
लेखिका
सन् १९९०को दशकमा प्रकाशित 'ब्यालड अफ लभ इन द विन्ड' नामक आफ्नो पहिलो कृतिमार्फत् पउलिना शिजियाने मउजाम्बीकमा उपन्यास प्रकाशित गर्ने पहिलो लेखिका बनिन्।
मउजाम्बीकको राजधानी मपूटोभन्दा केही बाहिर जन्मिएकी शिजियानेले एक क्याथलिक विद्यालयमा पोर्चगीज भाषा सिकेकी हुन्। पछि इड्वार्डो मोन्ड्लाने यूनिभर्सटीमा भाषाहरू पढिन् तर पूरा गरिनन्।
उनका कृतिहरू अङ्ग्रेजी, जर्मन र स्प्यानिशलगायत विभिन्न भाषामा अनुवाद गरिएका छन्। 'द फर्स्ट वाइफः अ टेल अफ पोलिग्यामी' नामको कृतिका लागि उनले स्थानीय 'जोजे क्राभेइरिन्हा' पुरस्कार पनि पाइन्।
उनले हालै पोर्चगीज भाषाको लेखनमा सबैभन्दा प्रतिष्ठित मानिने 'कमोइज' पुरस्कर पाएकी छन्।
आदिवासी तथा अपाङ्गता अधिकार पैरवीकर्ता
काई ताहु आदिवासी समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सक्रिय जलवायु विशेषज्ञ केरा शेर्वुड-ओरेगन न्यूजीलन्डको साउथ आइल्यान्डमा ते वाइपाउलामुमा बस्छिन्।
उनी 'एक्टिभेट' नामक जलवायु न्याय र सामाजिक परिवर्तनमा विशिष्टता हासिल गरेको सामाजिक प्रभाव एजेन्सीकी संस्थापक हुन्।
उनी जमिन तथा पूर्खाहरूप्रतिको 'माओरी' दृष्टिकोणमा आधारित भई काम गर्छिन्। जलवायुसम्बन्धी मूलधारको बहसमा हालसम्म यसलाई बेवास्ता गरिएको थियो।
आफ्नो समुदायमा जलवायु परिवर्तनले पारेको असरबारे थप चर्चा गर्न उनले मन्त्री, अन्य अधिकारी र बृहत् नागरिक समाजसँग सम्बन्ध बनाएकी छन्। जलवायुसम्बन्धी वार्ताहरूमा आदिवासी समुदायका र अपाङ्गता भएका मानिसहरूका अधिकारको थप पहिचानका लागि पनि उनी आवाज उठाउँदै छिन्।
हामी 'एक्स्ट्राएक्टिभिस्ट मोडल' अस्वीकार गर्दै छौँ, आफ्नो ठाउँ दाबी गर्दै छौँ र समुदायलाई साथमा लिएर अगाडि बढ्दै छौँ। यसले काम गरेको छ। मेरो विचारमा आदिवासी सार्वभौमिकताको स्वीकार नै जलवायु सङ्कटको समाधान हो भनेर अहिले धेरै मानिसहरूले बुझेका छन्।
केरा शेर्वुड-ओरेगन
शैक्षिक तथा जलवायु मामिला सल्लाहकार
किशोर अवस्थाकी सागरिका श्रीराम विद्यालय तहमा जलवायु परिवर्तनको विषय अनिवार्य रूपमा पढाइनुपर्ने पक्षमा पैरवी गरिरहेकी छन्।
कोडिङसम्बन्धी आफ्नो ज्ञानको प्रयोग गर्दै उनले Kids4betterworld नामक अनलाइन प्लेटफर्म बनाएकी छन्। त्यसको उद्देश्य जलवायु परिवर्तनबारे विश्वका बालबालिकालाई शिक्षित बनाउनु र उनीहरूको समुदायमा दिगो विकासमा परियोजनामा सघाउनु रहेको छ।
वातावरणीय विषय अनलाइन र अफलाइन गोष्ठीहरू सञ्चालन र जलवायु परिवर्तनको विषयमा बालबालिकाले कसरी सकारात्मक प्रभाव पार्न सक्छन् भन्नेबारे उनी पढाउँछिन्।
दुबईमा ए-लेभलको पढाइसँगै श्रीराम बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिको सल्लाहकार टोलीमा पनि आबद्ध छिन् जहाँ उनी वातावरणीय मुद्दाको वकालत गर्छिन्।
यो अब सजग हुने समय होइन, कदम चाल्नुपर्ने समय हो। अतः हरेक बालबालिकालाई दिगोपनबारे शिक्षा दिइन्छ र हामीले संसारमा हेर्न चाहेको परिवर्तनका लागि काम गर्नुपर्छ।
सागरिका श्रीराम
कृषक तथा व्यवसायी
सन् २०१६ मा समुद्री आँधी नोक-टेनले फिलिपिन्सको कामारिन्स सुर क्षेत्रको ठूलो भेग तहसनहस पार्यो। झण्डै ८० प्रतिशत खेतीयोग्य जमिन नाश भयो।
लुईस् माबुलोले 'काकाओ प्रोजेक्ट' स्थापना गरेर त्यस्तो क्षति विरुद्ध लड्ने प्रयास थालिन्। उक्त सङ्गठनले स्थानीय खाद्य प्रणालीहरूमा दीगो कृषिमा आधारित वन व्यवस्थापनमार्फत आमूल परिवर्तन गर्न चाहन्छ।
माबुलोले कृषकहरूलाई सशक्त बनाउनुका साथै क्षतिकारक खाद्य प्रणाली भङ्ग गर्ने र ग्रामिण नेतृत्वको हरित अर्थतन्त्रको पक्षमा वकालत गर्ने अनि जमिन जोत्नेहरूको हातमा नियन्त्रण दिने जस्ता गतिविधिको पक्षमा काम गर्छिन्।
उनले अन्तर्राष्ट्रिय जलवायु नीतिमामिलामा परामर्श दिने गर्छिन् जुन क्रममा उनले स्थानीय अनुभवका कथाहरू र ज्ञानको प्रवर्धन गर्छिन्। उनलाई राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले योङ च्याम्पिअन अफ अर्थ भनेर सम्मान पनि गरेको छ।
संसारभर विभिन्न अभियानहरू मजस्ता मानिसहरूले सञ्चालन गरिरहेका छन् भनेर थाहा पाउँदा म आशावादी हुने गर्छु। तिनीहरूले समुदायहरूलाई जोड्ने हरित क्षेत्रहरू सहितको भविष्यकालागि अगुवाई गरिरहेका छन् जहाँ हाम्रो खानेकुरा सबैको पहुँचमा हुने र दीगो प्रकृतिको हुनेछ, जहाँ हाम्रा अर्थतन्त्रहरू चक्रिय हुनेछन् र ति न्यायपूर्ण,समानताका सिद्धान्तहरूबाट निर्देशित हुनेछन्।
लुईस् माबुलो
सहसंस्थापक, 'फर लाइफ' सिलाइ पसल
चौथो चरणको क्यान्सरको तीन वर्षको उपचार गराएपछि आफ्ना लागि औषधि किन्ने पैसा जुटाउन सङ्घर्ष गर्न बाध्य शेर्बु सागिन्बेभा अहिले केही सुधार भएको अवस्थामा छिन्।
क्यान्सरको उपचारपछि स्वास्थ्यमा सुधार भएका अरू चार जनासँग मिलेर उनले 'फर लाइफ' नामक सिलाइ पसल स्थापना गरिन्। त्यहाँ उनीहरू किर्गिज गहनाहरू प्रयोग गरेर झोला बनाउँछन् र बेच्छन्। त्यसबाट प्राप्त नाफा क्यान्सर उपचारका लागि जान्छ।
अहिलेसम्म उनीहरूले क्यान्सरको उपचारका लागि सहयोग आवश्यक भएका ३४ महिलाका लागि ३३,००० अमेरिकी डलरभन्दा बढी रकम जुटाइसकेका छन्।
सागिन्बेभाले बिरामीहरू उपचार उपलब्ध भएको स्थानभन्दा निकै टाढा भएका बिरामीलाई पनि सहयोग आवश्यक भएको ठम्याइन्। उनले त्यस्ता बिरामीलाई उपचारका क्रममा राख्नका लागि गैरनाफामूलक होस्टल स्थापना गर्न पनि सघाइन्।
कवि
रुसले युक्रेनमाथि गरेको आक्रमणविरुद्धको अभियान फेमिनिष्ट एन्टी-वारका धेरै संयोजकमध्ये लेखक तथा राजनीतिक अभियानकर्मी डारिया सेरेन्को एक हुन्।
विगत ९ वर्षदेखि उनले रुसमा भएको लैङ्गिक हिसाबारे लेख्दै आएकी छन् र अहिलेसम्म नारीवाद र युद्धविरोधी कामबारे दुईवटा पुस्तक लेखिसकेकी छन्।
उनी एउटा कला अभियान क्वाएट पिक्केटकी सर्जक हुन् जसमा उनले खास मुद्दाहरूमा मानिसलाई सहभागी गराउने सन्देश कुँदिएका प्लाकार्ड लगाउँछिन्।
युक्रेनमा पूर्ण-स्तरको युद्ध सुरु हुनु दुई साताअघि सेरेन्कोलाई अधिकारीहरूले "अतिवादी" सन्देशहरू फैलाएको आरोपमा गिरफ्तार गरेका थिए। उनी जोर्जियामा सरेलगत्तै उनलाई रुसी अधिकारीले "विदेशी दलाल" भनेको छ।
लेखिका
विभिन्न पुरस्कार जितेकी लेखिका तथा चित्रकार अलिश ओजमन 'हार्टस्टपर' नामको युवाहरूका लागि लेखिएको एउटा लोकप्रिय ग्राफिक उपन्यासकी सर्जक हुन्। साथै उनले एलजीबीटीक्यू प्लस समुदायले आफ्नो पहिचान स्थापना गरेको कथालाई नेटफ्लिक्सका लागि टेलिभिजन कार्यक्रममा रूपान्तर गरेकी छन् र त्यसबापत एमी अवार्ड पाएको छन्।
लेखनका अतिरिक्त कलाकार छनोटदेखि सङ्गीतसम्म आफ्नो कार्यक्रमको हरेक भागको हरेक चरणमा उनी संलग्न हुन्छिन्।
उनले युवायुवतीहरूका लागि 'रेडिओ साइलन्स' र 'लभलेस' लगायत अन्य धेरै उपन्यास लेखेकी छन्। उनले १९ वर्षकै उमेरमा 'सोलिटेअर' नामक उपन्यास प्रकाशन गरेकी थिइन्।
उनका कृतिहरूले 'वाईए बुक प्राइज', 'इन्की अवार्ड्स', 'कार्नेगी मेडल' र 'गुडरीड्स चोइस अवार्ड'जस्ता धेरै पुरस्कारहरू पाएका छन् वा तिनका लागि मनोनीत भएका छन्।
क्रिकेट खेलाडी
यस वर्ष हरमनप्रीत कौर विस्डेनका पाँच 'क्रिकेटर्स अफ द यिअर'मा मनोनीत हुने पहिलो भारतीय पहिला बनिन्।
भारतको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान उनी भारत र अन्य देशमा हुने खेलहरूमा उल्लेख्य स्कोर बनाउने खेलाडी भनेर चिनिन्छिन्। गत वर्ष उनको नेतृत्वको टोलीलले कमनवेल्थ गेम्समा रजतपदक प्राप्त गरेको थियो।
आन्तरिक क्रिकेटमा उनको नेतृत्वको मुम्बई इन्डियन्सले गत मार्चमा विमिन प्रिमिअर लीगको पहिलो संस्करणको उपाधि जित्यो।
सन् २०१७ को महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले अस्ट्रेलियाका विरुद्ध ११५ बल खेल्दै १७१ रन बनाएकी थिइन्, जुन उनको करिअरको एक उत्कृष्ट प्रदर्शनी थियो। उनकै सहयोगमा भारतीय टोली फाइनलमा पुगेको थियो।
हास्यव्यङ्ग्य कलाकार
ग्रीनवाशिङ कमेडी क्लब वातावरणीय मुद्दाहरूका साथै महिलावाद, गरिबी, अपङ्गता र एलजीबीटीआईक्यू प्लस अधिकारहरूबारे चर्चा गर्ने 'स्ट्याण्ड अप' समुदाय हो।
यस्को स्थापना स्ट्याण्ड-अप कमिडिअन एन ग्रालले गरेकी हुन् जो सटिक व्यङ्ग्यका माध्यमले मानिसहरूको मष्तिष्कमा परिवर्तनका बीउ रोप्न सकिन्छ र तिनीहरूको व्यवहार नै पनि परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छिन्।
मनोरञ्जनले प्रभाव पार्न सक्ने समाजमा स्पष्ट विचार र छोटा सन्देशहरू चल्ने गर्छन्। त्यसैले ग्रालको विश्वासमा बढाईचढाई गरेर गरिने हास्यपूर्ण अभिव्यक्ति र सिधा व्यङ्ग्यको प्रयोग जलवायु परिवर्तनसम्बन्धी विचारहरू आदानप्रदान गर्न उत्तम उपाय हुनसक्छ।
ग्रीनवाशिङ कमेडी क्लबको सफलता सन्तोषजनक छ किनभने यसले आजको दिनमा धेरै मानिसहरू जलवायु परिवर्तनका विषयमा चिन्तित रहेको सङ्केत गर्दछ। र तिनीहरू हास्य कार्यक्रममा आई एकै ठाउँमा बसेर हाँस्दै मनोरञ्जन गरेर यो लडाईँ जारी राख्न तयार रहेको अनुभव गर्दै बाहिरिन्छन्।
एन ग्राल
घोडचढीसम्बन्धी खेल इक्वेस्ट्रिअन भल्टर
तीन वर्ष आसपासकी हुँदा घोडचढी सम्बन्धी खेल शुरू गर्दा १० वर्षपछि त्यो कामको अभ्यास गर्ने टोलीमा सहभागी हुने कल्पना पनि एन्टिनिस्का चेन्चीले गरेकी थिइनन्।
उत्तरी इटलीको ला फेनिचेकी एन्टिनिस्का चेन्चीको जीवन सहज थिएन। जन्म हुने बेला समस्या देखिएकी चेन्ची "पहिलो जाडोयाममा नबाँच्ने" उनकी आमालाई भनिएको थियो।
इटलीको स्थानीय एन्फाज सेन्टर (न्याश्नल असोसिएशन फर फेमिलिज एन्ड पिपुल विथ डिसएबिलिटीज) र ला फेनिचेले थालेको कार्यक्रम अन्तर्गत उनले उक्त घोडचढी खेल खेल्न शुरू गरिन्।
उनी अहिले विश्व च्याम्पिअन एना काभलारो र प्रशिक्षक नेल्सन भिडोनीसँग मिलेर प्रशिक्षण दिन्छिन्।
क्युरेटर र सांस्कृतिक व्यवस्थापक
साउ पाउलोको बाहिरी भेगमा बसोवास गर्ने गरिब समुदायमा मानिसहरूसम्म कमिक्स किताबबारेका कार्यक्रमको अनुभव गराउने उद्देश्यले एन्द्रेजा डेल्गाडोले पेरिफेकोन ल्याइन्।
त्यस्तो नि:शुल्क कार्यक्रम ब्रजिलको झुपडीवस्तीका कमिक लेखक, कलाकार र अन्य योगदान गर्नेहरूमा केन्द्रित हुन्छ।
कमिक किताब, भिडिओगेम, कन्सर्ट र अन्य "गीक कल्चर" समेटिएको तेस्रो पेरिफेकोन कार्यक्रम सन् २०२३ मा सम्पन्न भयो जसमा १५ हजारभन्दा बढी मानिस सहभागी थिए।
यूट्यूबर र पोडकास्टरको रूपमा आफ्ना प्लेटफर्महरूको प्रयोग गर्दै डेल्गाडोले ब्रजिलमा खासगरी अश्वेत कलाकारको कामलाई केन्द्रित गरेर संस्कृतिमा समान पहुँच हुनुपर्नेबारे उनले वकालत गर्दै आएकी छन्।
यूट्यूबर र पोडकास्टरको रूपमा आफ्ना प्लेटफर्महरूको प्रयोग गर्दै डेल्गाडोले ब्रजिलमा खासगरी अश्वेत कलाकारको कामलाई केन्द्रित गरेर संस्कृतिमा समान पहुँच हुनुपर्नेबारे वकालत गर्दै आएकी छन्।
फ्रीडाइभिङ प्रशिक्षक
दक्षिण अफ्रिकाकी प्रथम अश्वेत फ्रीडाइभिङ प्रशिक्षक जान्डिल न्लोभू समुद्रमा थप मानिसको पहुँच होओस् भन्ने चाहन्छिन्।
उनले द ब्ल्याक मर्मेड फाउन्डेशनको स्थापना गरेकी छन्। उक्त संस्थाले स्थानीय युवाहरूलाई समुद्रसँग परिचित गराउँछ र व्यावसायिक रूपमा तथा खेलकुदमा नयाँ समूहहरू आउनेमा भन्ने विश्वास राख्छ।
न्लोभू समुद्री अन्वेषणकर्ता, स्टोरीटेलर र फिल्म निर्माता हुन्। समुद्रमा हुने प्रदूषण र समुद्री सतह बढ्ने समस्याबारे नयाँ पुस्तालाई अवगत गराउने काममा उनी आफ्नो दक्षताको प्रयोग गर्छिन्।
जलवायु परिवर्तनले निम्याएका सङ्कटबारे विचार गर्दा युवाहरूको आवाज, समाजमा परिवर्तन ल्याउने कुराले मलाई आशा दिलाउँछ।
जान्डिल न्लोभू
डीजे तथा सङ्गीत प्रड्यूशर
इरानमा गत वर्ष प्रदर्शनहरू शुरू हुनुभन्दा धेरै पहिला डीजे पारामिदाले इरानी मूलका महिलाविरुद्ध लगााइएका सांस्कृतिक प्रतिबन्धहरूको अवज्ञा गर्दै आएकी थिइन्।
हाल बर्लिनमा बस्दै आएकी पारामिदाले किशोरावस्थामा फ्र्याङ्कफर्ट र तेहरान बस्दा सङ्गीत एवं नृत्य संस्कृतिप्रति आफ्नो लगाव रहेको पाइन्।
प्रसिद्ध नृत्य इतिहासबाट प्रेरित उनको रेकर्ड लेबल लभ अन द रक्सले उत्साहजनक र घरबाहिर गरिने नृत्यलाई प्रवर्द्धन गर्छ।
बर्लिनस्थित बर्घाइनको प्यानोरामा बारमा कार्यरत पारामिदा विश्वभरि धेरै माग भएकी डीजे र सङ्गीत स्रष्टा हुन्। त्यो मञ्चलाई उनले पुरुषहरू हावी रहेको सङ्गीत र रात्रिकालीन मनोरञ्जन व्यवसायमा लैङ्गिक मान्यतालाई चुनौती दिन प्रयोग गरिन्।
ओलिम्पिक एथलिट्
हेप्टाल्थिनमा उनको विशेषता भए पनि १०० मिटर हर्डल्समा प्रतिस्पर्धा गर्दा कमिला पिरेल्लीले टोक्यो ओलिम्पिक्समा खेल्न पाइन्।
गुवारानी प्यान्थर नामले परिचित ट्र्याक तथा फिल्ड खेलाडीले राष्ट्रिय रेकर्ड राखिन् र उनी खेल कोच तथा अङ्ग्रेजी शिक्षिका हुन्।
पिरेल्ली प्याराग्वेको एउटा सानो नगरमा वातावरणबारे सचेत परिवारमा हुर्किइन् जहाँ उनले नजिकबाट जलवायु परिवर्तनको असर देखिन्।
उनी अहिले इकोएथलिट् च्याम्पियन हुन् जसको अर्थ उनी खेलको माध्यमबाट मानिसहरूलाई जलवायु परिवर्तनबारे भन्छिन् र कार्बन उत्सर्जन गर्न कदमहरू चाल्न प्रेरित गर्छिन्।
म त्यस्तो गाउँमा हुर्किएँ जहाँ जङ्गली जनावर दैनिकजसो देखिन्थ्यो। अहिले जलवायु परिवर्तनका कारण ती जनावरलाई गाह्रो छ भन्ने थाहा पाउँदा त्यसले मलाई चिन्तित बनाउँछ र उनीहरूलाई मद्दत गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।
कमिल पिरेल्ली
अभिनेत्री
मनोरञ्जनको दुनियाँमा तत्कालै पहिचान गर्न सकिने परिचित अनुहार हो अमेरिका फरेराको। उनी पुरस्कार विजेता नायिका, निर्देशक र निर्माता हुन् जसले आफूले हालसालै रेकर्ड तोडेको चलचित्र बार्बी, रियल विमिन ह्याभ कर्भस र चर्चित श्रृङ्खला अग्ली बेट्टी लगायतमा अभिनय गरेकी छन् र ती चलचित्रमा गरेका थुप्रै भूमिकाका कारण उनी चर्चित छिन्।
अग्ली बेट्टीमा उनको भूमिकाका लागि उनले उत्कृष्ट अभिनेत्रीतर्फ कम उमेरमा एम्मी अवार्ड जित्न सफल भइन्। उनी उक्त पुरस्कार जित्ने पहिलो ल्याटिना पनि हुन्। लामो समयदेखि अभियानकर्मी रहेकी फेरेरा महिला अधिकार र पर्दामा धेरै महिलाको प्रतिनिधित्व हुनुपर्छ भन्नेबारे प्रखर वक्ता पनि हुन्।
होण्डुरसका प्रवासी आमाबुवाकी छोरी उनले अमेरिकामा रहेका ल्याटिनाहरूको जीवन सुधार्न आफ्नो गैर नाफामूलक संस्था पोडेरिस्टाजबाट अभियान पनि थालेकी छन्।
फुटबलर
काटालोनियामा जन्मिएकी आइताना बोन्माती बार्सिलोनाबाट खेल्ने मिडफील्डर हुन्। उनले स्पेनिश लीग र च्याम्पिअन्स लीग दुवै जितेकी छन्।
तर विश्वकपका बेला उनी विश्वभरि चर्चित भइन्। स्पेनको विजय सुनिश्चित पार्न उनले तीन गोल गरिन् अनि उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। पच्चीस वर्षीया बोन्मातीले प्रतिष्ठित 'बालन डोर' हात पारिन् तथा उनी 'वर्षकी उत्कृष्ट यूईएफए खेलाडी' उपाधिबाट सम्मानित भइन्।
खेलको मैदानमा र बाहिर पनि बोल्न नहिच्किचाउने बोन्माती महिलाका लागि फुटबलमा समानताको कुरा उठाइरहन्छिन्।
स्पेनले विश्वकप विजय स्पेनी फुटबल फेडरेशनका अध्यक्ष लुइस रुबियालेसले जेनी एअर्मोसोको ओठमा चुम्बन गरेको विषयले छायामा परेको थियो। यूईएफएबाट प्राप्त सम्मान स्वीकार गर्दा दिएको भाषणमा बोन्मातीले आफ्नी सहकर्मी र त्यस्ता चुनौती खेप्नुपरेका अन्य महिलाका पक्षमा समर्थन व्यक्त गरेकी थिइन्।
बहिरा कलाकार
गत फेब्रुअरीमा आयोजित 'सुपर बाउल एलभीआईआई' प्रतियोगितामा जस्टिना माइल्सले नयाँ कीर्तिमान बनाइन्। विश्वभरि सर्वाधिक हेरिएको उक्त प्रतियोगितामा उनले गीत प्रस्तुत गरेकी थिइन्।
माइल्स कान सुन्दिनन्। उक्त कार्यक्रममा उनले ख्यातिप्राप्त कलाकार रिहान्नाको गीत निकै प्रभावशाली रूपमा अभिनय गर्दै गाएकी थिइन्।
सुपर बाउलको मध्यान्तरमा अमेरिकी साङ्केतिक भाषा (एएसएल) मा कला प्रस्तुत गर्ने उनी प्रथम बहिरा महिला हुन्।
माइल्स विश्वसामु बहिरा व्यक्तिको वास्तविक प्रतिनिधित्व होस् भन्ने चाहन्छिन्। बहिरा नर्सहरूलाई आफैँ प्रशिक्षण दिने काम गर्ने उनको इच्छा छ।
अभिनेत्री
भारतीय चलचित्रहरूमा भूमिकाका लागि मात्रै दीया मिर्जा पुरस्कृत भएकी होइनन्, उनी पर्यावरण र मानवीय सहायतासम्बन्धी थुप्रै परियोजनामा पनि संलग्न रहिआएकी छन्।
वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी सद्भावना दूतको रूपमा मिर्जाले जलवायु परिवर्तन, स्वच्छ हावा र वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाएकी छन्।
उनी वान इन्डिया स्टोरीज नामक कार्यक्रम उत्पादन संस्थाकी संस्थापक पनि हुन्। त्यसले उनकै शब्दमा "तपाईँलाई सोच्न बाध्य पार्ने" खालका कथाहरू बाहिर ल्याउँछ।
उनी सेभ द चिल्ड्रेन, इन्टरन्याश्नल फन्ड फर एनिमल वेलफेअरकी दूत र स्याङ्कटुअरी नेचर फाउन्डेशनकी बोर्ड सदस्य पनि हुन्।
Kpop4Planet की संस्थापक
डेअन लीले Kpop4Planet मार्फत् विश्वभरिका K-pop प्रशंसकहरूलाई जलवायु सङ्कटसँग जुझ्न अग्रसर गराइरहेकी छन्।
सन् २०२१ मा शुरू भएयता उक्त अभियान समूहले दक्षिण कोरियाको सबैभन्दा ठूलो मनोरञ्जन क्षेत्र र स्ट्रिमिङ सेवाका प्रभावशाली व्यक्तिहरूलाई जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न र नवीकरणीय ऊर्जा अपनाउने दिशामा कदम चाल्न आग्रह गरेको छ।
समूहले भौतिक एल्बमले निम्त्याउने फोहोरमैलाबारे ध्यानाकृष्ट गराएपछि के-पपका चर्चित व्यक्तिहरू डिजिटल एल्बममा केन्द्रित भए।
के-पप सेलिब्रिटीहरूलाई प्रयोग गर्ने विलासी फ्याशन ब्रान्डहरू जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताबारे चुनौती दिन डेअन ली अहिले सङ्गीत क्षेत्रभन्दा बाहिर गइरहेकी छन्।
सामाजिक न्यायका लागि अगाडि सरेपछि परिवर्तन नल्याई हामी हार मान्दैनौँ। हामीले यो कुरा पटकपटक प्रमाणित गरिसकेका छौँ र जलवायु सङ्कटविरुद्ध हाम्रो लडाइँ जारी रहन्छ।
डेअन ली
धाविका
बिआन्का विलिअम्स युरोपेली तथा कमनवेल्थ खेलमा ४x१०० दौडकी विजेता हुन्। उनी २०२३ यूरोपिअन टीम च्याम्पिअन्शिप्सका लागि ग्रेट ब्रिटेन र नोर्दर्न आयरल्यान्डकी कप्तान थिइन्।
जुलाईमा यूके एथ्लिटिक्स च्याम्पिअन्शिप्समा २०० मिटरको दौडमा द्वितीय भई उनले बुडापेस्टमा हुने वर्ल्ड एथ्लिटिक्स च्यापिअन्शिप्समा आफ्नो स्थान सुरक्षित पारिन्।
उनी र उनका पार्टनर तथा धावक रिकार्डो डोस सान्टोसलाई लन्डनमा प्रहरीले जुलाई २०२० मा रोकेर खानतलासी गरेको थियो।
प्रहरीले जातीय दृष्टिले हेरेको आरोप लगाउँदै विलिअम्स र डोस सान्टोसले औपचारिक उजुरी दिएका थिए। उक्त घटनामा दुर्व्यवहार गरेको ठहर भएपछि दुई प्रहरी अधिकारीहरू पदमुक्त भएका थिए।
स्प्रिन्टर (धाविका)
लेबननमा १०० मिटरको कीर्तिमान भङ्ग गरेपछि "इतिहासकै सबैभन्दा तीव्र लेबनीज महिला" भनी चिनिएकी अजिजा स्बेइटीबारे केही समयअघि पुनः समाचारहरू बने। यस पटक उनी पश्चिम एशियाली तथा अरब च्याम्पिअनशिपमा स्वर्ण पदक जित्ने आफ्नो देशको पहिलो अश्वेत खेलाडी बनिन्।
लाइबेरिअन आमा र लेबनीज बुवाकी छोरी अजिजा ११ वर्षको उमेरमा लेबनन गइन्। त्यहाँ उनले रङ्गभेद सामना गर्नुपर्यो।
त्यसपछि उनका लागि एथ्लेटिक्स आफ्नो पहिचान र सशक्तीकरणको माध्यम बन्यो। यसैमार्फत् पैरवीका लागि प्रतिबद्धतालाई पनि उनले बलियो बनाइन्।
आफ्नो हैसियतलाई प्रयोग गर्दै उनी आफ्नो देशको रङ्गभेदबारे कुरा गर्छिन् र समावेशिता एवं समानताका लागि आवाज उठाउँछिन्। लेबननका युवाहरूलाई प्रेरित गर्नका लागि उनी त्यहाँका विद्यालय तथा विश्वविद्यालयहरूसँग सहकार्य गर्छिन्।
टेलिभिजनकर्मी
तस्बिरमा आधारित यौन दुर्व्यवहारबाट पीडित बनेपछि जोर्जिया ह्यारिसनले आफ्नो कथाको माध्यमबाट महिलाविरुद्ध हुने हिंसासँग जुध्न र सहमतिबारेको यूकेको धारणा परिवर्तन गर्न मद्दत गर्ने निर्णय गरिन्।
लभ आइल्यान्ड र द वन्ली वे इज एसेक्सजस्ता कार्यक्रममा आफ्नो प्रस्तुतीका कारण चर्चित बनेकी टेलिभिजनकर्मीले यूकेको अनलाइन सुरक्षासम्बन्धी विधेयकमा संशोधन गर्न एउटा अभियान थालिन्। उनले उक्त विधेयकमा अन्तरङ्ग तस्बिरहरूको दुरुपयोगलाई अपराध बनाउन र त्यसबारे मुद्दा अभियोजन गर्न सहयोग पुर्याउन मद्दत गरिन्।
ह्यारिसनले सहमति बिना नै कुनै पनि तस्बिर वा भिडिओ सामग्री शेअर गर्दा त्यसबाट कडा परिस्थितिको सामना गर्नुपर्नेबारे अनलाइन प्लेटफर्महरूलाई आह्वान गरेकी छन्।
मन्त्री
ब्रजिलको अगाडि बढिरहेको आदिवासी अधिकार आन्दोलनकी एक प्रमुख व्यक्ति, सोनिया ग्वाजजरा सन् २०२३ मा उनको देशको आदिवासी समुदायबाट पहिलो मन्त्री बनिन्। उनले नव निर्वाचित राष्ट्रपति लुला दा सिल्भाले बनाएको मन्त्रिमण्डलमा नियुक्ति पाएकी हुन्।
उनले वातावरण अपराधविरुद्धको लडाइँलाई आफ्नो कामको प्राथमिकतामा सबभन्दा अगाडि राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
ग्वाजजरा अमेजन क्षेत्रमा रहेको अरारिबोइआ भन्ने ठाउँका अशिक्षित बाबुआमाकी छोरी हुन्, त्यहीँ उनले जलवायु परिवर्तनले कसरी इकोसिस्टमलाई पारेको विनाशकारी प्रभाव कस्तो हुन्छ भन्ने भोगिन्।
उनले साहित्य पढिन्, नर्स र शिक्षक बनेर काम गरिन् र अन्त्यमा अभियान कर्ममा लागिन्। सन् २०२२ मा उनी साउ पाउलो राज्यकी पहिलो आदिवासी सांसद बनिन्।
हामीले जलवायु न्यायलाई कसरी प्रवर्द्धन गर्ने भनेर सोच्नुपर्छ र वातावरणीय भेदभावविरुद्ध लड्नुपर्छ। किनभने वातावरणीय विनाशबाट सबभन्दा पहिले प्रभावित हुनेहरूले नै राम्रो संरक्षणको काम गर्न सक्छन्। हामी आदिवासीहरू जैविक विविधता र जीवनका सही संरक्षक हौँ।
सोनिया ग्वाजजरा
मानवाधिकार अभियानकर्मी
बहरेनी मूलकी डेनिश मानवाधिकार अभियानकर्मी मरियम अल-खवाजा बहरेन र खाडी क्षेत्रमा राजनीतिक सुधारको पक्षमा उभिएकी अग्रणी व्यक्ति हुन्।
मानवाधिकार उल्लङ्घनका घटनाहरू उजागर गर्दै उनले #FreeAlKhawaja अभियान चलाएर आफ्ना पिता अब्दुल्लाह अल-खवाजाको मुक्तिको माग गर्दै आएकी छन्। सन् २०११ मा बहरेनमा प्रजातन्त्रको पक्षमा आयोजित प्रदर्शनमा सहभागी भएकाले उनका पितालाई आजीवन कैदको सजाय सुनाइएको छ।
मरियम अल-खवाजा सिभिकस र इन्टर्न्याश्नल सर्भिस फोर ह्यूमन राइट्ससहित विभिन्न संस्थाको सञ्चालक समितिमा छिन्। उनी भर्खरै स्थापित नारीवादी सङ्गठन फ्रिडा र फिजिशन्स फोर ह्यूमन राइट्समा पनि सहभागी छिन्।
खतना रोक्ने अभियानकर्ता
महिलाको खतना (एफजीएम) गर्ने चलन निमिट्यान्न पार्न कटिबद्ध शाम्सा अनलाइन माध्यममा प्रेषित आफ्ना शक्तिशाली भिडिओमार्फत् त्यसबारे शिक्षा र चेतना फैलाउँछिन्।
आरावीलोको जन्म सोमालियामा भएको थियो र अहिले उनी यूकेमा बस्छिन्। छ वर्षको कलिलो उमेरमा उनको खतना गरिएको थियो। खतना गर्दा महिलाको यौनाङ्गको भाग आंशिक वा पूरै काटेर फाल्ने चलन छ।
टिकटकमा उनका ७ करोडभन्दा बढी फलोअर छन्। उनी सबैले सही सूचना पाऊन् भन्ने चाहन्छिन्।
उनी अहिले पारिवारिक प्रतिष्ठाको नाममा विदेशमा हिंसामा फसेका ब्रिटिश नागरिकहरूलाई सहयोग उपलब्ध गराउँछिन्। उनी लन्डन प्रहरीलाई एफजीएमको विषयमा सल्लाह दिन्छिन्। उनले आफ्नै सामाजिक संस्था 'गार्डन अफ पीस' पनि स्थापना गरेकी छन्।
बालविवाहविरोधी अभियानकर्मी
युुलान्डा एम्ताम्बा मलावीको लिलोङ्ग्वे समुदायमा हुर्केकी हुन् जुन समुदायमा महिला शिक्षाका लागि खासै सहयोग हुँदैन र १८ वर्ष पुग्नुअगावै धेरैको बिहे हुने गरेकाले उनीहरू बीचमै पढाइ छोड्छन्।
एम्ताम्बाले समाजमा रहेको यथास्थितिवादलाई चुनौती दिँदै विश्वविद्यालय तहको अध्ययनका क्रममा स्नातकोत्तर पनि पूरा गरिन्।
छिटै बिहे गर्न रोक लगाएको विद्यमान कानुनको पालना गरिनुपर्ने कम उमेरमा हुने गर्भधारणले निम्त्याउने स्वास्थ्य जोखिमको समस्यालाई सम्बोधन गर्न लगानी बढाउनुपर्नेमा उनले पैरवी गर्दै आएकी छन्।
हाल उनी मलावीका लागि एज अफ्रिका नामक संस्थाकी निर्देशक हुन्। उक्त संस्था अफ्रिकी महादेशमा सबै किशोरीलाई माध्यमिक तह शिक्षामा समान पहुँच दिलाउने पक्षमा काम गर्छ।
अधिवक्ता, लेखक र अभियानकर्मी
संंयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला मिशेल ओबामा गर्ल्स अपरचुनिटी अलायन्सकी संस्थापक हुन्। उक्त संस्थाले बालिका शिक्षाको क्षेत्रमा विश्वव्यापी काम गर्दै आएको छ।
प्रथम महिलाको रूपमा ओबामाले शुरू गरेको लेट गर्ल्स लर्न भन्ने अभियानमा टेकेर सो संस्थाको स्थापना भएको हो जसले विश्वभरि गुणस्तरीय शिक्षामा किशोरीहरूको पहुँच पुर्याउने प्रयासमा सघाउँछ।
प्रथम महिलाको रूपमा उनले अरू तीनवटा महत्त्वपूर्ण अभियानलाई पनि अगाडि बढाइन्: लेट्स मुभ नामक अभियानले स्वस्थ बालबालिका हुर्काउन बुवाआमालाई सघाउन खोज्यो; जोइनिङ फोर्सेस अभियानले अमेरिकी सैनिक, सेवानिवृत्त र उनीहरूका परिवारलाई सघायो भने रीच हाइअर नामक अभियान अहिले पनि सक्रिय छ जसले युवालाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्छ।
आवासअधिकार अभियानकर्मी
रुक्शना कपाली नेवा समुदायकी सदस्य तथा पारलैङ्गिक मानवाधिकारकर्मी हुन्। आफू हुर्किँदै गर्दा उनलाई आफ्नो पहिचानबारे यथेष्ट जानकारी थिएन।
उनले लैङ्गिक विविधता र यौनिकताबारे स्वाध्ययन गरिन्। किशोरावस्थादेखि नै उनी तेस्रोलिङ्गीसँग सम्बद्ध विषयमा सामाजिक सञ्जालमा पैरवी गर्दै आएकी छन्।
उनी अहिले कानुन विषय लिएर स्नातक तहमा अध्ययन गरिरहेकी छन्। उनी नेपालमा एलजीबीटीआईक्यू+ समुदायका मानिसको कानुनी र संवैधानिक अधिकारको पक्षमा सक्रिय छिन्।
उनी नेवा समुदायमा पनि निकै सीमान्तकृत मानिने 'जुगि' जातिकी सदस्य हुन्। उनी जुगि जातिका मानिसहरूलाई उनीहरू बस्दै आएको घरबाट बलपूर्वक निकालिने कार्यविरुद्ध सङ्घर्ष गरिरहेकी छन्।
आदिवासी अधिकारकर्मी
एमजन वर्षावन जोगाउने लडाइँमा अग्रपङ्क्तिमा रहेकी एलिसिआ कहुइयाले यस वर्ष ठूलो जित हासिल गरिन्।
गत अगस्टमा सम्पन्न एउटा ऐतिहासिक जनमतसङ्ग्रमा एक्वडोरका जनताले यासुनी न्याश्नल पार्कका सबै नयाँ तेल खानीमा रोक लगाउने पक्षमा मतदान गरे जसको अर्थ सरकारी तेल कम्पनीले यो ग्रहकै सबैभन्दा बढी जैविक विविधता भएकामध्ये एक ठाउँमा कामकारबाही रोक्नेछ। अरू समुदायसँग सम्पर्कमा नबस्ने आदिवासीहरू सो क्षेत्रमा बस्दै आएका छन्।
यासुनी क्षेत्रमा जन्मेकी कहुइया वाओरनी नेशन (एनएडब्ल्यूई) की नेत्री हुन् जसले जनमतसङ्ग्रहबारे एक दशकदेखि पैरवी गर्दै आएकी थिइन्।
उनी हाल एक्वडोर्स कन्फेडेरेशन अफ इन्डिजिनश पिपुलको महिला विभाग प्रमुख छिन्।
जलवायु परिवर्तनले हाम्रो लागि स्थिति निकै फरक बनाइदिएको छ। त्यसले निम्त्याउने बाढीले हाम्रा बालीनाली सखाप पार्छ। तापक्रम बढ्दा र सुक्खा हुँदा हाम्रो खाद्यान्नको ठूलो अंश नष्ट हुन्छ जसले दुःख निम्याउनुका साथै हाम्रो मेहनतलाई निरर्थक बनाइदिन्छ।
एलिसिआ कहुइया
अधिवक्ता तथा मानव अधिकारकर्मी
तत्कालीन युभोस्लाभियामा सन् १९९० को दशकमा लडाइँ शुरू भएपछि नतासा कान्डिकले त्यहाँ भएका बलात्कार, यातना, हत्या र जबरजस्ती बेपत्ता पार्ने युद्धकालीन अपराधको अभिलेखीकरण गरिन्।
बेल्ग्रेडस्थित वार क्राइम कोर्टमा उनले विभिन्न समुदायका पीडितहरूको प्रतिनिधित्व गरेकी छन्। कोसोभोप्रति स्लोबोदान मिलोसेभिचको सरकारले लिएको नीतिको आलोचनात्मक समीक्षा गर्ने एउटा समूहको हिस्सा पनि उनी भइन्।
कान्डिक ह्युमानिटेरीअन ल सेन्टरकी संस्थापक पनि हुन्। युद्ध अपराधबारे निष्पक्ष अनुसन्धानको लागि उक्त संस्थाको प्रशंसा हुँदै आएको छ।
उनले रेकोम रिकन्सिलिएशन नेटवर्क स्थापनामा पनि सघाइन्। उक्त संस्थाले अनुमानित एक लाख ३० हजार जनाको ज्यान लिएको बाल्कन युद्धसम्बन्धी तथ्यहरू खोज्ने काम गर्छ।
अग्निनियन्त्रक
सुरुमा गायन शिक्षक रहेकी सोफिआ कोसाचेभाले सन् २०१० मा अग्निनियन्त्रकहरूको एउटा समूहलाई भेटेपछि उनले आफ्नो नयाँ इच्छा थाहा पाइन्।
त्यसपछि उनी आफैँ अग्निनियन्त्रक बनिन् र रुसमा डढेलो नियन्त्रणका लागि स्वयंसेवकहरूलाई तालिम दिन एउटा समूह स्थापना गरिन्। अन्ततः यो विकसित हुँदै रुसभरि २५ भन्दा बढी स्वयंसेवी संस्थाहरू स्थापना भए।
उनले रुसमा १०० भन्दा बढी आगलागीका घटना नियन्त्रण गर्न सहयोग गरेकी छन्। ग्रीनपीस नामको एक गैरसरकारी संस्थालाई 'अवाञ्छनीय सङ्गठन' घोषित गरी यसको रुसी शाखा बन्द नगरिएसम्म उनले यस संस्थासँग सहकार्य गरिन्।
उनले स्वयंसेवी डढेलो नियन्त्रकहरूका लागि एउटा वेबसाइट पनि बनाएकी छन्। यसलाई डढेलो रोकथाम तथा नियन्त्रणबारे रुसी भाषामै सूचना भएको सबैभन्दा पूर्ण अनलाइन डेटाबेस मानिन्छ।
जलवायु सङ्कट जति नै व्यापक भए पनि हरेक ठूलो उपलब्धि ससाना उपलब्धिबाटै सुरु हुन्छ। कुनै कुरालाई विश्वव्यापी रूपमा परिवर्तन गर्नका लागि हामी एकदमै साना छौँ जस्तो देखिन सक्छ तर हामीले आफूवरिपरि परिवर्तन गर्न सकिने कुराहरूबाट यसको सुरुवात गर्नुपर्दछ।
सोफिआ कोसाचेभा
मानव अधिकार अधिवक्ता
अमाल क्लूनी पुरस्कार विजेता मानव अधिकार अभिवक्ता हुन् जसले अन्यायबाट पीडित भएका व्यक्तिहरूको अधिकारका लागि दुई दशक लडाइँ गरेकी छन्।
उनले पैरवी गरेका उल्लेखनीय मुद्दामा आर्मेनिया र म्यान्मारमा भएका नरसंहार, मलावी र केन्यामा महिलाविरुद्ध भएका यौनहिंसा र युक्रेनमा मानवताविरुद्ध भएका अपराधसम्बन्धी मुद्दा रहेका छन्।
उनले मुद्दामा पाएका पछिल्ला सफलतामा इस्लामिक स्टेट लडाकु र डार्फरका एउटा युद्ध नाइके संलग्न अपराधसम्बन्धी मुद्दा रहेका छन्।
उनी कोलम्बिआ ल स्कूलमा प्राध्यापन गर्छिन् भने क्लूनी फाउन्डेशन फर जस्टिसकी सहसंस्थापक पनि हुन्। उक्त संस्थाले ४० वटाभन्दा बढी देशमा मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका पीडितहरूलाई निःशुल्क कानुनी परामर्श उपलब्ध गराउँछ।
पूर्व सैन्य अधिकृत
जापानमा सन् २०११ मा गएको विनाशकारी भूकम्प र सुनामीमा महिला सैनिकहरूले ११ वर्षीया रिना गोनोईलाई मद्दत गरेपछि उनले जापानको सेल्फ-डिफेन्स फोर्सेसमा सेवा गर्ने सोच बनाएकी थिइन्।
उनी अधिकृत बनिन् तर "दैनिकजसो" यौन दुर्व्यवहारको सामना गरेपछि उनको बच्चैबेलादेखिको सपनामा तुषारापात भयो।
गोनोइले सन् २०२२ मा सेनाको जागिर छोडिन् र जवाफदेहिताका लागि एउटा सार्वजनिक अभियान सुरु गरिन्। पुरुषप्रधान समाजमा यौन दुर्व्यवहार पीडित महिलाले आफ्नोबारे भन्नुले उनैलाई असर गर्ने समाजमा यो निकै कठिन काम हो।
उनको मुद्दाले सेनालाई आन्तरिक अनुसन्धान गर्न दबाव दियो जसका कारण दुर्व्यवहारका अन्य सयौँ उजुरी पर्यो। रक्षा मन्त्रालयले गोनोइसँग माफी माग्दै एउटा पत्र लेख्यो।
राजनीतिक अभियानकर्मी
बेला ग्यालहस एक निडर अभियानकर्मी हुन् जसले सन् २००२ मा देश इन्डोनेशियाबाट स्वतन्त्र हुनु अघि र पछि इस्ट टिमोरलाई रुपान्तरण गर्न ठूलो भूमिका खेलेकी छन्।
निर्वासनमा रहेका वर्षहरूमा उनले आफ्ना मानिसहरूको स्वप्रतिवद्धताको वकालत गर्दै विश्व भ्रमण गरिन्। देश स्वतन्त्र भएपछि इस्ट टिमोर फर्किएपछि दशकौँसम्म द्वन्द्व बेहोरेर करिब आधा जनसङ्ख्या चरम गरिबीमा पुगेको देशको पुनर्निर्माणमा ग्यालहसले भूमिका खेलिन्।
सन् २०१५ मा उनले ल्युब्लोरा ग्रीन स्कूल खोलिन् जसले दीगो विकास र बालबालिकालाई परिवर्तनको संवाहक हुन प्रेरित गर्छ।
अहिले ग्यालहस टिमोरका राष्ट्रपतिको सल्लाहकारको रूपमा कार्यरत छिन् र उनी महिलाको आर्थिक सशक्तिकरण र एलजीबीटीक्यू+ समुदायका लागि अग्रणी आवाज बनेकी छिन्।
एग फ्रिजिङ' अभियानकर्मी
सन् २०१८मा बेइजिङस्थित सार्वजनिक अस्पतालमा उनले आफ्ना डिम्बहरू फ्रिज गर्न चाहिन्। तर अविवाहित शू जाओजाओलाई उक्त सुविधा विवाहित महिलाका लागि मात्रै भएको बताइयो।
उनले उक्त विषयलाई लिएर चीनमा अविवाहित महिलाले पनि डिम्ब फ्रिज गराउन पाउनेबारे अस्पतालविरुद्ध मुद्दा हालिन्।
देशको कम जन्मदारका बारेका चिन्तामाझ सन् २०१९ को डिसेम्बरमा सुरु भएको यो नौलो खाले कानुनी लडाइँबारे समाचारका थुप्रै शिर्षक बने।
अन्तिम फैसला आउन अझै बाँकी छ। तर शूको यो मुद्दाबारे कानुन, चिकित्साका प्राज्ञले अध्ययन गर्दै आएका छन्। आज, उनी महिलाको प्रजनन अधिकार र शरीरमाथिको स्वाधिकारबारे अग्रणी अभियानकर्मी हुन्।
सांसद
डीएना डेभिसन सन् २०१९ मा बिशप अक्ल्यान्डबाट निर्वाचित हुने पहिलो कन्जर्भेटिभ सांसद बनिन्। सन् १८८५ मा उक्त निर्वाचन क्षेत्र स्थापना भएको थियो। उनी सन् २०२२ मा लेभलिङ अप, हाउजिङ र कम्यूनिटिज हेर्ने मन्त्री बनिन्। उनले सामाजिक परिचालन र पुनरुत्पादनमा जोड दिएकी थिइन्।
आफू दीर्घ माइग्रेनबाट पीडित भएको बताउँदै उनले सेप्टेम्बर २०२३ मा राजीनामा दिइन्।
उनी १३ वर्षकी हुँदा डेभिसनका पिताको एउटा साङ्घातिक आक्रमणमा परेर मृत्यु भएको थियो। त्यसपछि उनी राजनीतिमा आएकी हुन्। उनले 'वन पन्च असल्ट' रोक्ने उद्देश्यले एउटा सर्वदलीय संसदीय समूह गठन गरिन्। उक्त समूहले यूकेमा एक मुक्का हानेर गरिने आक्रमणका घटनामा न्याय र सजायमा सुधारको पक्षमा अभियान सञ्चालन गर्छ।
उनी दीर्घ माइग्रेनको उपचारविधिमा सुधार गर्नुपर्ने र फैलिने स्तन क्यान्सरबारे थप अनुसन्धान हुनुपर्ने कुरामा जोड दिन्छिन्।
शरणार्थी अधिकार अभियानकर्ता
तालिबान सन् २००१ मा फेरि सत्तामा आएपछि देशमा भएका र शरणार्थी बनेर विदेश गएका अफगानहरूलाई महत्त्वपूर्ण स्रोत र सूचना दिने उद्देश्यले दोस्ती नेटवर्क स्थापना भयो।
यसकी सहसंस्थापक सुमिया तोरा आफैँ शरणार्थी हुन्। उनी विस्थापित मानिसहरूको पीडा बुझ्छिन्।
उनी शरणार्थीको बसोबास र द्वन्द्वबाट पीडित विद्यार्थीलाई शिक्षामा पहुँचमा जोड दिन्छिन्।
शिक्षामा रूपान्तरण गर्न सक्ने शक्ति भएको भन्दै तोराले संयुक्त राष्ट्रसङ्घ तथा विश्व ब्याङ्क, मलाला फन्ड र श्मिट फ्यूचर्सजस्ता संस्थासँग मिलेर काम गरेकी छन्। ती साझेदारीमार्फत् उनी आपत्कालीन अवस्थामा शरणार्थी, महिला र बालिकाहरूलाई विशेष ध्यान पुग्ने गरी शिक्षामा पहुँच हुनुपर्ने अभियान चलाउँछिन्।
अपाङ्गहरूको अधिकारबारे अभियानकर्मी
हिरो विमिन राइजिङ अर्थात् मामा शुजा नामक सञ्जालले कंगोमा महिला र किशोरीको जीवनस्तर सुधारका लागि काम गर्ने उद्देश्य राखेको छ।
अपाङ्गहरूको अधिकारबारेकी अभियानकर्मी नीमा नामादामुले स्थानीय स्तरमा काम गर्ने यो संस्था स्थापना गरेकी हुन्। जसले महिला आवाज बुलन्द गर्न र आफ्नो अधिकारका लागि वकालत गर्न शिक्षा र प्रविधिको प्रयोग गर्छ।
पूर्वी कंगोको ग्रामीण क्षेत्रमा जन्मेकी नामादामुलाई दुई वर्षको उमेरमा पोलियो लागेको थियो। आफ्नो जातीय समूहबाट अपाङ्गता भएर पनि स्नातक गर्ने उनी पहिलो महिला हुन्।
उनी सांसद् हुन् र लैङ्गिकता र परिवार मन्त्रालयकी सल्लाहकार पनि हुन्।
कूटनीतिज्ञ तथा जलवायुसम्बन्धी नीति मध्यस्थकर्ता
सन् २००९ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा वार्ता अवरुद्ध भएपछि समाधान खोज्न क्रिस्टियाना फिगेरेसलाई बोलाइएको थियो।
संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्शन अन क्लाइमेट चेन्जकी कार्यकारी सचिव नियुक्त भएपछि उनले छ वर्ष साझा जलवायु रणनीतिमा राष्ट्रहरूको सहमति सुनिश्चित हुने गरी एउटा योजना बनाउन काम गरिन्।
अन्ततः २०० पक्षले सन् २०१५ मा ऐतिहास
फिगेरेस 'ग्लोबल अप्टिमिजम' नामक संस्थाकी सहसंस्थापक हुन्। उक्त संस्थाले व्यापारिक संस्थाहरूलाई जलवायुसँग सम्बन्धित समाधान व्यावहारिक रूपमा खोज्न सघाउँछ।
कहिलेकाहीँ म दुःखित हुन्छु र म भावशून्य बन्छु, किंकर्तव्यविमूढ हुने गरी। अरू बेला मलाई रिस उठ्छ र भावनाहरूले मलाई गाँज्छन् - मलाई प्रतिक्रियामा जाइ लागौँ जस्तो लाग्छ। तर सहज समयमा रिस र पीडालाई म आफूलाई भावनाको जरामा बाँध्न खोज्छु अनि शक्ति, प्रेम र अपेक्षित आनन्दको बलमा तिनलाई एउटा वाचामा रूपान्तरण गर्नु खोज्छु। त्यसो गर्दा हामी मिलेर आफ्ना सन्तान र तिनका वंशजलाई अझ राम्रो संसार बनाइदिन सक्छौँ।
क्रिस्टियाना फिगेरेस
भूतपूर्व नेत्री तथा शान्तिवार्ताकार
यो वर्ष नोर्दर्न आयरल्यान्डको 'गुड फ्राइडे' सहमतिमा हस्ताक्षर भएको २५ वर्ष पूरा हुँदै छ। शीर्ष वार्ताकारका रूपमा मोनिका मक्विलियम्सले उक्त बहुपक्षीय शान्तिवार्तालाई सहमतिसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
उनी 'नोर्दर्न आयरल्यान्ड विमिन्स् कोअलिशन' नामक राजनीतिक दलकी सहसंस्थापक हुन्। उक्त दलले साम्प्रदायिक विभाजनलाई नाघेर शान्ति सम्झौताका लागि महत्त्वपूर्ण प्रावधानहरू ल्याएको थियो।
उनी नोर्दर्न आयरल्यान्डको पहिलो विधायन सभामा निर्वाचित भइन् र नोर्दर्न आयरल्यान्डको मानवाधिकार आयोगकी प्रमुखका रूपमा उनले नोर्दर्न आयरल्यान्डका लागि अधिकारको विधेयकको मस्यौदा तयार पारिन्।
मक्विलियम्स अहिले शसस्त्र समूहहरूलाई निरस्त्र पार्ने आयोगमा छिन। उनले महिलाविरुद्धको हिंसाबारे धेरै लेखहरू प्रकाशित गरेकी छन्।
पत्रकार
तमुना भनेर पनि चिनिने १८ वर्षको उमेरबाट काम थालेकी टेलिभिजन पत्रकार तमार मुसेरिड्जे जर्जिआकी चर्चित सञ्चारकर्मी हुन्। आफूलाई धर्मपुत्रीको रूपमा पालिएको कुरा ३१ वर्षको उमेरमा थाहा भएपछि उनको जीवनमा ठूलो परिवर्तन आयो।
जन्म दिने आमाबुवाको खोजी गर्ने कामको सिलसिलामा उनले सबै कुरा छोडिन् र सो क्रममा उनले सन् १९५० कै दशकदेखि जर्जिआमा धर्मपुत्रपुत्री पाल्ने काममा कालोबजारी हुँदै आएको पत्ता लगाइन्।
उनले "आई एम सर्चिङ" नामक फेसबुक ग्रुप खडा गरिन् जसले गैरकानुनी रूपमा खासगरी प्रसुती गृहबाट ल्याएर धर्मपुत्रपुत्री पाल्ने कार्यबारे देशव्यापी बहस निम्त्यायो।
मुसेरिड्जेको संस्थाले सयौँ परिवारका सदस्यबीच पुनर्मिलन गराएको छ। तर उनले आफ्नै परिवार पत्ता लगाउन सकेकी छैनन्।
महिला अधिकार तथा जलवायु अभियानकर्मी
नाज्ला मोहमद-लामिन 'अलमसार लाइब्रेरी सेन्टर'की संस्थापक हुन्। उनी दक्षिणपश्चिम अल्जेरियास्थित सहारावी शरणार्थी शिविरमा महिला र बालबालिकालाई स्वास्थ्य तथा पर्यावरणबारे शिक्षा दिन चाहन्छिन्।
उनको पुर्ख्यौली थलो वेस्टर्न सहारा हो। पहिला स्पेनको उपनिवेश रहेको उक्त स्थान सन् १९७५ देखि मोरकोको अधीनमा छ। उक्त क्षेत्रमा हिंसा फैलिएपछि उनको परिवार भागेको थियो र त्यसपछि उनीहरू निर्वासनमा छ।
नाज्ला मोहमद-लामिनको जन्म र लालनपालन शरणार्थी शिविरमै भयो। किशोरी हुँदा उनले अङ्ग्रेजी सिकिन्। विदेशी प्रतिनिधिहरू आउँदा उनी दोभासे बन्थिन्। विदेशमा अध्ययन गर्न जान उनले क्राउडफन्डिङबाट खर्च जुटाएकी थिइन्।
दिगो विकास र महिलासम्बन्धी विषयमा स्नातक गरेपछि उनी २,००,००० शरणार्थी बसोबास शरणार्थी शिविरमै फर्किन्। उनी त्यहाँ जलवायु परिवर्तनका कारण अझ नराम्रो अवस्थामा पुगेको पानी तथा खाद्य असुरक्षा सामना गर्ने उपाय सिकाउँछिन्।
हामीले मरुभूमि क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभाव रोक्नुपर्छ। त्यस्तो प्रभावका कारण हाम्रो बसोबास निरन्तर रूपमा बाढी र बालुवाको आँधीले भत्काइदिन्छन् अनि हाम्रा मानिसहरूले अत्यधिक तापमानले गर्दा दुःख पाउँछन्। हाम्रा मानिसले जलवायु सङ्कट हुने केही काम गरेका छैनन् तैपनि यो सबै खेप्नुपरेको छ।
नाज्ला मोहमद-लामिन
नारीवादी नेत्री
सन् १९७० को दशकदेखि विश्वव्यापी नारीवादी अभियानकी एक नेत्रीको रूपमा ग्लोरिया स्टाइनमको योगदानले संसारभरि पुस्ताहरूबीच पहिचान पाएको छ।
समानताका मुद्दामा उनले अभियानकर्मी, पत्रकार, लेखक, शिक्षक र सञ्चार प्रवक्ताको रूपमा काम गरेकी छन्।
उनी सहसंस्थापक रहेकी सन् १९७१ मा पहिलो पटक आएको एमएस म्यागजीन अहिले पनि प्रकाशनमा छ। उक्त म्यागजीनलाई अमेरिकामा नारी अधिकार आन्दोलनका मुद्दालाई मूलधारमा ल्याउने पहिलो आवधिक पत्रिका मानिन्छ।
उन्नानब्बे वर्षको उमेरमा पनि स्टाइनमले चर्चित विमिन्स मिडिया सेन्टर, ईरा कोअलिशन एन्ड इक्वलिटी नाउ जस्ता संस्थामार्फत् समानताको क्षेत्रमा आफ्नो योगदान जारी राखेकी छन्।
जलवायु नीति सल्लाहकार
जलवायु नीतिकी अग्रणी विशेषज्ञ इरिन्या स्टाभचक हालै युक्रेन कार्यक्रम व्यवस्थापकका रूपमा युरोपीअन क्लाइमेट फाउन्डेशनमा आबद्ध भएकी छन्। आफ्नो देशमा युद्धपछिको पुनर्निर्माणका क्रममा हरित तथा जलवायु परिवर्तनबाट सुरक्षित समाधानहरू तर्जुमा गर्ने उनको उद्देश्य छ।
यसभन्दा अघि उनी सन् २०१९ देखि २०२२ सम्म युक्रेन सरकारको वातावरण उपमन्त्री थिइन्। जलवायु परिवर्तनसम्बन्धी नीति, युरोपेली एकीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध र जैविक विविधता उनको जिम्मेवारीमा पर्दथ्यो।
उनी 'इकोएक्शन' र 'कीभ साइक्लिस्ट्स असोसिएशन (यू-साइकल)' नामक युक्रेनका दुई मुख्य गैरसरकारी संस्थाकी संस्थापक पनि हुन्। जलवायु परिवर्तनका मुद्दाहरूमा कार्यरत नागरिक समाजका समूहहरूको क्षेत्रीय सञ्जालहरूमा उनले समन्वयको काम गरिन्।
हामी जुन ठाउँ र अवस्थामा छौँ, त्यहीँ हामीले सकेसम्म राम्रो गर्नुपर्छ। म असीसीका सेन्ट फ्रान्सिसका शब्दहरूमा प्रतिबद्ध छु, "जे आवश्यक छ त्यसबाट काम सुरु गर्नुहोस् अनि त्यसपछि जे सम्भव छ त्यो गर्नुहोस्, अकस्मात् तपाईँ असम्भव काम गरिरहनुभएको हुनेछ।"
इरिन्या स्टाभचक
बेपत्ताहरूका परिवारका लागि पैरवीकर्ता
सन् २००८ मा आफ्नी दिदी/बहिनी बेपत्ता भएपछि बर्नाडेट स्मिथले थकाइको परबाह नगरी उनको खोजी गरिन्।
अन्ततः उनी क्यानडामा हराइरहेका र मारिएका आदिवासी महिला र बालिकाहरूका परिवारका लागि पैरवी गर्ने अगुवा बनिन्। उनले त्यसको समन्वय गर्न एक सञ्जाल बनाइन्।
उनले 'ड्राग द रेड' नामको एक प्रयास पनि सुरु गरिन्। यसले विनिपेगको रेड नदीमा मानिसका शव तथा बेपत्ता व्यक्तिबारे अन्य सूचना खोज्छ।
हालै उनी तेस्रो कार्यकालका लागि म्यानिटोबाको प्रादेशिक संसद्मा निर्वाचित भएकी छन्। उक्त प्रदेशको सरकारमा 'फर्स्ट नेशन' समुदायबाट मन्त्री नियुक्त भएका दुई महिलामध्ये उनी प्रथम हुन्। उनी हाल उक्त प्रदेशको आवास, दुर्व्यसन तथा घरवासविहीनतासम्बन्धी मन्त्री छिन्।
आवाससम्बन्धी अभियानकर्मी
मायामीको लिटल हेइटीमा बस्ने म्याडम रेनिता होल्म्स आवर होम्सकी संस्थापक निर्देशक हुन्। अमेरिकाको फ्लोरिडामा रहेको उक्त संस्थाले घरजग्गाबारे परामर्श दिने काम गर्छ।
जलवायु परिवर्तनका कारण प्रभावितसहितका मानिसहरूको आवासको अधिकारबारे उनी अभियान चलाउँछिन्।
एघार सन्तान भएकी एकल आमाबाट हुर्काइएकी होल्म्स अपाङ्गता भएकी महिला हुन्।
उनी क्लिओ इन्स्टिट्यूट्स इम्पावरिङ रेजिलिएन्ट विमिन कार्यक्रमकी फेलो पनि हुन्। उक्त कार्यक्रमले विज्ञानमा आधारित शिक्षामार्फत् जलवायु परिवर्तनका असरबारे कदम चाल्नुपर्नेमा जोड दिन्छ। उनी अफ्रिकी-अमेरिकी र भित्री शहरका महिलाका मुद्दाबारे स्थानीय घरजग्गा कारोबार कम्पनीहरूलाई सघाउँछिन्।
धर्ती मातासँग महिलाहरूको अन्तर्सम्बन्धलाई चिनाउन सकिने विश्वास छ। हामी सबल, दृढ छौँ। लालनपालन गर्न सक्षम छौँ। हामी काम गर्न सक्छौँ। हामी ख्याल गर्छौँ।
रेनिता होम्स
वातावरण मामिला सल्लाहकार
सिङ्गो महादेशकी एक प्रेरणादायी नेतृ वन्जिरा मथाइले सामाजिक र वातावरणीय मुद्दामा २० वर्षभन्दा बढी समय काम गरेकी छन्।
उनले केन्याको आदिवासी संस्था ग्रीन बेल्ट मुभमेन्टको नेतृत्व गरिन् जसले महिलाहरूलाई वृक्षारोपणमार्फत् सशक्तीकरणमा सघाउँछ। वन्जिराकी आमा वन्गारी मथाइले उक्त संस्थाको स्थापना गरेकी हुन् जसलाई सन् २००४ को नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
मथाइ हाल वर्ल्ड रिसोर्सेस इन्स्टिट्यूटस्थित अफ्रिका एन्ड ग्लोबल पार्टनरशिप्सकी प्रबन्ध निर्देशक र वन्गारी मथाइ फाउन्डेशनकी प्रमुख पनि हुन्।
उनी बेजोस अर्थ फन्डकी अफ्रिका सल्लाहकारका साथै क्लीन कुकिङ अलायन्स तथा युरोपियन क्लाइमेट फाउन्डेशनकी पनि सल्लाहकार हुन्।
कदम चाल्ने कुरा "स्थानीय" हुन्छ। हामीले रूख रोपेर गरिने आयआर्जन गराउने जस्ता प्रयास, समुदाय नेतृत्वको पुनर्स्थापनाका काम लगायत स्थानीय पहलहरूलाई सघाउनुपर्छ। तल्लो तहबाट माथिल्लो तहसम्म गरिने प्रयासले मलाई आशा जगाउँछ र सम्भव हुन्छ भन्ने पनि देखाउँछ।
वन्जिरा मथाइ
ग्रिन बिल्डिङ उद्यमी
सन् २०१४ मा तथाकथित इस्लामिक स्टेट समूहले उनको जन्मभूमि रहेको इराकको ठूलो भाग कब्जामा लियो। त्यतिबेला बसिमा अब्दुलरहमान अमेरिकामा एउटा विश्वविद्यालयमा पढ्दै थिइन्।
लडाइका कारण इराकका धेरै नगरहरू ध्वस्त भए तर स्ट्रक्चुरल इन्जिनियरिङमा स्नातकोत्तर सकेर गृहदेश फर्किँदा उनले सहयोग गर्नसक्ने ठाउँ देखिन्।
उनले केइएसके स्थापना गरिन् जसले इराकका परम्परागत भवन बनाउने उपायमा उर्जायुक्त प्रविधि र सामाग्रीको प्रयोग गरेर नयाँ संरचना बनाउन सकिने तरिका पत्ता लगायो।
उनी भविष्यका पुस्ताको स्वास्थ्यमा सम्झौता नगर्ने गरी भवनहरू बनाइने प्रत्याभूतिका लागि प्रतिवद्ध छिन्।
म जलवायु परिवर्तनबारे धेरैजसो चिन्तित रहन्छु। यसको खतरा कम गर्ने उपायको हिस्सा नभइ कसरी शान्त रहन सकिन्छ भनेर म सोचिबस्छु।
बसिमा अब्दुलरहमान
स्वयंसेवी उद्धारकर्मी
सन् २०१७मा सिरियामा गृहयुद्ध चर्कँदै गएपछि अमिना अल-बिशले 'ह्वाइट हेल्मेट्स' नामले चिनिने स्वयंसेवी संस्था 'सिरिया डिफेन्स फोर्स'को सदस्य बन्ने निधो गरिन्। मानिसहरूलाई युद्धबाट बचाउन र गैरसैनिक घाइतेहरूलाई प्राथमिक उपचार प्रदान गर्न उनी त्यस समूहमा लागेकी थिइन्, जति बेला एकदमै थोरै महिलाहरू मात्र त्यहाँ आबद्ध थिए।
सन् २०२३ को फेब्रुअरीमा सिरिया र टर्कीमा गएको भूकम्पपीडितको उद्धारमा पनि उनले स्वयंसेवा गरिन्। भूकम्पमा उनको परिवारका आफ्नै सदस्य पनि भग्नावशेषमा पुरिएका थिए भने उनको छरछिमेकमा विध्वंस निम्तिएको थियो।
हाल उनी युद्ध जारी रहेको उत्तरी सिरियामा बस्ने आफ्नो समुदायका अन्य महिलाको जीवनस्तरमा सुधार ल्याउनका लागि कार्यरत छिन्। बिज्निस एड्मिनिस्ट्रेशनमा स्नातकोत्तर अध्ययनरत उनी सिरियाको शान्ति स्थापनामा सहभागी हुनु नै आफ्नो सपना रहेको बताउँछिन्।
मानसिक स्वास्थ्य अभियानकर्मी
जेनिफर उचेन्डुले स्थापना गरेको युवा नेतृत्वको सस्टीभाइब्स नामक संस्थाको उद्देश्य दिगोपनलाई मानिसहरूसँग अझ नजिक र काम गर्न सक्ने बनाउने रहेको हो।
उचेन्डुको पछिल्लो काम खासगरी अफिक्री युवाहरूको मानसिक स्वास्थ्यमा जलवायु परिवर्तनले पारेको असर पत्ता लगाउनेमा केन्द्रित रहेको छ।
सन् २०२२ मा उनले द इको-एङ्जाइटी अफ्रिका प्रोजेक्ट (टीईएपी) स्थापना गरिन् जसले अनुसन्धानमार्फत् जलवायु परिवर्तनसम्बन्धी मुद्दाबारे जनचेतना फैलाउँछ।
उनको लक्ष्य त्यस्ता मान्छे र सङ्गठनहरूसँग काम गर्ने रहेको छ जसले मनस्थिति परिवर्तन र जलवायुबारे सिक्न कठिन र असहज काम गर्छन्।
जलवायु सङ्कटको विषय आउँदा म धेरै संवेगहरू महसुस गर्छु। यो कुरालाई मैले बिस्तारै स्वीकार्न थालेकी छु कि म सबै गर्न त सक्दिनँ तर सकेको गर्नेछु।
जेनिफर उचेन्डु
मरिन वैज्ञानिक
कार्बन भण्डारण गर्न सक्ने क्षमताका लागि परिचित समुद्रीघाँसले माछालाई हुर्कन, बस्न पनि स्थान दिन्छ। तर पानीमुनिका कतिपय वासस्थान ध्वस्त भएका छन्।
लिआन कलन-अन्सवर्थ प्रोजेक्ट सीग्रासका संस्थापकमध्ये एक र बहालवाला प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उल्लेख्य रूपमा यूकेमा समुद्रीघाँस पुनःस्थापित गराउने त्यहाँको यो पहिलो परियोजना हो।
उक्त परियोजनाले रोबोटको माध्यमबाट घाँस रोप्ने प्रक्रियालाई सहज बनाउन सघाउनुका साथै अरू देशलाई पानीमुनि घाँसेमैदान सिर्जनाका लागि ब्लूप्रिन्ट बनाउँछ।
मरिन अनुसन्धानबारे २० वर्षभन्दा बढी अनुभवी बहुविधाकी वैज्ञानिक कलन-अन्सवर्थले विज्ञानमा आधारित संरक्षण एवं पुनःस्थापन कार्यमा आफूलाई समर्पित गरेकी छन्।
कोही एक्लैले हासिल गर्न थुप्रै काम गर्नुपर्ने हुन्छ, तर मानिसहरूले एकसाथ काम गरिरहेका छन् र ज्ञान साझा गरिरहेका छन्। मेरो आफ्नो सानो भूमिका के हुन्छ भने हामीलाई थाहा छ कि हाम्रो ग्रह र समाजलाई फाइदा पुर्याउने महत्त्वपूर्ण वासस्थानलाई ब्युँताउन र संरक्षण गर्न सक्छौँ।
लिआन कलन-अन्सवर्थ
पशुचिकित्सक
युगाण्डाका पुरस्कार विजेता संरक्षणविद् ग्लेडिस कलेमा-जिकुसोका देशको संकटमा परेका गुरिल्लालाई संरक्षण गर्नेबारे काम गर्छिन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बस्ने उनीहरूको बसोबास मासिँदै गएको छ।
उनी कन्जरभेसन थ्रु पब्लिक हेल्थकी संस्थापक तथा कार्यकारी अधिकृत हुन्। उक्त गैरसरकारी संस्थाले मानिस, गुरिल्ला र अन्य वन्यजन्तु मिलेर बस्न र उनीहरूको स्वास्थ्य र बसोबासमा सुधार ल्याउन जैविकविविधता संरक्षणलाई प्रोत्साहन गर्छ।
तीन दशकपछि उनले ३००बाट गुरिल्लाको सङ्ख्या ५०० बनाउन मद्दत पुर्याइन् जुन समयमा अति सङ्कटमा परेको जनावरलाई सङ्कटको अवस्थामा ल्याउन सहयोगी बन्यो।
सन् २०२१ मा संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी कार्यक्रमले कलेमा-जिकुसोकालाई च्याम्पिअन अफ द अर्थको नाम दियो।
तत्कालै सम्बोधन गर्नुपर्ने जलवायु संकटबारे बढ्दो स्वीकारोक्तिले मलाई आशावादी बनायो। यो सङ्कटसँग जुध्ने नयाँ तरिकाहरू छन्।
ग्लेडिस कलेमा-जिकुसोका
डढेलो पत्ता लगाउने प्रविधि विकासकर्ता
यो वर्ष मात्रै विश्वका केही ठूला जङ्गलमा व्यापक डढेलो लागे। डढेलो नियन्त्रणमा अग्निनियन्त्रकहरूले गर्ने गरेका सङ्घर्षबीच सोनिया कास्टनरले चाँडै डढेलो पत्ता लगाउन सघाउने एउटा संस्थाको स्थापना गरिन्।
प्यानो एआईले आर्टिफिशल इन्टेलिजन्स प्रविधिको प्रयोगमार्फत् डढेलो फैलिनु अगाडि नै तयारीका लागि सघाउँछ जसका कारण मानिसहरू आपत्कालीन सेवालाई फोन गर्नुको सट्टा डढेलोबारे सजग गराइन्छ।
कास्टनरले यसअघि प्रविधि स्टार्ट-अप कम्पनीहरूमा १० वर्ष बिताएकी छिन्।
मान्छेले गरेका अन्वेषणको अविश्वसनीय शक्तिले ममा आशा जगाउँछ। मैले प्रविधिको शक्ति र डेटामा आधारित समाधानले जलवायु सङ्कटका अति नराम्रो असरलाई सम्बोधन गर्न सक्ने प्रत्यक्ष रूपमा देखेकी छु।
सोनिया कास्टनर
बायोग्यास व्यवसाय सञ्चालक
सन् २०१२ मा त्रान गामले भियतनामका फार्महरूमा जलवायुका दृष्टिकोणले अझ उपयुक्त ऊर्जाका स्रोतहरूको प्रयोग सुरु गरिन्।
दुई सन्तानकी आमा उनले यसका लागि बजारमा अभाव देखिन् र हानोइमा बायोग्यास प्लान्ट जडान र व्यवस्थापन गर्ने व्यवसाय सुरु गरिन्। पछि यसलाई उनले तीन छिमेकी प्रदेशहरूमा पनि विस्तार गरिन्।
उनको परियोजनाले किसानहरूलाई गाई तथा सुँगुरको मल, जलकुम्भी र अन्य फोहोरलाई बायोग्यासमा परिणत गरी प्राकृतिक ग्यासभन्दा अत्यन्त दिगो ऊर्जा मानिने बायोग्यास प्रयोग गर्न र खर्च घटाउन मद्दत गर्छ। यस्तो बायोग्यास खाना पकाउन र अन्य घरायसी काममा पनि प्रयोग गर्न सकिन्छ।
उनको जस्तो व्यवसायमा स्थानीय समुदाय पनि संलग्न हुन्छन् र तिनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि आवश्यक राजनीतिक सहयोग प्रवर्धन गर्छन्।
हामी बाँच्नुपर्छ र राम्ररी बाँच्नुपर्छ। त्यसैले मैले शारीरिक अभ्यास, सन्तुलित भोजन र सुताइको तालिका व्यवस्थापनलाई सबल बनाएर आफूले माया गर्ने मानिसहरूलाई बचाउन प्रयास गरेकी छु। म मानिसहरूलाई प्राकृतिक जीवनशैली अपनाउन, आफ्ना लागि चाहिने फलफूल र तरकारी उब्जाउन र तरकारीमा विषादिको प्रयोगविरुद्ध पैरवी गर्न प्रोत्साहन गर्छु।
त्रान गाम
एआई विज्ञ
टिम्निट गेब्रु आर्टिफिशल इन्टेलिजन्सको विषयमा दक्षता भएकी प्रभावशाली कम्प्युटर वैज्ञानिक हुन्। उनी 'डिस्ट्रिब्युटेड आर्टिफिशल इन्टेलिजन्स रिसर्च इन्स्टिट्यूट' (डीएआईआर) की संस्थापक तथा कार्यकारी निर्देशक हुन्। उनले उक्त संस्थालाई "ठूला कम्पनीको व्यापक प्रभावबाट मुक्त स्वतन्त्र र समुदायमा आधारित एआई अनुसन्धानको थलो" बनाउने उद्देश्य राखेकी छन्।
उनले अनुहार चिन्ने 'फेशल रिकग्निशन' प्रविधिमा विद्यमान वर्णभेदको आलोचना गरेकी छन्। एआईमा अश्वेत मानिसहरूको समावेशितामा सुधार ल्याउने उद्देश्य भएको एउटा गैरनाफामूलक संस्थाको उनी सहसंस्थापक हुन्।
इथियोपियामा जन्मिएकी यी कम्प्युटर वैज्ञानिक 'एडिसकोडर' को सञ्चालक समितिमा छिन्। उक्त संस्थाले इथियोपियाली विद्यार्थीहरूलाई कम्प्युटर प्रोग्र्यामिङ सिकाउँछ।
गुगलको एथिकल एआई टोलीको नेतृत्वमा हुँदा सन् २०२० मा उनको सहलेखनमा एआई ल्याङ्विज मोडलहरूबारे प्रश्न उठाउँदै एउटा प्राज्ञिक शोधपत्र प्रकाशित भयो। त्यसमा अल्पसङ्ख्यक र सीमान्तकृत मानिस र स्थानविरुद्ध संरचनागत पूर्वाग्रहका विषयहरू थिए।
उक्त शोधपत्रका कारण उनी गुगलबाट बिदा हुनुपर्यो।, त्यति बेला गुगलले उक्त शोधपत्रमा सम्बन्धित अनुसन्धानलाई बेवास्ता गरिएको टिप्पणी गरेको थियो भने गेब्रुले राजीनामा गरेको बताइन्। तर पछि गेब्रुले कार्यस्थलमा भएको भेदभावविरुद्ध प्रश्न उठाएकाले आफूलाई हटाइएको दाबी गरिन्।
अर्थशास्त्री र नोबेल पुरस्कार विजेता
क्याउडियाले यो वर्ष अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हात पारिन्। उनी अर्थशास्त्र इतिहासकार र श्रमअर्थशास्त्री हुन्। महिलाको रोजगारी र पारिश्रमिकमा लैङ्गिक विभाजनबारे गरेको अनुसन्धानका लागि उनलाई नोबेल पुरस्कार दिइएको हो।
अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने उनी तृतीय महिला र अरूसँग नभई एक्लै उक्त पुरस्कार पाउने प्रथम महिला हुन्।
गोल्डिन हार्भर्ड यूभिभर्सिटीमा प्राध्यापन गर्छिन्। आयमा असमानता, शिक्षा र आप्रवासनजस्ता विषयमा उनी अनुसन्धान गर्छिन्।
आफ्ना प्रभावशाली शोधपत्रमा उनले आजीविका र परिवारका लागि महिलाले गरेको प्रयासको इतिहास तथा गर्भनिरोधका चक्कीबाट महिलाको आजीविका र विवाहसम्बन्धी निर्णयमा परेको प्रभावबारे केलाएकी छन्।
वैज्ञानिक तथा आविष्कारक
जानान डाग्डिभिरेन अमेरिकास्थित म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी) मा प्राध्यापन गर्छिन्। उनले समयमै स्तन क्यान्सर क्यान्सर पत्ता लगाउन सघाउने अल्ट्रासाउन्ट प्याचजडित पोसाक बनाएकी छन्।
आफ्नी एक आफन्तलाई ४५ वर्षको उमेरमा अन्तिम चरणमा पुगिसकेको स्तन क्यान्सर भएको पत्ता लागेपछि उनले उक्त उपकरण बनाएकी हुन्।
ती आफन्त मृत्युशय्यामा हुँदा डाग्डिभिरिनले उक्त उपकरणको खाका बनाएकी थिइन्। त्यो उपकरणलाई ब्रामा राख्न सकिन्छ। त्यसको प्रयोगबाट स्तन क्यान्सरको उच्च जोखिममा भएका व्यक्तिहरू पत्ता लगाउन सकिन्छ। यो उपकरणले लाखौँ मानिसको जीवन जोगाउन सघाउने ठानिएको छ।
सामाजिक मनोवैज्ञानिक
करिब दुई दशकअघि सामाजिक मनोवैज्ञानिक फ्याबिओला त्रेओले आफ्नो शैक्षिक यात्रा सुरु गर्दासम्म मेक्सिकोमा सामाजिक न्यायको एक सवालका रूपमा महिलाको यौन आनन्दका विषयमा केन्द्रित कुनै अध्ययन भएको थिएन।
तर त्रेओले सामाजिक असमानता, लैङ्गिक हिंसा र यौन आनन्दको राजनीतिक शक्तिमा केन्द्रित भई काम गरिन् र महिलाका लागि यौन न्याय प्रवर्धन गर्ने प्रयास गरिन्।
केही असमानताहरूले महिलालाई यौनका पक्षमा थप जोखिममा राख्ने उनको तर्क छ। विभिन्न कार्यक्रममा बोलेर, वैज्ञानिक अध्ययन गरेर अनि व्यावहारिक कार्यशाला सञ्चालन गरेर उनी मानिसहरूलाई आनन्द, चरम यौन आनन्द र हस्तमैथुनबारे अध्ययन गर्न सहयोग गर्छिन् ता कि उनीहरू यस्ता असमानतालाई जित्न सकून्।
उनको काम ल्याटिन अमेरिका र स्प्यानिश भाषा बोलिने समुदायहरूमा फैलिएको छ, जहाँ महिला स्वास्थ्य र यौनिकतासम्बन्धी विषयमा चर्चा गर्न अझै निषेध छ।
साउन्ड रेकर्डिस्ट
इजाबेला दूजिक हातमा टेप रेकर्डर बोकेर पोल्यान्डस्थित बियालोवेजा जङ्गलमा असामान्य ध्वनिहरू रेकर्ड गर्न निस्किन्छिन्। उक्त जङ्गल युरोपमा भएका पुरानोमध्येको एउटा संरक्षित जङ्गल हो।
पुरुषको वर्चस्व भएको क्षेत्रमा दत्तचित्त भएर लागेकी यी युवती जन्मजात दृष्टिविहीन छिन्।
उनलाई उनको परिवारले १२ वर्षको उमेरमा एउटा टेप रेकर्डर दिएको थियो। त्यस बेलादेखि नै दूजिकले चराचुरुङ्गीको आवाज चिन्ने विशेष क्षमता छ। उनी आवाज सुनेरै चराहरूको प्रजाति छुट्ट्याउन सक्छिन्।
एकआपसमा मतभिन्नता भए पनि प्रकृतिको ध्वनिबाट प्राप्त हुने "सबै राम्रा र सुन्दर कुरा र सन्तुष्टि" बाँड्नु विशेष भएको उनको धारणा छ।
पर्वतारोहण पथप्रदर्शक
हिमनदीहरू स्थानीय समुदायका लागि ताजा पानी उपलब्ध गराउने स्रोत हुन्। तर कोलम्बियामा ती अहिले तीव्र गतिमा लोप भइरहेका छन्।
गैरसरकारी संस्था क्युम्ब्रेस ब्लाङ्कास (सेता चुचुरा) की संस्थापक मार्सेला फर्नान्डिज र उनका सहकर्मीहरू हिमनदीबारे जनचेतना जगाउँछन् र १४ वटामध्ये बाँकी रहेका छवटा हिमनदी पनि जोखिममा रहेकाबारे उनीहरू बताउँछन्।
वैज्ञानिक ढङ्गले पर्वतारोहण गरेर, पर्वतारोहीको एउटा टोली बनाएर, तस्बीरहरू, वैज्ञानिक र कलाकारको मद्दतले फर्नान्डिज परिवर्तनको अवलोकन गर्छिन् र हिमनदीमा हुने क्षति रोक्न रचनात्मक तरिकाहरू अपनाउँछिन्।
आफ्नो जारी परियोजना "पाजाबोर्डो" (पीस अन बोर्ड) मार्फत् उनी कोलम्बियाको ५० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित क्षेत्रको पनि भ्रमण गर्छिन्।
हिमनदीहरूले मलाई पीडा र अनुपस्थितिको अवस्थासँग कसरी जुझ्ने भन्ने सिकाएका छन्। जब तपाईँ तिनलाई सुन्नुहुन्छ तपाईँलाई थाहा हुन्छ कि अब फर्काउन सक्नुहुन्छ, तर हामी अझै योगदान दिन सक्छौँ र एउटा छाप छोड्न सक्छौँ।
मार्सेला फर्नान्डिज
लेखक तथा दिगोपनसम्बन्धी पैरवीकर्ता
सन् २०१८ यता बयाङले पर्यावरणबारे दैनिकी राख्ने, स्थानीय प्रजातिहरूको अवलोकन गर्ने, पानीका स्रोतमा आएका परिवर्तन हेर्ने, मौसमबारे विवरण रेकर्ड र वनस्पतिहरूको अवलोकन गर्ने काम गर्दै आएकी छन्।
बयाङ चीनको चीङ्घाई प्रान्तमा बस्छिन् जुन ठाउँ तिब्बती पठारमा अवस्थित छ र त्यसले जलवायु परिवर्तनका असरहरूलाई महसुस गर्न थालिसकेको छ। त्यहाँ उच्च तापक्रम वृद्धिदेखि हिमनदीहरू पग्लिने जस्ता असर देखिन थालेका छन्।
बयाङ सान्जियाङयुआन विमिन इन्भारोमेन्टालिस्ट्स नेटवर्कमा आबद्ध छिन्। उनी स्वास्थ्य र दिगोपनाबारे आफ्नो समुदायमा पैरवी गर्छिन्।
पर्यावरणमैत्री ढङ्गले लिप बाम, साबुन र झोला जस्ता सामान उत्पादन गर्न उनीसँग सीप छ। त्यसले स्थानीय जलस्रोतको संरक्षणमा टेवा पुग्नुका साथै वातावरणको हितमा काम गर्न अरूलाई पनि प्रेरित हुन्छन्।
पार्टिकल भौतिकशास्त्री
प्राध्यापक आनामारिया फोन्ट भियारोएल पार्टिकल फिजिक्सको क्षेत्रमा अनुसन्धान गर्छिन्। उनी सुपरस्ट्रिङ सिद्धान्तमा केन्द्रित छिन्। उक्त सिद्धान्तले प्रकृतिमा भएका सबै कण र आधारभूत बलहरूलाई ऊर्जाका सूक्ष्म र कम्पन हुने त्यान्द्राको मोडलका आधारमा व्याख्या गर्छ।
भियारोएलको अनुसन्धानले पदार्थ र क्वान्टम गुरुत्वको सन्दर्भमा उक्त सिद्धान्तको प्रभाव बुझ्न सघाएको छ। ब्ल्याकहोलको व्याख्या र बिगब्याङपछिको क्षणसँग सम्बन्धित विषयमा यी कुरालाई प्रासङ्गिक मानिन्छ।
उनले यसअघि भेनेजुएलामा 'फुन्डाशिओन पोलर' उपाधि जितेकी थिइन्। यो वर्ष उनलाई यूनेस्कोले 'विमिन इन साइन्स' बाट सम्मानित गरेको छ।
मिड्वाइफ
पाकिस्तानमा गत वर्ष विनाशकारी बाढी आएपछि मिड्वाइफ नेहा मंकणी आफ्नो दक्षता अनुसारको काम गर्न प्रभावित क्षेत्र पुगिन्।
मामा बेबी फन्ड नामक आफ्नो परोपकारी संस्थामार्फत् मंकणी र उनको टोलीले बाढी प्रभावित १५ हजारभन्दा बढी परिवारलाई सुत्केरी स्वास्थ्यसम्बन्धी विभिन्न सहयोग गरे।
उनको खास काम कम स्रोतसाधन उपलब्ध अवस्थामा, आपत्कालीन सेवा र जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई सघाउनमा केन्द्रित हुन्छ।
मामा बेबी फन्डले 'बोट एम्बुलेन्स' सञ्चालनका लागि पर्याप्त रकम सङ्कलन गरिसकेको छ। तटीय क्षेत्रमा बस्ने गर्भवती लगायतलाई अचानक चाहिने उपचारका लागि एम्बुलेन्सबाट अस्पताल वा क्लिनिक पुर्याउने काम गरिनेछ।
जलवायु परिवर्तनसम्बन्धी सङ्कटको सामना गरिरहेका समुदायका लागि मिड्वाइफहरूको काम निकै महत्त्वपूर्ण छ। हामी सहयोगका लागि सबैभन्दा अगाडि सर्ने व्यक्ति र जलवायुसम्बन्धी अभियानकर्मी हौँ जसले महिलाले प्रजनन स्वास्थ्य, गर्भावस्था र सुत्केरी भएपछिका सेवा पाउने कुराको सुनिश्चितता गर्ने प्रयत्न गर्छन्।
नेहा मंकणी
शीघ्र रजोनिवृत्तिसम्बन्धी अभियानकर्ता
इसाबेल फरियास मेयरलाई महिनावारी अनियमित हुनु अरू केही कुराको सङ्केत हो भन्ने थाहा थिएन। तर १८ वर्षकै उमेरमा उनलाई शीघ्र रजोनिवृत्ति अर्थात् 'प्रेमचर ओभेअरिअन फेलिअर' भएको पत्ता लाग्यो। डिम्बाशयले राम्ररी काम गर्न छोड्दा उक्त अवस्था उत्पन्न हुन्छ। विश्वभरि ४० वर्षमुनिका झन्डै १ प्रतिशत महिला उक्त समस्याबाट पीडित छन्।
उक्त समस्या भएका महिलामा कम उमेरमै रजोनिवृत्ति भएपछिको अवस्थाकै जस्तो लक्षण देखिन्छ। हड्डी कमजोर पार्ने अस्टिओपरोसिस हुँदाको पीडा र शीघ्र रजोनिवृत्तिले आफूलाई अरू कसरी प्रभाव पारेको छ भन्नेबारे फारियास मेयरले खुलस्त बोलेकी छन्।
यी ३० वर्षे पत्रकारले ल्याटिन अमेरिकामा शीघ्र रजोनिवृत्तिसम्बन्धी जानकारी दिन, मिथ्या धारणा छुट्ट्याउन सघाउन र उक्त समस्या पहिचान भएका महिलालाई सुरक्षित स्थान बनाउन सिकाउन एउटा क्षेत्रीय सञ्जाल स्थापना गरेकी छन्।
जलवायु र अपाङ्गताबारे सल्लाहकार
मानवअधिकारसम्बन्धी वकिल एल्हम युसेफियन जलवायु परिवर्तनबारे सम्बोधन गर्दा अपाङ्गता भएका मानिसहरूलाई समावेश गरिनुपर्नेबारे वकालत गर्छिन्। खासगरी जलवायु परिवर्तनका कारण हुने घटनामा तत्काल प्रतिक्रिया जनाउँदा अपाङ्गता भएका मानिसहरूलाई समावेश गरिनुपर्ने उनको धारणा छ।
इरानमा जन्मेहुर्केकी युसेफियन सन् २०१६ मा अमेरिका गइन्। अहिले उनी अपाङ्गता भएका मानिसहरूको प्रतिनिधित्व गर्ने ११०० सट्ठ्थाहरूको विश्वव्यापी सञ्जाल इन्टरन्याश्नल डिस्याबिलिटी अलायन्समा महत्त्वपूर्ण भूमिकामा छिन्।
अपाङ्गता भएका व्यक्तिमा जलवायु परिवर्तनले पार्ने असरबारे नीतिनिर्माताहरूलाई सचेत गराउने अभियानमा उनी छिन्। जलवायु सङ्कटविरुद्ध लड्नका लागि अपाङ्गता भएका मानिसहरूसँग अत्यधिक क्षमताभएकोबारेमा पनि उनी वकालत गर्छिन्।
अपाङ्गता भएका हामीहरूले व्यक्तिका रूपमा बेला बेला देखापर्ने चुनौतीहरूको सामना गर्ने क्षमता हामीसँग छ भन्ने प्रमाणित गरेका छौँ र समाधान पत्ता लगाएका छौँ। जलवायु परिवर्तनविरुद्धको लडाइमा अपाङ्गता भएका मानिसहरू पनि उभिन सक्छन् र उभिनुपर्छ।
एल्हम युसेफियन
वैज्ञानिक
ओमानी वैज्ञानिक रुमाइथा अल बुसाइदीले सन् २०२१ मा दिएको टेड टकको शीर्षक थियो - महिला तथा युवतीहरू तिमीहरू जलवायु समस्या समाधानको एक हिस्सा हौ। त्यो टेड टक दश लाखभन्दा बढी दर्शकले हेरे। र त्यसमा अरब महिलाहरूको अधिकारबारे उनको काम पनि प्रतिविम्बित थियो।
अल बुसाइदीको विज्ञताले उनलाई अरब युथ काउन्सिल फर क्लाइमेट चेन्ज एन्ड द इन्भार्नमेन्ट सोसाइटी अफ ओमानको सदस्य बनायो।
उनले बाइडन प्रशासनका लागि वैदेशिक सहायतालाई कसरी जलवायुसँग जोड्ने भनेर सल्लाहकारको रूपमा काम गरेकी छन्। त्यसैगरी ग्रीनल्यान्ड सरकारलाई दिगो पर्यटनबारे सुझावहरू दिएकी छन्।
उनी साउथ पोल पुग्ने सबभन्दा कम उमेरकी ओमानी महिला हुन् र विमिन एक्सकी संस्थापक पनि हुन्। विमिन एक्स महिलालाई व्यवसायमा कसरी सम्झौता/वार्ता गर्ने भन्ने सिकाउने मञ्च हो।
जलवायु परिवर्तन समस्याको एक नम्बरको समाधान भनेको महिला तथा केटीहरूलाई शक्तिशाली बनाउनु हो। त्यसको बहुपक्षीय असरले समुदायको धारणा र कारबाहीलाई प्रभाव पार्छ र हामीले घर भन्ने गरेको यो ठाउँलाई संरक्षण गर्न सहयोग गर्छ।
रुमाइथा अल बुसाइदी
बाल अधिकार पैरवीकर्ता
युक्रेनका बालबालिकालाई युद्धको आघातसँग जुध्न मद्दत गर्नु ओलेना रोज्भाडोभ्स्काको अभियान हो। उनी मनोवैज्ञानिक सहयोग पुर्याउने परोपकारी संस्था भोइसेस अफ चिल्ड्रेनकी सहसंस्थापक हुन्।
सन् २०१९ मा उनको संस्थाले स्थानीय स्तरमा हुने अभियान सुरु गरेको थियो। रुस समर्थित पृथकतावादीहरूले युक्रेनविरुद्ध लडाइँ सुरु गरेको डोनबास क्षेत्रको अग्रमोर्चा नजिकै स्वयंसेवीका रूपमा काम गरेको चार वर्षपछि उनी सहसंस्थापक रहेको यो संस्था खुलेको थियो।
यो संस्थामा अहिले १०० भन्दा बढी मनोवैज्ञानिक छन् जसले १४ वटा केन्द्रहरूसहित नि:शुल्क हटलाइनमा पनि काम गर्छन्। यो संस्थाले अहिलेसम्म दशौँ हजार बालबालिका र उनीहरूका अभिभावकका लागि काम गरिसकेको छ।
रोज्भादोभ्स्काले अस्कर मनोनित वृत्तचित्र अ हाउस मेड अफ स्पिन्टर्समा भाग लिएको थिइन् र उनले आफ्नो समूहसँग मिलेर वार थ्रु द भोइसेस अफ चिल्ड्रेन नामक पुस्तक पनि प्रकाशित गरेकी छन्।
सडक सुरक्षा प्राध्यापक
गाडीको अगाडिको भाग ठोक्किएर हुने दुर्घटनामा महिलाहरू चोटपटक तथा मृत्युको बढी जोखिममा हुने गरेको तथ्याङ्क भए पनि दशकौँ अघिदेखि औसत पुरुषको डमी प्रयोग गरेर दुर्घटनाको परीक्षण गरी कारहरू बनाइने गरेका छन्।
त्यसलाई बदल्नका लागि इन्जिनियर एस्ट्रिड लिन्डरले औसत महिलाको आकारको संसारको पहिलो डमी बनाएकी छन्। यस डमीले महिलाको शरीरको संरचनालाई ध्यान दिएको छ।
स्वीडिश न्याश्नल रोड एन्ड ट्रान्सपोर्ट रिसर्च इन्स्टिट्यूट (भीटीआई)की प्राध्यापक तथा चामर्स यूनिभर्सटीकी सहायक प्राध्यापक लिन्डर बायोमेकानिक्स तथा सडक दुर्घटनाबाट हुने चोटपटक रोकथामकी विशेषज्ञ हुन्।
स्टोरीटेलर
वातावरणवादी र कन्टेन्ट क्रिएटरको रूपमा कियुन वू सामाजिक सञ्जालमार्फत् जलवायु परिवर्तनसम्बन्धी विषयहरू साझा गर्छिन्।
उनको अनलाइन द विअर्ड एन्ड द वाइल्डले जलवायु विज्ञानमा पहुँच सजिलो बनाउन र कम डरलाग्दो देखाउनमा समर्पित छ। जलवायु परिवर्तनको पक्षमा पैरवी गर्ने, शिक्षित बनाउने र समुदायलाई आवश्यक कदम चाल्ने कुरामा संलग्न गराउने जस्ता विषयवस्तु तयार पार्नमा संस्था केन्द्रित छ।
दक्षिण एशियामा केन्द्रित वातावरणसम्बन्धी क्लाइमेट चीजकेक नामक पडकास्टको उनी सहसञ्चालक हुन्। उक्त कार्यक्रमको उद्देश्य जलवायुसम्बन्धी जटिल विषयलाई सरल रूपमा बुझाउनु रहेको छ।
उनी न्याश्नल जीओग्रफिक यङ एक्सप्लोरर पनि हुन्।
जलवायु परिवर्तनसम्बन्धी सङ्कट जटिल, बृहत् र डरलाग्दो छ। हामीले त्यसबारे त्रासभन्दा पनि जोडदार जिज्ञासाबाट सम्बोधन गर्नुपर्छ ताकि हामी काम गर्न सक्ने र नसक्ने उपायहरू पहिल्याएर तिनको उपयोग गर्दै विश्वको देखभाल गर्न सकौँ।
कियुन वू
वन व्यवस्थापक
इन्डोनेशियाको परम्परागत आचे प्रदेशमा महिलाहरू नेता वा अगुवा बन्नु नौलो कुरा हो।
आफ्नो गाउँमा बाढीको मुख्य कारण वनविनाश भएको र यसले जलवायु परिवर्तनमा पनि योगदान दिएको बुझेपछि उनले समुदायका अन्य महिलाहरूसँग मिलेर केही कदम चाल्ने निधो गरिन्।
उनको समूहले पर्यावरण तथा वन मन्त्रालयबाट दमारान बारु गाउँका समुदायलाई उक्त क्षेत्रको व्यवस्थापन गर्ने गरी एक अनुमतिपत्र लिएको छ। यसअनुसार समुदायले २५१ हेक्टरको क्षेत्रफल व्यवस्थापन गर्छ।
हाल गाउँ वन व्यवस्थापन एकाइको नेतृत्व गरेकी उनी अवैध रूपमा रूख काट्ने काम र सुमात्रा प्रजातिका बाघ, सालक र जोखिममा रहेका अन्य वन्यजस्तुलाई आक्रमण गर्ने सिकारीहरूलाई निरुत्साहित गर्न क्रियाशील छिन्।
अचेल जथाभाबी वनविनाश र वन्यजन्तुको चोरीसिकारीका कारण जलवायु सङ्कटको सामूहिक सामनाका सन्दर्भमा वनजङ्गलले थप ध्यान पाउनुपर्छ। वन जोगिए मात्र जीवन जोगिन्छ।
सुमिनी
चिकित्सक
माल्टामा गर्भपतनको सन्दर्भमा युरोपकै सबैभन्दा कडा कानुन छ। नाटाली सेला महिलाहरूलाई आवश्यक सूचना र परामर्श दिन्छिन्।
उनी 'डक्टर्स फोर चोइस माल्टा' की सहसंस्थापक हुन्। उनी गर्भपतनलाई अपराध मान्न नहुने र त्यसलाई वैधानिक बनाउनुपर्ने पक्षमा पैरवी गर्छिन्। उनी गर्भनिरोध गर्ने उपायमा सहज पहुँच हुनुपर्ने पक्षमा छिन्।
माल्टामा महिलाको जीवन जोखिममा परेको खण्डमा मात्र गर्भपतन गर्न पाइन्छ। अन्यथा त्यसलाई प्रतिबन्ध लगाइएको बताउँदै सेला महिलाहरूले बिनासुपरिवेक्षण औषधि सेवन गर्ने गरेको औँल्याउँछिन्। गर्भपतन गर्नुअघि गर्दा र गरिसकेपछि महिलाहरूलाई सहयोग पुग्ने गरी उनले एउटा हेल्पलाइन स्थापना गरेकी छन्।
उनले यौनशिक्षाबारे १०-१३ वर्षका बालबालिकालाई लक्षित 'माई बडिज् फ्यान्टास्टिक जर्नी' नामक पुस्तक प्रकाशित गरेकी छन्। त्यसबारे प्रजनन स्वास्थ्यबारे ज्ञान अभिवृद्धि हुन्छ भन्ने उनको अपेक्षा छ।
कार्बन प्रभावसम्बन्धी प्रविधि विशेषज्ञ
दिगो आवागमनका विषयमा उत्साही अन्ना हटनन सन् २०२१ मा युरोपको हरित राजधानी भनी नामकरण गरिएको लाह्टी नामक फिनिश सहरमा अझ हरित, स्वच्छ र प्रभावकारी यातायातको व्यवस्थाका लागि दबाव दिँदै छिन्।
उनी उक्त सहरको रूपान्तरणकारी व्यक्तिगत कार्बन व्यापारसम्बन्धी एक मोडलको नेतृत्व गर्छिन्। सर्वसाधारणलाई साइकल र सार्वजनिक यातायातजस्ता वातावरण-सुहाउँदा यातायातको प्रयोग गरी नागरिकहरूलाई क्रेडिट आर्जन गर्न दिने यो संसारकै पहिलो एप हो।
सन् २०३० सम्म कार्बन तटस्थताको तहमा पुग्न युरोपेली सहरहरूलाई सहयोग गर्ने संस्था 'नेट जिरो सिटिज' मा उनी कार्बन तटस्थ सहरसम्बन्धी सल्लाहकारका रूपमा काम गर्छिन्।
हटनन अन्य मानिसलाई पनि दिगो आवागमनबारे उत्साही बनाउन चाहन्छिन्। उनी साइक्लिङकी सक्रिय पैरवीकर्ता हुन् र उनका अनुसार सहरहरूमा भविष्यमा यातायातको माध्यम साइकल नै हुनुपर्छ।
संसारभरिकै नगरहरूमा नागरिकको जीवन थप दिगो बनाउन सहयोग गर्न काम गरिरहेका गजबका मानिसहरू छन्। तपाईँ आफ्नो भूमिका निर्वाह गर्नुहोस्, सामेल हुनुहोस् र रूपान्तरणमा सहभागी बन्नुहोस्।
अन्ना हटनन
बीबीसीले हरेक वर्ष विश्वभरिबाट १०० जना प्रभावशाली र प्रेरक महिलाहरूलाई छनोट गर्ने गरेको छ। हामी वृत्तचित्र बनाउँछौँ र उनीहरूको बारेमा लेख तथा अन्तर्वार्ता तयार पारी बीबीसीमा प्रकाशन तथा प्रसारण गर्छौँ।
बीबीसी १०० विमिनलाई इन्स्टाग्राम र फेसबुकमा फलो गर्नुहोस्। #BBC100Women प्रयोग गरी संवादमा जोडिनुहोस्।
अनुसन्धान र बीबीसी भाषा सेवाहरूका साथै बीबीसी मिडिया एक्सनको सुझावका आधारमा बीबीसी १०० विमिन टीमले छनोट गर्छ।
उल्लेखनीय कामहरू गरे विगत १२ महिनामा समाचारमा चर्चामा आएका, प्रेरणादायी कथा भएका अथवा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका वा समाचारमा छाप छोडेका महिलाहरूलाई समेट्ने गर्छौँ
जलवायु परिवर्तन र महिला तथा युवतीमा त्यसका असरलाई हामीले यो वर्षको मुख्य विषय बनाएका थियौँ। सो क्रममा हामीले विभिन्न नाममध्ये २८ जनालाई छनोट गर्यौँ।
हामीले राजनीतिक वृत्तदेखि समाजका हरेक तप्कालाई प्रतिनिधित्व गर्ने महिलालाई हेर्यौँ र समाजमा परिवर्तन ल्याएकाहरूलाई मनोनित गर्यौँ।
अन्तिम नाम छनोट गर्नुअघि निष्पक्षता र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गरिएको थियो। सूचीमा समेट्न सबैले सहमति जनाएका हुन्।
बीबीसी १०० विमिन प्रोडक्सन टीमः भेलेरिआ पेरासो, एमेलिआ बटर्ली, रेबेका थोर्न, पाउला एडामो आइडोएटा, कोर्डेलिआ हेमिङ, लउरा गार्सिआ, सारा डिआस, लुसी गिल्डर, माई कानानेह, मार्क शी, वन्दना विजय, किन्डाह शायर, हया अल बदारनेह, डारीआ टारादाई, लामीस एल्टालेबी, फिरोजेह अकबरिअन, साना साफी, काटिर्याना खिन्कुलोभा, तमारा गिल, मोउना बा र क्रिस क्लेटन।
बीबीसी १०० विमिन सम्पादक गोल्नूस गोल्शानी
विश्व भाषा सेवाका लागि उत्पादनः रोबेर्टो बेलो-रोभेला र कारला रोस।
डिजाइन प्रिना शाह, जेनी ल, म्याट टोमस, पाउलिन विल्सन र ओली पावेल।
डिभलप्मेन्ट स्कट जार्भिस, अरुण भारी, प्रीति भागेला, होली फ्रेम्पटन।
तस्बिर कपीराइट्सः मिलर मोब्ली, मासिएक तोमिजेक/अक्सफर्ड एटेलिएर, आरती कुमार-राव, हामना हाकी, क्रेग कोलेस्की, प्यानो एआई, एल रीड, बेन्जामिन जोन्स, योबर एरिआस, अमान्डा ट्रिप्लेट, एनी रोबर्ट्स, डियोर अब्दुगफरोजा, यूटीएमबीद्वारा डोई इन्थानोन थाईल्यान्ड, किन्घाई स्नोल्यान्ड ग्रेट्राइभर्स इन्भारोमेन्टल प्रोटेक्सन असोसिएशन, जासोन बोबर्ग, चैदीर माहियुद्दीन/एएफपी, न्यू ब्यालेन्स पाराग्वे, जो एनी म्याकआर्थर, द कार्टिएर विमिन्स इनिसिएटीभ, लुसी पाइपर, लुइज माबुलो, क्रिस्चन टासो, मार्टिन चाङ, कोन्सटान्टिन डेरियागिन, ग्याब्रिएल क्विन्टाओ, एबेल क्यानिजालेस, प्याट्रिक वाली, सारा हेली, जिमेना माटेओट, लुकास क्रिस्टियानसेन, हाना वाकर-ब्राउन, वुडी मोरिस, सिन्यान यु, क्रिस पार्कर एड्जोर्जी सेफोगाट, तासीर बेग, अल्बर्ट कामाङ्गा जीआ क्रिएशन्स, सलिम सोलोमन, ल्यूक नुजेन्ट, आर डेभिड मार्क्स, ली टिङ्कलिम, साटु/भीटीआई, फीफा, जोश फिन्च, किबुका मुकिसा, फोएबी सु, ग्रेगरी भेप्रिक, डार्को टोमस क्रोपिक्स, वन्जिरा मथाई, रुफात एग्रेसोभ, ओस्भाल्डो फान्टन, डेनी पुजेल्टी, गिउलिआनो साल्भाटोर, फोन्डेशन लोरिआल, ड्यानिएल एडुआर्डो, टाटियाना एगोरोभा, डोभाना फिल्म्स, जिम्मी डे/मीट, एडिटोरीअल कामिन्हो- लिया, खाइन् नी वी फाउन्डेशन, एन्ड्रीव सिकोरोस्की, रेमन टोलोसा काल्डेरोन, मरीयम सिद्दिकी, फेराल फिल्म्स, सेबास्टीअन एलिआगा, द ह्वाइट हेल्मेट्स/सिरिया सिभिल डिफेन्स, इली भार्ली, डीजीएल ननरी, मुस्तफा अबुमेनेस, एमानुएल एलो उसाई, फजल रहमान अरमान, इमिलिआ रेजो, माटीआ जोपेलारो, मार्टिन लुप्टन/लाइट कलेक्टिभ, यास्मिना बेन्स्लिमाने, पेभलो बोटानोभ, मारिजेटा मोजासेभिक, लेनाड्रापेला/इन्टरन्याश्नल फेडरेशन अफ स्पोर्ट क्लाइमबिङ, गेल मोसेन्सन, गेटी इमेजेज।